१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
छठ पूजाका लागि दुलहीझैँ सिँगारिएको वीरगन्जको घडिअर्वा पोखरी । तस्बिर : तिवारी यादव/नयाँ पत्रिका
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख २१ शुक्रबार o६:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

आज छठ पर्व : झकिझकाउ पारिए मधेशका नदी, खोला, सरोवर र पोखरी

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:१९:oo

प्राकृतिक पूजाको रूपमा प्रसिद्ध छठ पर्व मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै छ । छठ पर्वलाई भव्य बनाउन मधेश प्रदेशका आठवटै जिल्लाका विभिन्न नदी, खोला, सरोवर तथा पोखरी सिँगारिएका छन् । 

जनकपुरधामका करिब दुई दर्जन पोखरी, दूधमती नदी र बिग्ही नदीका डिलहरूलाई सजाइएको छ । गंगासागर, धनुषसागर, महराजसागर, अग्निकुण्ड, गोरधोइ पोखरी, दशरथ तलाउ, अंगराजसर, विहारकुण्डलगायतका पोखरी सिंगारिएको छ । 

शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छठ पर्व चार दिनसम्म चल्नेछ । पहिलो दिन व्रतालुहरू स्नान गरी शाकाहारी तथा शुद्ध भोजन गर्ने गर्छन् । दोस्रो दिन खरनामा व्रतालु महिलाहरू दिनभरि व्रत बसी साँझमा सूर्य देवताको पूजा गरी सक्खर मिलाएको गम्हरीको खिर र रोटी खाने चलन छ । त्यसपछि व्रतालुहरू निराहार व्रत सुरु गर्छन् । जुन व्रत आइतबार अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मात्र समाप्त हुन्छ । छठमा भाकल गरेकाहरूले पमरिया नचाउने, दण्ड प्रणामलगायतका आ–आफ्नो भाकलअनुसार सूर्य देवताको पूजाआजा गर्ने चलन छ ।

तराई–मधेशका प्रमुख पर्वमध्येको एक हो छठ पर्व । छठ पर्व नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । दिउँसै सुनसान देखिने जनकपुरधामका बजारमा छठका लागि सरसामान किनमेल गर्नेको भिड लागेको छ । आर्थिक मन्दीका कारण दसैँ–तिहारमा खासै व्यापार नभए पनि छठमा भने व्यापारमा केही सुधार देखिएको स्थानीय व्यापारीहरू बताउँछन् । छठमा कपडादेखि माटोको भाँडो, बाँसबाट बनेका सामग्रीको माग बढेको छ । 

जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनीषरमण साहले दिपावलीदेखि बजारको आर्थिक कारोबारमा सुधार आएको बताए । ‘दसैँसम्म बजारमा सर्वसाधारणको चहलपहल भए पनि आर्थिक कारोबार खासै देखिएको थिएन,’ उनले भने, ‘तर दिपावलीदेखि छठसम्म तुलनात्मक रूपमा सुधार देखिएको छ ।’ छठ पर्वमा केरा, सन्तुला, स्याउसहितका फलफूलको कारोबार अत्यधिक हुने गरेको छ । यस वर्ष छठ पर्वलाई मध्यनजर गर्दै जनकपुरधाममा झन्डै चार करोड मूल्यबराबरको फलफूल भित्रिएको जनकपुरधाम फलफूल व्यवसायी संघका अध्यक्ष विश्वेश्वर यादवले बताए ।

जलेश्वर, मटिहानी र पिपराका साथै महोत्तरीको प्रायः सबै स्थानमा तयारी अन्तिम अवस्थामा छ । जलेश्वरस्थित वरुण सर पोखरी, पुरानो बस स्ट्यान्ड पोखरी, परिक्रमागाछी पोखरीलगायत सिँगारिएको छ । पोखरी र नदी सरसफाइ गरी मनाइने छठ पर्वलाई सरसफाइको प्रतीक पर्वको रूपमा लिइन्छ । छठ घाटको सरसफाइदेखि व्रतका लागि बनाइने विभिन्न प्रसाद सामग्री तथा व्रतको विधिमा समेत सरसफाइ तथा शुद्धताको अति नै ध्यान राखिने हुनाले यो पर्व सरसफाइको संवाहक मानिएको हो । 

केही दशकअघि नेपालको तराई र भारतका बिहार, उत्तर प्रदेशलगायतका राज्यमा मनाइने यो पर्व पछिल्लो समय काठमाडांैसहित नेपालका पहाडी जिल्लामा पनि धुमधामका साथ मनाइन्छ । छठ प्राकृतिक साथै एकता र आस्थाको पर्व भएकाले यसको लोकप्रियता दिनानुदिन बढ्दै गएको राजनीतिक विश्लेषक सिके लालले बताए । 

छठ पूजाका लागि काठमाडौंका नदी, पोखरी र जलाशयको सरसफाइ तथा सजावट गरिएको छ । काठमाडौंका कमलपोखरी, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायत पोखरी सिंगारिएको छ । छठको दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ्य दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्ने प्रचलन छ । आठ वर्षअघि भूकम्पका कारण बन्द भएको रानीपोखरी यस वर्ष पनि छठ पर्वका लागि खुल्न सकेन । तिहारका लागि सरसफाइ गरेर तयारी अवस्थामा राखे पनि रानीपोखरी नखुल्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । 

ad
ad