
एक साधु भ्रमणका क्रममा एक गाउँलेकहाँ पुगे । गाउँलेले उनको खुब सेवा गरे र हिँड्ने समयमा प्रशस्त उपहार दिएर बिदा गरे । साधुले आशीर्वाद दिँदै भने– भगवान्को कृपाले तिमीले अझै सुखसुविधा पाउनेछौ ।
साधुको कुरा सुनेपछि गाउँले मुसुक्क मुस्कुराए र भने– महाराज ! आज जे छ, त्यही पनि रहनेवाला छैन । साधु कुनै जवाफ नदिई बिदा भए । केही वर्षपछि साधु पुनः सोही गाउँमा पुगे । तिनै गाउँलेकहाँ पुग्दा सबै धनसम्पत्ति सकिएर उनी छिमेकी कुनै जमिनदारकहाँ काम गर्छन् भन्ने सुने । उनी गाउँलेलाई भेट्न गए । गाउँलेले अभावबीच साधुको स्वागत गरे । आफ्नो झुपडीमा लगेर रुखासुक्खा भोजन गराए । भोलिपल्ट बिदा हुने समयमा गाउँलेको अवस्था देख्दा साधुको आँखामा आँसु आयो । उनले भने– हे भगवान्, हजुरले यो के गर्नुभयो ?
गाउँले पुनः मुसुक्क मुस्कुराए र भने– महाराज ! किन दुःखी हुनुहुन्छ ? आखिर यो पनि त सधैँ रहनेवाला छैन ।
दुई वर्षपछि पुनः साधु सोही गाउँमा पुगे । ती गाउँले जमिनदार भइसकेका थिए । जुन जमिनदारकहाँ उनी काम गर्थे, ती निःसन्तान थिए । उनका आफन्त पनि कोही थिएनन् । गाउँलेको इमानदार सेवाबाट प्रभावित भएर जमिनदारले आफ्नो सम्पूर्ण सम्पत्ति तिनैलाई दिए । यो थाहा पाएपछि साधुले भने– जे भयो राम्रै भयो । अब सधैँ तपाईं यस्तै रहनुहोस् । भगवान्सित मेरो यही प्रार्थना छ । गाउँले पुनः मुस्कुराए र भने– महाराज ! यो पनि रहनेवाला छैन ।
यसको केही वर्षपछि पुनः साधु तिनै गाउँलेलाई भेट्न उनको निवासमा पुगे । तर, उनको निधन भइसकेको थियो । छोरीहरू बिहे गरेर टाढा पुगिसकेका थिए । वृद्धा पत्नी रोगसित जुधिरहेकी थिइन् । सेवकहरू उनको सेवामा जुटेका थिए । उनको घर, जमिन, सम्पत्ति सबै थियो, तर त्यसको उपभोग गर्नेको अभाव थियो । साधुले मनमनै भने– मान्छेहरू तेरो र मेरो भन्दै लडिरहन्छन् । आखिर यहाँ के र को नै चिरस्थायी रहेछ र ?