
आयरल्यान्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले शुक्रबार साँझ आयरल्यान्डका राष्ट्रपति माइकल डी हिगिन्ससँग शिष्टाचार भेट गरेका छन्। राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए। भेटमा सभामुख घिमिरेले कूटनीतिक सम्बन्ध विस्तार भएको २४ वर्षमा दुई मुलुकबीच उच्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको बताए।
सभामुख घिमिरेले नेपाल र आयरल्यान्ड भौगोलिक रूपले टाढा भएता पनि कला, साहित्य, संगीत तथा संस्कृतिका माध्यमले नजिक रहेको उल्लेख गरे। 'हाम्रा दुई मुलुकबीच विश्व शान्ति, मित्रता एवं सद्भावजस्ता समान मूल्य-मान्यताहरू छन्। लोकतन्त्र, मानव अधिकार, विधिको शासन र स्वतन्त्रता हाम्रा साझा प्रतिबद्धता रहेका छन्,' सभामुखको भनाइ थियो।
सभामुख घिमिरेले जलवायु परिवर्तनको चुनौती सामना गर्न विश्व मञ्चमा नेपाल र आयरल्यान्डबीच सहकार्यमा जोड दिए। उनले आयरल्यान्डमा शिक्षा हासिल गर्न नेपाली विद्यार्थी आकर्षित भएको बताउँदै आवश्यक सहजीकरणका लागि आग्रह गरे ।
भेटमा आयरल्यान्डका राष्ट्रपति माइकल डी. हिगिन्सले नेपाल राजतन्त्रात्मक शासन अन्त्य गर्दै लोकतन्त्रको बाटोमा अघि बढेकोबारे आफू जानकार रहेको बताउँदै प्राकृतिक रूपमा दुवै मुलुक धनी रहेको उल्लेख गरे। उनले सर्वोच्च शिखर सगरमाथा र हरित पर्यटनका लागि नेपाल जान आइरिस नागरिक लालयित रहेको बताए।
राष्ट्रपति हिगिन्सले नेपाल–आयरल्यान्डमैत्री समूहमार्फत नेपालको कृषि, पर्यटनलगायतका क्षेत्रमा काम गर्न सकिने धारणा राखे। तीनसदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आयरल्यान्ड भ्रमणमा रहेका सभामुख घिमिरे आइतबार बिहान १०:१५ बजे काठमाडौं फर्कने कार्यक्रम छ। भ्रमण टोलीमा सभामुखसँगै प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेय र प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी छन्।
आयरल्यान्डमा रहँदा सभामुख घिमिरले संसद्को माथिल्लो सदन सिनेटका अध्यक्ष र तल्लो सदन प्रतिनिधिसभाका सभामुखसँग भेट गरेका छन्। सभामुख घिमिरेले राष्ट्रपति डी. हिगिन्सको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै नेपाल भ्रमणका लागि आमन्त्रणसमेत गरेका छन्। रासस