Skip This
१४ दिनमा नौ चिकित्सकमाथि कुटपिट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २६ बुधबार o९:४५:oo
Read Time : > 4 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

१४ दिनमा नौ चिकित्सकमाथि कुटपिट

Read Time : > 4 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o९:४५:oo

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कानुन कार्यान्वयन नहुँदा आक्रमणका घटना बढ्दै

पछिल्लो समय चिकित्सकमाथि आक्रमण, कुटपिट र गालीगलौजसम्बन्धी घटना बढेका छन् । उपचारमा लापरबाही गरेको बहानामा बिरामी तथा उपचारका क्रममा मृत्यु भएका आफन्तले चिकित्सकमाथि बल प्रयोग गर्ने क्रम बढेको हो । 

नेपाल चिकित्सक संघका अनुसार पछिल्लो समय हरेक दिन स्वास्थ्यकर्मीमाथि आक्रमण, कुटपिट र गालीगलौजका घटनामा आधारित उजुरी आउने गरेका छन् । संघका महासचिव डा. सञ्जीव तिवारीका अनुसार एक वर्षअघिसम्म यस्ता घटना कम हुन्थे, तर पछिल्लो समय स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटना ह्वात्तै बढेका छन् । ‘पछिल्लो समय स्वास्थ्यकर्मीमाथि हुने आपराधिक घटना बढेका छन् । कतिपय घटना त हामीकहाँ आउँदैनन्, अप्रिय घटना मात्रै आउँछन्,’ उनले भने, ‘स्वास्थ्यकर्मीमाथि चरणबद्ध शैलीमा आक्रमण बढ्दो छ, राजनीतिक संरक्षण हुँदासम्म यस्ता घटना बढ्ने देखिन्छ ।’ उनका अनुसार पछिल्लो समय बिरामीले पनि चिकित्सकविरुद्ध दिने उजुरीको संख्या बढेको छ । तर, त्यसभन्दा पनि बढी चिकित्सकमाथि कुटपिट, गालीगलौज र आक्रमणका घटना हुने गरेका छन् । 

२९ भदौयता १० असोजसम्म डाक्टरमाथि नौवटा कुटपिटका घटना भएका छन् । ती घटनाबारे जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, मकवानपुर, चितवन, रुपन्देही, लमजुङ, कास्की, सिराहा, मोरङ, तनहुँमा डाक्टरले नै उजुरी दर्ता गरेका छन् । यीमध्ये एउटा उजुरी गालीगलौजसम्बन्धी छ भने अन्य उजुरी कुटपिट तथा आक्रमण सम्बन्धित छन् । उक्त उजुरीको कपी संघ र मेडिकल काउन्सिललाई पीडित डाक्टरहरूले पठाएको संघले जनाएको छ । 

नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. कृष्ण अधिकारीले स्वास्थ्यकर्मीमाथि कुटपिट, आक्रमण र गालीगलौजसम्बन्धी घटना बढेपछि उपचारमै समस्या देखिने अवस्था आएको जानकारी दिए । ‘अहिले चिकित्सकमाथि हुने हिंसा तथा घटना बढेका छन्, काउन्सिलमा स्वास्थ्यकर्मीविरुद्ध उजुरी पनि परेका छन्,’ उनले भने, ‘तर, त्यसको तुलनामा पछिल्ला महिनमा चिकित्सकमाथि हुने घटना बढेका छन्, यसले स्वास्थ्य उपचार प्रणाली र चिकित्सकको मनस्थितिमा गम्भीर समस्या निम्त्याउँछ ।’

चिकित्सकमाथि हुने यस्ता घटनाले उनीहरूको मनोबलमै समस्या पर्ने डा. भोला रिजाल बताउँछन् । सरकारी निकायकै कमजोरीले यस्ता घटना हुने गरेको उनको भनाइ छ । ‘डाक्टरमाथि हुने घटनाबारे हामीले ‘एनालाइसिस’ कहिले गर्ने ? यस्ता घटना कसरी रोकिने होलान् भनेर हरेक दिन यसबारे सोच्छु,’ उनले भने, ‘तर, जब सरकार सुतेको हुन्छ, तब न्यायका ढोका बन्द हुन्छन् । यस्तो असुरक्षित मनस्थिति बोकेर चिकित्सक अस्पतालमा जानुपर्ने बाध्यता छ ।’ चिकित्सकको सुरक्षामा सुरक्षा निकाय र स्वास्थ्य मन्त्रालय जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

