१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o६:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

धेरै आयकर बुझाएर शाह लगातार दोस्रोपटक सम्मानित

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:१३:oo

नेपालमा ‘लिकर किङ’ भनेर चिनिने विजयकुमार शाह लगातार दोस्रोपटक व्यक्तिगत आयतर्फ सबैभन्दा धेरै आयकर बुझाउने करदाता बनेका छन् । आर्थिक वर्ष ०७८/७९ मा सबैभन्दा धेरै व्यक्तिगत आयकर बुझाएका उनलाई बिहीबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्मान गरेका हुन् । अघिल्लो वर्ष पनि उनी नै व्यक्तिगत आयतर्फ सबैभन्दा धेरै आयकर बुझाएर सम्मानित भएका थिए ।

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष शाह आर्थिक वर्ष ०७५/७६ मा पनि व्यक्तिगत आयतर्फ सबैभन्दा धेरै आयकर बुझाएर सम्मानित भएका थिए । जावलाखेल ग्रुपअन्तर्गत एसियन डिस्टिलरी, विजय डिस्टिलरी, रोलिङ रिभर डिस्टिलरी, राज ब्रुअरी, हिमालयन डिस्टिलरी, जेजिआई डिस्ट्रिब्युसन, फुड एन्ड बेभरेज कम्पनी सञ्चालनमा छन्, जसले आफ्नै मौलिक तथा चर्चित अन्तर्राष्ट्रिय ब्रान्डका बियर, भोड्का, ह्विस्की, जिन, ब्रान्डी उत्पादन गर्दै आएको छ । चर्चित ब्रान्ड रुस्लान भोड्का विदेशमा पनि निर्यात हुने गर्छ । हिमालयन डिस्टिलरी लिमिटेड पुँजी बजारमा ब्लुचिप कम्पनीका रूपमा रहेको छ । जावलाखेल ग्रुपले विश्वकै चर्चित वर्डवाइजर र वार्सटाइनर बियर पनि नेपालमै अत्याधुनिक फ्याक्ट्री राखेर उत्पादन गर्दै आएको छ ।

आन्तरिक राजस्व विभागले ‘राष्ट्रिय कर दिवस–२०८०’ को अवसर पारेर आर्थिक वर्ष ०७८÷७९ मा विभिन्न विधामा धेरै कर दाखिला गर्ने १६ करदातालाई सम्मान गरेको हो । संस्थातर्फ सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल दूरसञ्चार कम्पनी भएको छ । 

आन्तरिक राजस्व विभागले ०६९ सालदेखि हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ । अहिलेसम्म सबैभन्दा धेरैपटक (६ वर्ष) व्यक्तिगत आयकर बुझाएर सिप्रदी ग्रुपका अध्यक्ष सिद्धार्थशमशेर राणा सम्मानित भएका छन् । यो वर्ष उनकै मुख्य लगानी रहेको भोटेकोशी पावर कम्पनी ऊर्जामूलक उद्योगतर्फ सबैभन्दा धेरै कर बुझाएर सम्मानित भएको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र बाँसबारी न्युरो अस्पतालका संस्थापक स्वर्गीय डा. उपेन्द्र देवकोटा पनि सबैभन्दा धेरै आयकर बुझाएर एक–एकपटक सम्मानित भइसकेका छन् । 

निर्यात कारोबारतर्फ डाबर नेपाल सबैभन्दा धेरै कर दाखिला गर्ने उद्योग बनेको छ । विशेष उद्योगमध्ये एसियन पेन्ट्स, कृषि एवं पशुपक्षीजन्य उद्योगमध्ये ओसिबी फुड्स एन्ड फिड्स, सहकारी तथा लघुवित्तको कारोबार गर्ने संस्थामध्ये छिमेक लघुवित्त वित्तीय संस्था, बैंक तथा वित्तीय संस्थामध्ये ग्लोबल आइएमई बैंक, बिमा व्यवसायमध्ये लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा धेरै कर बुझाउने कम्पनी बनेका छन् ।

यस्तै, स्वास्थ्य तथा शिक्षा सेवाप्रदायकमध्ये नोबेल मेडिकल कलेज, पर्यटन व्यवसायतर्फ मनकामना दर्शन प्रालि, वस्तु व्यापारको कारोबारतर्फ भाटभटेनी सुपरमार्केट, मध्यमस्तरीय करदातामध्ये नेपाल स्टक एक्सचेन्ज, ऊर्जामूलक उद्योगमध्ये भोटेकोशी पावर कम्पनी, रेमिट्यान्स कम्पनीतर्फ आइएमई लिमिटेड, सबैभन्दा बढी कुल आन्तरिक राजस्व दाखिला गर्नेमा सूर्य नेपाल सम्मानित भएका छन् । ०७५ साउनदेखि ०८० असार मसान्तसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर विवरण र सोबमोजिमको कर समयमै दाखिला गरी नियमित करमा सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्नेमा पनि सूर्य नेपाल नै पहिलो बनेको छ । 

 

ad
ad