
एमाले अध्यक्ष केपी ओलीले नीति, सिद्धान्त, इतिहास योगदान, अनुभव केही पनि नभएका झिल्केहरूबाट जनतालाई भ्रममुक्त बनाउनुपर्ने बताएका छन् । एमाले विशेष प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरूका लागि सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।
‘आज अनेक प्रकारका तत्वहरू सल्बलाइरहेका छन् । बलिदान एकाथरीले दिन्छन्, तर त्यो त्याग र बलिदानको उपहास गरेर एकाथरी तत्व बडा गज्जबको झिल्के कुरा गर्दै निस्किन्छन् । झिल्के कुराका भरमा जनता अलमल्याउन खोज्छन्,’ ओलीले भने, ‘बजारमा गएर उम्मेदवार खोजेर, हात उठाएका भरमा छानिएकालाई जनताले भोट हालिदिन्छन् । हाम्रो कमजोरी हो त्यो । यस्तो झिल्के कुरा गर्नेहरूले जनतालाई अलमल्याइरहेका छन् । अरू केही पार्टी त विषै छर्ने पार्टीहरू छन् । उनीहरूको भ्रमबाट जनतालाई मुक्त गर्नुपर्छ ।’
पार्टीहरू नयाँ र पुरानो भन्ने विषय उसको नीति र भूमिकामा भर पर्ने भन्दै ओलीले समयानुकूल अद्यावधिक गर्दै मुलुक र जनताको मुद्दा बोक्ने पार्टीले नै देशको नेतृत्व गर्ने बताए । तर, कांग्रेसले भने आफूलाई नीति र विधिअनुसार नचलाएर पुरानो पार्टीमा रूपान्तरित गरिसकेको ओलीको भनाइ थियो ।
‘पार्टी पुरानो, बुढो हुन्छ । पार्टीको आयु हजारौँ वर्ष हुन्छ । तर, त्यसले आफूलाई अद्यावधिक गर्यो भने, गरेन भने माथिबाट खोलो आउन छोड्यो भने सुकेन, सुकिहाल्छ नि । मुहानबाट पानी आइराख्नुपर्छ, खोलो निरन्तर बगिराख्नुपर्छ,’ उनले भने, ‘हामीले नेपाली कांग्रेसलाई देखिरहेका छौँ, हुन त दसैँको वेला भन्नु त्यति राम्रो त होइन । उहाँहरूका बारेमा मैले नराम्रो त केही पनि भनेको छैन । पार्टी कसरी बुढो हुन्छ भन्दा कांग्रेसजसरी । कांग्रेसमा नीति छैन, महाधिवेशन हुन्छ, नीति छैन । उहाँहरूले विधि, नीति कहिले बनाउनुभयो ? कुन लोकतान्त्रिक अभ्यासबाट आउनुभयो । मान्छे छान्नु मात्र लोकतन्त्र होइन, नीतिविनाको, विधिविनाको मान्छे छनाइ, के छनाइ ?’ उनले मिसन ८४ पूरा गर्न पार्टीलाई एकल बहुमतमा पुर्याउने गरी परिचालित हुन नेता–कार्यकर्तालाई निर्देशनसमेत दिए ।