०७९ मा ६५ चिकित्सक कुटिए
चिकित्सक संघका अनुसार आर्थिक वर्ष ०७९/८० मा डाक्टरमाथि ६५ वटा कुटपिटका घटना भएका छन् । महिनामा ५–६ जना चिकित्सकमाथि कुटपिट हुने गरेको संघका महासचिव डा. तिवारीको भनाइ छ । ‘पछिल्ला वर्षमा चिकित्सकमाथि हुने घटना बढेका छन्,’ उनले भने, ‘महिनामा ५–६ जना डाक्टरमाथि कुटपिटका घटना भएका छन्, तर हामीकहाँ २० जनाजतिले मात्रै निवेदन दिनुभएको छ । कतिपयले घटना लुकाउने गर्नुुहुन्छ, कतिपय घटना राजनीतिक आडमा सामसुम पारिन्छ, यस्ता घटना बढ्दो क्रममा छन् ।’

संघका अनुसार ०६३ देखि ०७९ सम्म एक सय ४० जनाभन्दा बढी चिकित्सकमाथि कुटपिट, ज्यान मार्ने धम्कीलगायत दुव्र्यवहारका घटना भएका छन् । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९’ जारी भएपछि यस्ता घटना कम हुने अनुमान गरे पनि घटना झन् बढेका छन् । पछिल्लो एक वर्ष (०७९/८०) मा ६५ जना चिकित्सकमाथि कुटपिट भएको छ । पछिल्ला १४ दिनमा नौजना चिकित्सक कुटिएका छन् । 

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिने बताए । बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताउँदै संलग्नमाथि कारबाही हुने जानकारी दिए । ‘दिनप्रतिदिन दुःखद घटना भएका छन्, यो खेदजनक छ,’ उनले भने, ‘यसबारे पटक–पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबीच छलफल भइरहेको छ । घटनामा संलग्नलाई कारबाही हुन्छ, चिकित्सकले ढुक्क भएर काम गर्ने वातावरण बनाउँछु ।’ 

अधिकांश घटनामा मिलापत्र हुँदा समस्या 
चिकित्सक कुटपिटका अधिकांश घटना मिलापत्रमा टुंगिने गरेका छन् । हाल पाँचवटा कुटपिटका घटनामा संलग्नलाई भने पुर्पक्ष र हिरासतमा राखिएको छ । संघका महासचिव तिवारीका अनुसार राजनीतिक व्यक्तिहरूले घटनामा मिलापत्र गराइदिँदा चिकित्सकमाथि कुटपिट तथा हातपात गर्नेहरू उम्किँदै आएका छन् । ‘हाल पाँचवटा घटनामा संलग्नलाई कानुनी कारबाही अघि बढाएको थाहा छ,’ उनले भने, ‘अधिकांश घटना मिलापत्रमा टुंग्याउँदा यस्ता घटना बढिरहेका छन् ।’ 

केही दिनअघि हेटौँडाको सञ्चो अस्पताल, लमजुङ जिल्ला अस्पताल, पोखराको मणिपाल मेडिकल कलेजमा कार्यरत चिकित्सकलाई आक्रमण तथा कुटपिट गर्नेलाई थुनामा राखिएको छ । त्यसअघि जुम्ला अस्पताल र चितवन मेडिकल कलेजमा कार्यरत चिकित्सकलाई कारबाही गर्ने पनि थुनामा रहेको तिवारीको भनाइ छ । 

बिरामी पक्षले उपचारमा लापरबाही गर्ने डाक्टरविरुद्ध मेडिकल काउन्सिल, जिल्ला प्रशासन कार्यालय, अदालतलगायतमा उजुरी हाल्न पाउँछन् । तर, डाक्टरलाई उजुरी हालेर कानुनी कारबाही गराउनेबारे थाहा नहुँदा पनि बिरामी पक्षका आफन्तले डाक्टरमाथि कुटपिट, गालीगलौज र आक्रमण गर्ने गरेको संघका महासचिव तिवारीको भनाइ छ । डाक्टरमाथि आक्रमण, कुटपिट वा गालीगलौज गरे कस्तो कारबाही हुन्छ भन्नेबारे सचेतना दिनु जरुरी रहेको उनले बताए । 

