Skip This
६ महिनामा नौ हजारभन्दा बढी पर्यटकले मनाङ भ्रमण गरे
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २४ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o कार्तिक २४ शुक्रबार o६:१४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

६ महिनामा नौ हजारभन्दा बढी पर्यटकले मनाङ भ्रमण गरे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २४ शुक्रबार o६:१४:oo

चक्रीय अन्नपूर्ण पदमार्गको मनाङमा पर्यटकको आगमन वृद्धि हुन थालेको छ । पदमार्गमा वैशाखदेखि असोजसम्म नौ हजार सात सय ५२ जना विदेशी पर्यटक मनाङ भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप मनाङले जनाएको छ । एक्यापका प्रमुख ढकबहादुर भुजेलका अनुसार आन्तरिक तथा बाह्य गरी नौ हजार सात सय ५२ जना पर्यटकले अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन् । 

भुजेलका अनुसार असोज मसान्तसम्ममा मात्रै चार हजार तीन सय ५७ बाह्य पर्यटक मनाङ भित्रिएका छन् । वैशाखमा तीन हजार दुई सय ६६, जेठमा ६ सय ६१, असारमा दुई सय ५९, साउनमा दुई सय ९६, भदौमा नौ सय १३ बाह्य पर्यटक भित्रिएको तथ्यांकमा उल्लेख छ । एक्याप मनाङले आन्तरिक पर्यटकको भने तथ्यांक राखेको छैन । अहिले दसैँ–तिहारको बिदा भएकाले मनाङमा दैनिकजसो पाँच सयभन्दा बढी आन्तरिक पर्यटक मनाङ पुग्ने गरेका छन् । 

पर्यटक आगमन बढेसँगै पर्यटनमा उत्साह थपिएको पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले बताए । ‘यो सिजन मनाङ घुम्नका लागि अनुकूल समय मानिन्छ । अहिले चाडबाड बिदा मनाउन समूह बनाएर आएका आन्तरिक र बाह्य पर्यटकले मनाङ भरिभराउ छ,’ उनले भने । 

लमजुङको सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वार मानिन्छ । त्यहाँबाट पर्यटक खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ्ला पास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानी भएर पोखरा निस्कन्छन् । पदयात्राका सौखिनका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजार चार सय १६ मिटरको थोराङ भञ्ज्याङ पार गर्दा आन्तरिक तथा बाह्य पर्यटकहरू आफूलाई भाग्यमानी ठान्छन् । 

मनाङ क्षेत्रमा पदयात्री थोराङ्ला पास, लार्के पास, कालापास, विश्वकै अग्लो स्थानमा (४,९१९ मिटर) रहेको चित्ताकर्षक तिलिचो तालको अवलोकनका लागि आउने गर्छन् । अन्नपूर्ण पदमार्गमा सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनामा अत्यधिक पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गसँगै समुद्री सतहबाट सबैभन्दा बढी उचाइमा रहेको तिलिचो ताल पुग्ने पर्यटक पनि प्रशस्तै आउने गर्छन् ।