इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ।
हजारौँको ज्यान लिने गरी भएको सात हप्ताको युद्धपछि भएको युद्धविरामसँगै बन्धकहरूको बदलामा प्यालेस्टिनी कैदीहरूको रिहा गरिने भएको छ।
अक्टोबर ७ मा इजरायलमा हमासले गरेको घातक आक्रमणपछि सुरु भएको द्वन्द्व दुवै पक्षले स्थानीय समयअनुसार बिहान ७:०० बजेदेखि युद्धविराम गर्ने सम्झौतासँगै अस्थायी रूपमा रोकिएको छ।
शुक्रबार गाजामा बन्धक बनाइएका १३ जनालाई रिहा गरिने र त्यसपछि इजरायली जेलबाट केही संख्यामा प्यालेस्टिनी कैदीलाई रिहा गरिने कतारी मध्यस्थकर्ताहरूले बताएका छन्। प्यालेस्टिनी कैदीको यकिन संख्याबारे भने मध्यस्थकर्ताहरूले बताएका छैनन्।
चार दिनको अवधिमा कम्तीमा ५० जना बन्धक रिहा हुने अनुमान मध्यस्थकर्ताले गरेका छन्। यदि सहमतिअनुसार चार दिनमा ५० बन्धकलाई रिहाइ गरिएमा यसपछि अनुमानित अझै एक सय ९० जना बन्धक प्यालेस्टिनी लडाकु समूहको हातमा रहनेछन्।
सम्झौतामा उल्लेख भएअनुसार एक बन्धकबराबर तीन जना प्यालेस्टिनी कैदी अर्थात् कुल एक सय ५० जना प्यालेस्टिनी कैदीलाई इजरायली पक्षबाट रिहा गरिने अपेक्षा गरिएको छ। गाजाका २० लाखभन्दा बढी बासिन्दाका लागि यो सम्झौताले हप्तौँदेखि जारी इजरायली बमबारीबाट राहत प्रदान गरेको छ।
गाजा क्षेत्रमा शासन गर्दै आएको हमास सरकारले युद्धका कारण हालसम्म करिब १५ हजार प्यालेस्टिटिनीको मृत्यु भएको र अनगिन्ती विस्थापित भएको जनाएको छ।
हताहतको यकिन संख्या स्वतन्त्र रूपमा पुष्टि गर्न असम्भव छ, तर धेरै प्यालेस्टिनी र इजरायली परिवारका लागि, हिंसामा विराम हुन यस पहिले नै धेरै ढिलो भइसकेको थियो।
कतारका अधिकारीहरूले रिहा गरिएका १३ जना बन्धकमध्ये पहिलो समूहमा एउटै परिवारका महिला र बालबालिका रहेको बताएका छन्। इजरायली ट्रमा विशेषज्ञ र चिकित्सकहरूको टोलीले उनीहरूलाई पर्खिरहेका छन्।
इजिप्टको एक सुरक्षा स्रोतले एएफपीलाई बताएअनुसार इजरायली सुरक्षा अधिकारी, अन्तर्राष्ट्रिय रेडक्रस–रेड क्रिसेन्टका कर्मचारी र इजिप्टको एक टोलीले इजिप्ट–गाजा सीमामा पर्ने राफामा बन्धकहरूलाई स्वागत गर्न खटाइनेछ।
एएफपीले हमासले सीमापार आक्रमणका क्रममा अपहरणमा परेका करिब दुई सय ४० मध्ये दुई सय १० जनाको सनाखत भएको पुष्टि गरेको छ।
बन्धक बनाइएकामध्ये कम्तीमा ३५ जना बालबालिका थिए, जसमध्ये १८ जना हमासको आक्रमणको समयमा १० वर्ष वा सोभन्दा कम उमेरका थिए। इजरायलले अक्टोबर ७ मा भएको आक्रमणमा करिब एक हजार दुई सय व्यक्तिको मृत्यु भएको जनाएको छ।
कुन बन्धकहरू जीवितै छन् वा कुन अवस्थामा बन्धकहरूलाई राखिएको छ भन्नेबारे सार्वजनिक रूपमा थोरै मात्र जानकारी छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले रिहा हुने र परिवारको सम्पर्कमा रहेकाहरूको नामको पहिलो सूची प्राप्त भएको जनाएको छ। सूचीमा को–को छन् भन्नेबारे भने खुलाइएको छैन।