१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ८ मंगलबार o६:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

चीनले १० करोडका राहत सामग्री पठाउँदै, भारतलगायत विश्वबाट सहयोगको प्रतिबद्धता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o६:५७:oo

भूकम्पबाट भएको मानवीय क्षतिप्रति मर्माहत अन्तर्राष्ट्रिय समुदायले पनि सहयोगको घोषणा गरेका छन् । सरकारले उद्धारका लागि भने विदेशीहरूको संलग्नता तत्काल आवश्यक नभएको स्पष्ट पारेको छ । 

जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पपछि नेपाललाई विदेशबाट पहिलो राहत घोषणा चीनबाट भएको छ । छिमेकी मुलुक चीनले भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुमलगायतका जनताका लागि १० करोड नेपाली रुपैयाँबराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शनिबार यसको जानकारी दिएका हुन् । 

‘पहिलो आपत्कालीन सहयोगका रूपमा चीनले चाइना साउथ एसिया कन्ट्रिज इमर्जेन्सी सप्लाई रिजर्भबाट पाल, कम्बललगायत भूकम्प प्रभावित क्षेत्रलाई नेपाली १० करोड रुपैयाँबराबरको सामग्री उपलब्ध गराउनेछ,’ राजदूत सोङले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्, ‘यी सबै सामग्री एक–दुई दिनमा आइपुग्नेछन् । थप सहायता सामग्रीहरू पनि बाटोमा छन् ।’ 

चीनले कोरोना महामारीको समयमा नेपाल, बंगलादेश, श्रीलंका, पाकिस्तान र अफगानिस्तानलाई सहयोगका लागि चाइना साउथ एसियन कन्ट्रिज इमर्जेन्सी सप्लाइज फन्ड स्थापना गरेको थियो । यसको मुख्यालय सिचुआन प्रान्तको छेन्दुमा छ । छेन्दुबाट राहत सामग्री आउन लागेको चिनियाँ दूतावास स्रोतले जनाएको छ ।

यसअघि चिनियाँ राजदूतले भूकम्प प्रभावितहरूप्रति सहानुभूति जनाएका थिए । उनले सहायताका लागि चीन नेपाल सरकार र जनताको साथमा उभिएको पनि उल्लेख गरेका थिए । 

अर्को छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रभावित नेपाली जतालाई हरसम्भव सहयोग गर्ने बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीले भूकम्पबाट भएको जनधनको क्षतिप्रति आफू मर्माहत भएको भनेका छन् । ‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिले निकै मर्माहत भएको छु । भारत नेपाली जनतासँग ऐक्यबद्धता जनाउँदै हरसम्भव सहयोगका लागि तयार रहेको छ,’ मोदीले ट्विटरमा भनेका छन्, ‘शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।’

शनिबार नै राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाँउदै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विनाशकारी भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । पुटिनले पत्रमा प्राकृतिक विपत्तिको घटनाबाट पीडित नेपालीप्रति गहिरो संवेदना प्रकट गरेको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए । पत्रमा पुटिनले नेपाली जनताप्रति आफ्नो साथ, सहयोग र सहानुभूति रहेको उल्लेख गरेका छन् । 

पाकिस्तानका कामचलाउ प्रधानमन्त्री अनवार उल हक काकारले भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले शनिबार ट्विटरमा भनेका छन्, ‘हामी नेपाललाई आवश्यक सहयोगका लागि तयार छौँ ।’

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सन, युरोपेली युनियनका नेपालस्थित राजदूत भेरोनिक लोरेन्जोलगायतले कर्णाली प्रदेशको भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।  विश्व खाद्य कार्यक्रमको नेपालस्थित कार्यालयले कर्णाली प्रदेशका जाजरकोट र पश्चिम रुकुममा राहत परिचालनका लागि समन्वय भइरहेको जनाएको छ । 
 

ad
ad