१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २१ शुक्रबार १३:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

भैरहवापछि वीरगन्ज नाकाबाट पनि पेट्रोल तस्करी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:o४:oo

भारतको बरौनीबाट बाराको अमलेखगन्जसम्म पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका ट्यांकरमा पेट्रोल तस्करी हुने गरेको भेटिएको छ। 

गत २९ भदौमा तोकिएभन्दा बढी परिमाणमा पेट्रोल ल्याएर तस्करी गरिरहेको अवस्थामा वीरगन्ज भन्सार कार्यालयले समातेको हो।

इन्डियन आयल कर्पोरेसन (आइओसी) को बरौनी रिफाइनरीबाट पेट्रोल ढुवानी गर्ने ना.४ख ३१५६ नम्बरको ट्यांकरमा घोषणा गरिएकोभन्दा एक हजार आठ सय लिटर बढी पेट्रोल भेटिएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र शर्मा ढकालले जानकारी दिए। 

उनका अनुसार पक्राउ परेको ट्यांकर बरौनी रिफाइनरीबाट २० हजार लिटर पेट्रोल बोकेर वीरगन्ज भन्सारमातहतको अलौँ आइसिपी हुँदै आएको थियो। 

ट्यांकरचालक जयलाल दास तात्वाले २० हजार लिटर मात्रै पेट्रोल ल्याएको भनी घोषणा गरेर जाँचपास गराउन खोजेका थिए।  

त्यसपछि शंका लागेर कर्मचारीले आइसिपीको काँटामा गाडीसहितको तौल गर्दा बढी देखिएपछि तत्कालै ट्यांकर र चालकलाई नियन्त्रणमा लिएर नापजाँचका लागि आयल निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्ज डिपोमा पठाइएको थियो। अमलेखगन्ज डिपोले ट्यांकरमा रहेको पेट्रोलको परिमाण नापजाँच गर्दा बढी तेल ल्याएको पुष्टि भएको हो। 

भन्सारका सूचना अधिकारी ढकालले तस्करी भइरहेको सूचना पाएर नियन्त्रणमा लिएको र भन्सार कार्यालयको मुद्दा शाखामा थप अनुसन्धानपछि ट्यांकरका चालक तात्वालाई बिहीबार तीन लाख रुपैयाँ धरौटीमा छाडेको बताए। 

तस्करी गरिरहेको ट्यांकर अहिले अमलेखगन्ज डिपोमा नै रहेको र कर छली अभियोगमा भन्सारका तर्फबाट थप अनुसन्धान भइरहेको ढकालले बताए। 

२९ भदौमा एउटा ट्यांकरमा तेल तस्करी भइरहेको अवस्थामा समातेपछि अहिले वीरगन्ज भन्सार हुँदै आउने अन्य ट्यांकरलाई समेत सूक्ष्म किसिमले चेकजाँच गरिरहेको उनले जानकारी दिए। 

पेट्रोल तस्करीमा संलग्न ट्यांकरधनी वीरगन्जनिवासी कुलवन्त सिंहलाई भन्सार कार्यालयले निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ।
 
यसैबीच, आयल निगमको केन्द्रीय कार्यालयले पेट्रोल तस्करी पुष्टि भएपछि ढुवानीमा प्रयोग भएको ना.४ख ३१५६ नम्बरको ट्यांकरलाई तीन महिनासम्म इन्धन ढुवानीमा रोक लगाउने गरी निलम्बन गरेको जनाएको छ। 

निगम प्रवक्ता मनोज ठाकुरका अनुसार चालक तात्वालाई भने आजीवन पेट्रोलियम ढुवानीमा प्रतिबन्ध लगाउने निर्णय भइसकेको छ। यसअघि भैरहवा भन्सार कार्यालय हुँदै गत ८ वैशाखमा पनि तीन हजार लिटरभन्दा बढी डिजेल तस्करी हुँदै गर्दा भन्सार कार्यालयले समातेको थियो। 
 

ad
ad