१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
कमलराज भट्ट काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o६:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

संघीय संसद्को अधिवेशन अन्त्य हुँदै, आज दुवै सदनको अन्तिम बैठक 

Read Time : > 1 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:५३:oo

राष्ट्रसंघका महासचिवको भ्रमणलाई मध्यनजर गर्दै १२ कात्तिकमा विशेष अधिवेशन वा हिउँदे अधिवेशन आह्वान गर्ने योजना

सरकारले संघीय संसद्को बर्खे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । सत्तागठबन्धनको बिहीबार बालुवाटारमा बसेको बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी बर्खे अधिवेशन अन्त्य गर्ने निष्कर्ष निकालेको हो । संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्नुपर्छ । गठबन्धनमा भएको समझदारीअनुसार मन्त्रिपरिषद् बैठकले शुक्रबार अधिवेशन अन्त्यको निर्णय गर्नेछ । 

जसपाका प्रमुख सचेतक प्रदीप यादवले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी बर्खे अधिवेशन अन्त्य गर्ने समझदारी गठबन्धनमा भएको बताए । ‘शुक्रबार दुवै सदनको अन्तिम बैठक बस्दै छ । त्यहाँ शीर्ष नेताले सम्बोधन गर्ने कुरा छ,’ उनले भने । 

माओवादी सांसद माधव सापकोटाले पनि अधिवेशनको अन्त्यको तयारी भइरहेको बताए । ‘शुक्रबार सदनको अन्तिम बैठक बस्छ । अधिवेशन कहिले अन्त्य गर्ने सरकारको कुरा हो,’ उनले भने । कांग्रेस सांसद रामहरि खतिवडाले पनि शुक्रबार अधिवेशन अन्त्य हुने बताए । ‘विद्युत् विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउन शुक्रबार बैठक बोलाइएको छ । यो अन्तिम बैठक हुन्छ,’ उनले भने । 

प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतक पदम गिरीले पनि सत्तागठबन्धनका नेताहरूबाट शुक्रबार अधिवेशन अन्त्य गर्ने जानकारी आफूहरूलाई आएको बताए । यद्यपि, निर्णय गर्ने अधिकार सरकारसँग भएको उनको भनाइ छ । 

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले शुक्रबारको प्रतिनिधिसभा बैठकको कार्यसूची विद्युत् विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने रहेको बताए । सांसदहरूका अनुसार प्रतिनिधिसभाबाट शुक्रबार सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गर्ने तयारी छ । विधेयकमाथि पाँच महिनासम्म दफावार छलफल गरेर कानुन समितिले बिहीबार संशोधनसहितको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको थियो । शुक्रबार विधेयकमाथि छलफल गरेर पारित भएमा हिउँदे अधिवेशनमा संसद्ले बनाएको कानुनको संख्या दुई पुग्नेछ । यसअघि संसद्ले मिटरब्याजसम्बन्धी कानुन बनाएको थियो । तर, सत्तापक्षकै केही सांसद भने सम्पत्ति शुद्धीकरण विधेयकमा थप छलफलको आवश्यकता भएकाले शुक्रबार नै पारित हुने सम्भावना नरहेको बताउँछन् । 

गठबन्धनमा भएको सहमतिअनुसार शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्ने र दसैँपछि १२ कात्तिकमा अर्काे अधिवेशन आह्वान गर्ने निष्कर्ष छ । इजरायल आक्रमणपछि नेपाल भ्रमण स्थगित गरेका राष्ट्रसंघका महासचिव एन्टिनियो गुर्टेरेस १२ कात्तिकमा काठमाडौं आउने गरी भ्रमणको तयारी थालिएकाले १२ कात्तिकमा विशेष अधिवेशन वा हिउँदे अधिवेशन आह्वान गर्ने समझदारी बनेको गठबन्धनका एक नेताले बताए । 

अधिवेशन अन्त्यको तयारी हुँदैगर्दा बर्खे अधिवेशन कानुन निर्माणको हिसाबले उपलब्धिमूलक बन्न सकेन । संसदीय समितिले पनि विधायिकी कार्यमा गति लिन सकेनन् । २५ पुसबाट सुरु भएको अधिवेशन सरकार गठन, सभामुख÷उपसभामुख, राष्ट्रपति÷उपराष्ट्रपति, समिति सभापति चयनमै केन्द्रित भयो । यो अधिवेशनमा दर्जनौँ संकल्प प्रस्ताव आए पनि एउटैमा छलफल हुन सकेन । संसदीय समितिमा विधेयकहरू थन्किए । ९ महिना पूरा गरेको अधिवेशनमा एउटा मात्रै कानुन बन्नुले समग्रतामा यो अधिवेशन औपचारिकतामा सीमित भएको परिणामले देखाउँछ । 

ad
ad