१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मुना कुँवर काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रवास डिजिटल संस्करण

एनआरएनए महासचिवमा जोशी र सुवेदी चुनावी मैदानमा

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:३१:oo

गैरआवासीय नेपाली संघ (एनआरएनए)को महासचिव पदमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। संघको विधानअनुसार एकजना मात्रै महासचिव रहन पाउने व्यवस्था छ। तर, आगामी निर्वाचनका लागि महासचिवमा दुईजनाले उम्मेदवारी दिएका छन्। 

संघको महासचिवमा उम्मेदवारी दिएका दुवैजना अमेरिकाबाट प्रतिनिधित्व गर्छन्। अमेरिकामा लामो समयदेखि व्यवसाय गर्दै आएका गौरीराज जोशी र बुद्धिप्रसाद सुवेदीले महासचिव पदका लागि उम्मेदवारी दिएका छन्। उनीहरू दुवैजना अमेरिकामा व्यवसाय गर्छन्। दुवैजनाबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ। 

जोशी संघको केन्द्रीय कार्यसमितिको महासचिव नै हुन्। उनले आगामी कार्यालयका लागि पनि महासचिव पदमा नै उम्मेदवारी दिएका छन्। जोशी अध्यक्षका प्रत्यासी डा. बद्री केसीको टिममा छन्। जोशी संघभित्र आँटिला र जोसिला उम्मेदवारको रूपमा चिनिन्छन्। राजनीतिभन्दा अलिक पर बस्न रुचाउने जोशीले पदप्रति धेरै आशक्ति नराख्ने उनलाई चिन्नेहरूको बुझाइ छ। निर्वाचित भएमा विदेशी लगानीलाई नेपालमा भित्र्याउने तथा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई नेपालभित्रै रोजगारी सिर्जना गर्ने उनको योजना छ।

त्यस्तै, अर्का प्रत्यासी सुवेदी गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष हुन्। पछिल्लो समय सबैमाझ लोकप्रिय, हँसिला र सरल स्वभावका सुवेदी संस्थागत विकास र एनआरएनएमा सबैको अपनत्व बोधका लागि महासचिव पदमा उम्मेदवारी दिएको बताउँछन्।

को हुन् गौरीराज जोशी ?
चितवनको टाँडीमा जन्मिएका गौरीराज जोशीको पुख्यौली घर लमजुङ हो। चितवनको मध्यमवर्गीय परिवारमा जन्मिएका जोशीको बाल्यकाल संघर्षपूर्ण रह्यो। गाउँमा सरकारी विद्यालयबाट अध्ययन पूरा गरेपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं छिरे। काठमाडौंमा भाडाको कोठामा बसेर सरकारी कलेज पढेका उनी अवसरको खोजीमा अमेरिका पुगे।

उनले अमेरिकामा नै सूचना प्रविधिसम्बन्धी उच्च शिक्षा हासिल गरे। उनी अमेरिका पुगेको २७ वर्ष बितिसकेको छ। अहिले जोशी सूचना प्रविधिसम्बन्धी व्यवसाय गर्छन्। उनले अमेरिका मात्रै नभई भारत र नेपालमा पनि रोजगारी सिर्जना गरेका छन्।

जोशीले सन् २००३ मा नेपाली समाज, टेक्सासको महासचिव भएर काम गरे। दुई वर्षपछि संस्थाको अध्यक्ष भए। संस्थामार्फत उनले सामुदायिक तथा सांस्कृतिक केन्द्र निर्माण गरे। एनआरएनएले सोही समयतिर नै विभिन्न स्थानीय संस्थासँग मिलेर कामहरू गरिरहेको थियो। त्यसअन्तर्गत पनि नेपाल–अमेरिका काउन्सिलमार्फत एनआरएनएले आफ्ना कार्य गर्थ्यो। यिनै सन्दर्भ हुँदै जोशी एनआरएनएसँग आबद्ध भएका थिए।

को हुन् बुद्धि सुवेदी ?
स्याङ्जामा जन्मेर अमेरिकालाई कार्यक्षेत्र बनाएका बुद्धि सुवेदी सफल व्यवसायी हुन्। उनी आफूलाई समाजसेवीका रूपमा विश्वभरिका नेपालीसामु चिनाउन सफल भएका छन्। सुवेदी विगत दुईदशकदेखि अमेरिकालाई आफ्नो कर्मभूमि बनाउँदै आएका छन्। 

सन २००३ मा अमेरिका जानुअघि पनि विभिन्न कलेजमा अध्यापन पेसामा सक्रिय सुवेदी विद्यार्थी जीवनदेखि नै सामाजिक कार्यमा अग्रसर हुने गर्थे। अमेरिका पुगेपछि पनि एनआरएनए अभियानमा लागेर आफ्नो व्यवसायसँगै सक्रिय रूपमा सामाजिक सेवा गर्दै आएका छन्।

सुवेदीले अमेरिका र नेपालका धेरै क्षेत्रमा ठूलो लगानी गरिसकेका छन्। उनले अमेरिकामा हायात, होलिडे इन, ह्याम्पटन, विज्डमलगायतका होटेल र सुपरमार्केटहरू सञ्चालन गरिरहेका छन् भने नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका छन्। सुवेदीले भर्खरै भैरहवामा पाँचतारे टाइगर प्यालेस रिसोर्टसमेत खरिद गरेका छन्।

ad
ad