Skip This
वासिङ्टनडिसीमा परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्रीबीच औपचारिक वार्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १४ मंगलबार
  • Friday, 26 July, 2024
२o८o कार्तिक १४ मंगलबार o८:२४:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

वासिङ्टनडिसीमा परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्रीबीच औपचारिक वार्ता

नेपालमा बलियो र सुदृढ लोकतन्त्रमा अमेरिकी जोड, लगानी विस्तार र सहयोगका लागि नेपालको आग्रह 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १४ मंगलबार o८:२४:oo

अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले आज बिहान अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट)मा भएको भेटवार्तामा ब्लिंकेनले नेपालमा बलियो र समृद्ध लोकतन्त्र अपेक्षा गरेको बताएका छन् । 

उनीहरूबीच द्विपक्षीय सम्बन्ध तथा इजरायल–प्यालेस्टाइन द्वन्द्वसहित अन्तर्राष्ट्रिय मुद्दाबारे छलफल भएको छ ।  नेपाली राजदूतावासका नियोग उपप्रमुख कुमार खरेलद्वारा जारी प्रेस नोटअनुसार भेटमा दुवै पक्षले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धको वर्तमान अवस्थाप्रति सन्तुष्टि व्यक्त गर्दै पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार र मजबुत बनाउने प्रतिबद्धता नवीकरण गरेका छन् । 

‘लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणमा नेपालको प्रगतिको प्रशंसा गर्दै विदेशमन्त्री ब्लिंकेनले अमेरिकी सरकार नेपाललाई बलियो र समृद्ध लोकतन्त्रको रूपमा हेर्न चाहेको बताए । उहाँले नेपालको विकास प्रयासमा अमेरिकाले सहयोग जारी राख्ने आश्वासन दिनुभयो,’ भेटवार्तापछि जारी प्रेसनोटमा भनिएको छ । 

इजरायलमा हमास समूहको हमलामा मारिएका नेपाली विद्यार्थीको परिवारजनप्रति विदेशमन्त्री ब्लिंकेनले सहानुभूति जनाएका छन् । उनले बेपत्ता विपिन जोशीको मुक्तिका लागि चासो व्यक्त गरेको अमेरिकी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विदेश मन्त्रालयको विज्ञप्तिअनुसार अमेरिकाले नेपालको साना तथा मझौला स्तरका उद्यमका लागि नेपाली बैंकमार्फत १२ करोड ५० लाख अमेरिकी डलर ऋण दिने भएको छ । यसको कार्यान्वयनका विषयमा दुई मन्त्रीबीच छलफल भएको छ । 

भेटवार्तामा परराष्ट्रमन्त्री साउदले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएको सन्दर्भमा विकासका प्राथमिकताहरू बताएका थिए । उनले  व्यापार तथा लगानी, बजार पहुँच, खाद्य सुरक्षा र सूचना प्रविधिलगायतका क्षेत्रमा अमेरिकाबाट थप सहयोगका लागि आग्रह गरे । नेपालका लागि नयाँ निर्यातयोग्य वस्तुहरू थपेर नेपाल व्यापार प्राथमिकता कार्यक्रम (एनटिपिपी) र जिएसपी सुविधाको पुनः प्रमाणीकरण र विस्तार गर्न परराष्ट्रमन्त्री साउदले अमेरिकालाई अनुरोध गरेका छन् । 

मन्त्री साउदले युएसएआइडी र मिलेनियम च्यालेन्ज कम्प्याक्टमार्फत हालै अमेरिकी सहयोगलगायत नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिएका छन् । दुवै पक्षले एमसिसीअन्तर्गतका आयोजनाहरूको समयमै कार्यान्वयनको महत्वमा जोड दिएका छन् ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार दुवै मन्त्रीहरूले ६० वर्षदेखि अमेरिकी पिसकोरको नेपालमा सेवालगायतका विषयमा प्रशंसा गरेका छन् । उनीहरूले नेपालमा थप सहायता र लगानीका विषयमा पनि छलफल गरेका छन् । 

दुवै पक्षले बहुपक्षीय मञ्चमा नेपाल–अमेरिका सहयोग, मध्यपूर्वको वर्तमान अवस्थालगायत क्षेत्रीय तथा विश्वव्यापी मामिलाहरूमा साझा चासोका अन्य विषयमा पनि विचार आदान–प्रदान गरेका छन् । भेट हुनुअघि परराष्ट्रमन्त्री साउदले अमेरिकी विदेश मन्त्रालयमा अतिथि पुस्तिकामा हस्ताक्षर गरेका थिए ।

द्विपक्षीय भेटमा परराष्ट्रमन्त्री साउद, नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्रको अमेरिका महाशाखा प्रमुख गणेशप्रसाद ढकाल, उपनियोग प्रमुख कुमारराज खरेल, आर्थिक काउन्सिलर होमकान्त भण्डारी, परराष्ट्र मन्त्रालयका उपसचिव हरिप्रसाद ओडारीलगायत सहभागी थिए । ब्लिंकेनका साथमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र अमेरिकी विदेश मन्त्रालयका अधिकारी थिए ।

नेपाली समयअनुसार सोमबार साँझ पुगेका परराष्ट्रमन्त्री साउदलाई वासिङ्टनडिसीस्थित विमानस्थलमा नेपाली राजदूत श्रीधर खत्री तथा अमेरिकी विदेश मन्त्रालयका अधिकारीले स्वागत गरेका थिए । परराष्ट्रमन्त्रीले युएसएडका प्रशासक सामन्था पावर र एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । उनले अमेरिकी कंग्रेसमा नेपाल ककसका सहअध्यक्ष सांसद माइक कारेसँग पनि भेटवार्ता गर्नेछन् । 

परराष्ट्र मन्त्रालयका अनुसार युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिसमा नेपाली अमेरिकी व्यापारिक समुदायसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ । उनले नेपाली मूलका अमेरिकी विशिष्ट व्यक्ति तथा गैरआवासीय नेपाली संघका पदाधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । यसअघि तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाँच वर्षअघि अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । परराष्ट्रमन्त्री साउद १९ कात्तिकमा स्वदेश फर्किने कार्यक्रम छ ।