
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र तिब्बतबीच जोडिने मुस्ताङको कोरोला नाका खोल्न सरकारले तयारी थालेको बताएका छन् । मुस्ताङ भ्रमणको क्रममा कोराेला पुगेका पाण्डेले नाका खोल्न गण्डकी प्रदेश सरकारले पहल थालेको र नेपाल सरकार पनि यसमा सकारात्मक रहेको बताएका छन् । उनले नाका सञ्चालन गर्नुपूर्व यहाँको आवश्यक पूर्वाधार निर्माण गर्न जरुरी रहेको बताए ।
उनले पहिलो चरणमा सडक स्तरोन्नति गर्नुपर्नेमा जोड दिएका छन् । तिब्बत र मुस्ताङको नाकामा रहेको पिल्लर नम्बर २४ मा पुगेर स्थलगत निरीक्षण गरेपछि पाण्डेले पहिलो चरणमा भौतिक संरचना निर्माण गर्नुपर्ने आवश्यक रहेको बताए । ‘तिब्बततर्फ भौतिक संरचनाहरू निर्माण भइसकेको देखिन्छ, हाम्रोतर्फ पनि आवश्यक भौतिक संरचना छिटो निर्माण गर्नुपर्छ ।’ पाण्डेले भने, ‘नाका खोल्ने योजना भइरहँदा तिब्बततर्फ सबै तयारी हुनु र गण्डकी प्रदेशको मुस्ताङतर्फ कुनै पनि संरचना नहुँदा भोलि समस्या आउन सक्छ, इमिग्रेसन, सुरक्षा चेकजाँच, भन्सार सञ्चालन गर्न हाम्रोतर्फ पनि भौतिक संरचना जरुरी हुन्छ ।’
अहिले रहेको भन्सार र सुरक्षा चेकपोस्ट पिल्लरभन्दा नौ किलोमिटर तल छ । नाकासम्म पुग्ने सडक स्तरोन्नति गरेर नियमित सवारी आउजाउ गर्न सक्ने बनाउनतर्फ सरकारको ध्यान रहेको मुख्यमन्त्री पाण्डेले बताए । ‘कोरोला नाकासम्मको सडक पनि संघ सरकारको गौरवको योजना हो, यसमा प्रदेश सरकारले पनि सहकार्य गरेको छ,’ उनले भने । निर्माण व्यवसायीको ढिलासुस्तीले सडक निर्माणको काम सुस्त रहेको बताउँदै छिटो काम सम्पन्न गर्न प्रदेश सरकारले दबाब सिर्जना गर्ने बताए ।
पछिल्लो चीन भ्रमणका वेला कोरोला नाका खोल्ने विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका थिए । तर, नाका कहिले खुल्छ भन्ने अझै यकिन भएको छैन । उक्त विषयमा संघ सरकार, प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको मुख्यमन्त्री पाण्डेले बताए । ‘नाका खोल्ने कुरा प्रदेश सरकारले मात्र चाहेर नहुने रहेछ, संघ सरकारसँगको समन्वयमा छिटो खोल्नेतर्फ हाम्रो प्रयास केन्द्रित छ,’ उनले भने ।
सीमानाका निरीक्षणसँगै गण्डकी प्रदेशस्तरीय सुरक्षा समिति र मुस्ताङ जिल्लास्तरीय सुरक्षा समितिको बैठक पनि कोरोलामा बसेको थियो । बैठकमा नाका र प्रदेशको सुरक्षा संवेदनशीलता, नाका खुल्दा र नखुल्दा आउन सक्ने चुनौती, समाधानका उपाए, स्थानीयको आवश्यकतालगायतबारे छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए ।
कोरोला नाका निरीक्षणमा मुख्यमन्त्री पाण्डे, प्रतिनिधिसभा सदस्य योगेश गौचन, प्रदेश सभा सदस्य नाम्डु गुरुङ, विकल शेरचनलगायत पनि सहभागी थिए । गण्डकी प्रदेशका प्रमुख सचिव, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, सुरक्षा निकायका प्रदेश प्रमुखहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसहितको टोलीले सीमावर्ती क्षेत्रको १० भन्दा बढी गाउँमा पुगेर स्थानीयसँग अन्तर्क्रिया गरेको सापकोटाले जानकारी दिए ।
प्रदेश सरकारबाट सञ्चालन भएका योजनाको अवस्था, चालू वर्ष विनियोजन भएको बजेट, स्थानीयको गुनासो र प्रदेश सरकारले गर्न सक्ने सम्बाेधनबारे मुख्यमन्त्री, जनप्रतिनिधिहरू र स्थानीयबीच अन्तर्क्रिया भएको थियो । मुख्यमन्त्री गाउँगाउँमा पुग्दा स्थानीय निकै उत्साहित र खुसी देखिन्थे ।