चिकित्सकविरुद्धको उजुरीमा पनि छैन कारबाही 
उपचारमा लापरबाही गर्ने चिकित्सकमाथि पनि कारबाही भएको छैन । बिरामीको उजुरीअनुसार चिकित्सकलाई कारबाही गर्ने निकाय मेडिकल काउन्सिलले चिकित्सकलाई कारबाही गरेको उदाहरण भेटिँदैन । काउन्सिलका अनुसार डाक्टरले उपचारमा लापरबाही गरेपछि बर्सेनि ६० भन्दा बढी उजुरी पर्ने गरेका छन् । चिकित्सकको लापरबाही र कमजोरीका कारण बिरामीको मृत्यु भएको तथा स्वास्थ्य झन् बिग्रिएको, किर्ते रिपोर्ट बनाएकोलगायत आरोप लगाएर दर्ता गरेका उजुरीउपर काउन्सिलले कुनै कदम चालेको देखिँदैन । 

आव ०७६/७७ यता ०७९/८० सम्म मेडिकल काउन्सिलमा एक सय ६० भन्दा बढी उजुरी दर्ता भएका छन् । तर, कुनै पनि उजुरीमाथि कारबाही भएको देखिँदैन । ‘बिरामीमाथि डाक्टरले लापरबाही गरेको भनेर उजुरी पर्ने क्रम पनि बढ्दो छ,’ काउन्सिलका रजिस्ट्रार अधिकारीले भने, ‘यस वर्ष परेका उजुरी अहिले सार्वजनिक गर्न मिल्दैन । हरेक वर्ष ६० वटा उजुरी पर्छन्, डाक्टरले पनि आचारसंहिता पालना गरेका छैनन्, डाक्टरको व्यवहार पनि उही सहचालकले यात्रुलाई तानातान र हप्काएजस्तो छ । डाक्टरहरूको व्यवहार पनि सुध्रिन जरुरी छ, उनीहरूले पनि आचारसंहिता पालना गनुपर्छ ।’

कानुन बने पनि रोकिएनन् कुटपिटका घटना
सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा हुने घटनालाई नियन्त्रण गर्न स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश, २०७८ जारी गरेको थियो । तर, कानुन बने पनि कार्यान्वयन नहुँदा स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमाथि आक्रमण बढ्न थालेको छ । अध्यादेशमा स्वास्थ्य संस्थामा आगजनी तथा तोडफोड गर्ने वा अन्य कुनै कार्य गरी हानि–नोक्सानी पुर्‍याउने तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोट पुर्‍याएको देखिए मुद्दा हेर्ने अधिकारीले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने प्रावधान छ । त्यस्तै, स्वास्थ्य संस्थामा तोडफोड र आगजनी गर्नेविरुद्ध पाँच वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । 

चिकित्सकमाथि हुने कुटपिट तथा हिंसात्मक घटना रोक्न कानुनबारे थाहा दिन सूचनापाटी राख्न थालिएको छ । स्वास्थ्य मन्त्रालयले देशभरका सबै स्वास्थ्य संस्थालाई चिकित्सकमाथि दुव्र्यवहार तथा स्वास्थ्य संस्थामा आक्रमण गर्ने व्यक्तिलाई कारबाही हुने कानुनी व्यवस्थासम्बन्धी जानकारी सूचना पाटीमा टाँस्न परिपत्र गरेको हो । मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ को दफा ३ र दफा १५ को कानुनी व्यवस्थालाई सेवाग्राही एवं सरोकारवाला सबैले देखिने गरी जानकारीमूलक सूचनापाटी ‘फ्लेक्स बोर्ड’ बनाई अस्पताल परिसरमा राख्न आग्रह गरेको छ । मंगलबार गृह मन्त्रालयमा सरोकारवालाहरूबीच भएको छलफलले यस्तो निर्णय गरेको हो । 
 

ad
ad