१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार १o:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कम गरौँ रातो मासुको प्रयोग 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:५८:oo

दसैँमा मानिसहरूले रातो मासु (खसी, च्यांग्रालगायत) अत्यधिक प्रयोग गर्छन् । यसमा राम्रो र नराम्रो फ्याट (स्याचुरेटेड फ्याट) मिसिएको हुन्छ । मात्रा मिलाएर थोरै–थोरै (तीन–चारवटा सानो पिस) खानु ठिकै हुन्छ । तर, हाम्रोमा धेरै मासु खाने बानी हुन्छ । धेरै भेराइटी एकैपटक खाने बानी हुन्छ । यो राम्रो होइन । प्रेसर, कोलेस्ट्रोल, मुटुका बिरामी, मधुमेह, युरिक एसिडका बिरामी, पाचन प्रणालीमा समस्या भएकाहरूले सकेसम्म रातो मासु नखानु राम्रो हुन्छ । खानैपरे चिल्लो कम प्रयोग गरेर तयार गर्नुपर्छ र थोरै खान सकिन्छ । स्वस्थ रहनका लागि माछा–मासुको सन्तुलित प्रयोग जरुरी छ । 

मासु नखानेका लागि 
मासु नखानेका लागि पनि थुप्रै परिकार बनाएर खान सकिन्छ । पनिर, गेडागुडी, च्याउ, चिजलगायतका परिकार बनाउन सकिन्छ । त्यस्तै, च्याउ, क्वाँटी, सोयाबिन, पनिरलगायतका परिकार बनाएर खान सकिन्छ । 

सलाद 
शाकाहारीले पनि यस समय उच्च प्रोटिनयुक्त खानेकुरा (पनिर, तोफु)लगायत अत्यधिक खाने गर्नुहुन्छ । तर, हामीले यसरी प्रोटिन धेरै भएका खानेकुरा खाँदा फाइबरयुक्त खानेकुरा पनि मात्रा मिलाएर खानुपर्छ । दाल, गेडागुडी, काँक्रो, मुला, गाँजर, हरियो सागसब्जी, प्याजलगायतमा प्रशस्तै मात्रामा फाइबर हुन्छ । त्यसैले सलाद खानुपर्छ ।

काँक्रोको अचार
दसैँमा हामीले काँक्रोको अचार बनाउने गर्छौं । यसरी सिसीमा खाँदेर तयार गरिएको अचार स्वास्थ्यका लागि निकै फाइदाजनक छ । हाम्रो आन्द्रामा हुने राम्रो ब्याक्टेरिया ‘प्रोबायोटिक’ यसमा प्रशस्तै हुन्छ । त्यसैले यस अचारले पाचन प्रणालीसम्बन्धी समस्या कम गराउँछ । मासु धेरै खाँदा अचार पनि खाइयो भने त्यसलाई पचाउन सहज हुन्छ । तर, अचार बनाउँदा नुन र चिल्लोको प्रयोग कम गर्नुपर्छ । 

जंकफुडमा रोक 
दसैँमा मानिसहरूले जंकफुडको प्रयोग पनि अत्यधिक गर्ने गरेका छन् । विशेषगरी, स्न्याक्सका रूपमा यसको प्रयोग हुन्छ । तर, स्वास्थ्यका लागि जंकफुड राम्रो होइन । यसले विभिन्न समस्या निम्त्याउन सक्छ । हामीले जंकफुडको साटो घरमै पकाएका खानेकुराको प्रयोगमा जोड दिनुपर्छ । बजारमा पाइने चिप्सको साटो भटमास वा चना साँधेर घरमै स्न्याक्स तयार गर्न सकिन्छ । बदाम साँध्न सकिन्छ । पेयपदार्थ पनि घरमै तयार गर्न सकिन्छ । बजारबाट पेयपदार्थ ल्याउनुको साटो घरमै पुदिना, कागतीलगायत मिसाएर स्वस्थ पेयपदार्थ तयार गर्न सकिन्छ ।  

मदिरा : मदिराका कारण मानिसहरूको स्वास्थ्यमा विभिन्न समस्या देखिन्छन् । पाचन प्रणाली खराब हुन्छ । कलेजोमा असर पुर्‍याउँछ । त्यही कारण मदिरा र धूम्रपानबाट टाढा रहनुपर्छ । उपचार गर्नुभन्दा समस्या नै देखिन नदिनु राम्रो हो ।

पानी : पानी प्रशस्तै पिउनुपर्छ । हाम्रो शरीर हाइड्रेट रहन आवश्यक छ । दैनिक कम्तीमा १.५ लिटर पानी हाम्रो शरीरलाई आवश्यक पर्छ । मानिसको तौल, उचाइ, स्वास्थ्य अवस्थाअनुसार यसभन्दा धेरै आवश्यक पर्न सक्छ । खाना खाइसकेपछि ३० मिनेटको ग्याप राखेर पानी पिउँदा खाना पाचन प्रणाली पनि राम्रो हुन्छ । 

ad
ad