मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ५ शुक्रबार
  • Sunday, 22 December, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८o असोज ५ शुक्रबार ११:२४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्यटन दिवसको अवसर पारेर सयजना ‘राइडर’ निस्किँदै छन् ‘गोल्डेन ट्रयांगल बाइक टुर’मा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८o असोज ५ शुक्रबार ११:२४:oo

अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा सयजनाको ‘गोल्डेन ट्रयांगल बाइक टुर’ हुने भएको छ । नेपाल टुरिजम फेस्टिभल दोस्रो संस्करणको तयारीस्वरूप एनटिपी मल्टिमिडिया ग्रुपले  एक्सपल्स राइडर्स क्लबसँग मिलेर पहिलोपटक ‘गोल्डेन ट्रयांगल बाइक टुर’ आयोजना गरेको हो । बाइक टुरको सहआयोजकमा मुकाम मिडिया नेटवर्क र हिमाल मल्टिमिडिया छन् ।

नेपाल पर्यटन बोर्ड, नाट्टा, टान, एफएनसिसिआईलगायत संघसंस्थासँगको समन्वय तथा सहकार्यमा पत्रकार, कलाकार, साहित्यकार, बाइकरसहित सयजनाको राइडर्स टिमले काठमाडौं–हेटौँडा–चितवन–लुम्बिनी–पाल्पा–पोखरा रुटमा ‘गोल्डेन ट्रयांगल बाइक टुर’ गर्न लागेको हो ।

यसअघि ताप्लेजुङ–दार्चुला बाइक टुर सफलतापूर्वक सम्पन्न गरेको एनटिपी मल्टिमिडिया ग्रुपले यसपटक कोभिड महामारी र आर्थिक मन्दीपछि सुस्त देखिएको पर्यटन क्षेत्रलाई उकास्न सहयोग पुग्ने उद्देश्यले  काठमाडौं–चितवन–लुम्बिनी–पोखरालाई केन्द्रमा राखेर सयजना राइडर्ससहितको गोल्डेन ट्रयांगल बाइक टुर आयोजना गरेको संयोजक विष्णु विवेकले जानकारी दिए ।

‘अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा सयजनाको राइडर्स टिमसहित पत्रकार, कलाकार, केही साहित्यकार र बाइकर मिलेर गोल्डेन ट्रयांगल बाइक टुर गर्न लागेका हौँ,’ उनले भने, ‘यसले नेपालमा पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको बाइक टुरिङ र त्यसबाट नेपालका विविध पर्यटकीय गन्तव्य एक्सप्लोर तथा प्रवर्द्धन गर्न सहयोग पुग्छ । यसपटक हामी गोल्डेन ट्रयांगलमा फोकस छौँ ।’

अन्तर्राष्ट्रिय पर्यटन दिवसको दिन सेटेम्बर २७ अर्थात् असोज १० गतेदेखि सुरु हुने बाइक टुरको टिम पहिलो दिन चित्लाङ, दामन हुँदै पर्सा राष्ट्रिय निकुञ्जको प्रवर्द्धनका लागि वीरगन्ज पुग्नेछ । सोही दिन निकुञ्ज परिसरमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेर पर्सा निकुञ्जको भ्रमण तथा पत्रकार, कलाकार, साहित्यकार र राइडर्सले पर्यटन प्रवर्द्धन गर्नेछन् । यसका लागि नाट्टा मधेश प्रदेश, भरतपुर महानगरपालिका र पर्सा राष्ट्रिय निकुञ्जसँग समन्वय तथा सहकार्य भइरहेको छ ।

दोस्रो दिन असोज ११ गते पर्सादेखि हेटौँडा, सौराहा हुँदै राइडर्सको टिम भरतपुर पुग्नेछ । भरतपुर महानगरपालिकाको ‘भिजिट भरतपुर २०२४’ भ्रमण वर्ष कार्यक्रमलाई सहयोग तथा प्रवर्द्धन गर्न सयजनाको राइडर्स टिमले नारायणी किनारमा ‘बीच क्रिकेट’ पनि खेल्नेछ । भरतपुरमा मेयर रेणु दाहाललगायत सरोकारवालासँग अन्तर्क्रिया गर्नेछ । 

तेस्रो दिन असोज १२ गते राइडर्स टिम लुम्बिनी पुगेर शान्तिदीप प्रज्ज्वलन गर्नेछ । त्यसको भोलिपल्ट ऐतिहासिक जितपुरगढी किल्ला पुगेर त्यसको प्रवर्द्धन गर्नेछ । यसका लागि नाट्टा लुम्बिनी प्रदेश, बुटवल उपमहानगरपालिका र लुम्बिनी विकास कोषसँग सहकार्य तथा समन्वय भइरहेको संयोजक विवेकले जानकारी दिए ।

चौथो दिन असोज १३ गते राइडर्स टिम पाल्पा रानीमहल पुग्नेछ । रानीमहलको पर्यटन प्रवर्द्धन तथा कार्यक्रमका लागि नाट्टा पाल्पा च्याप्टरको समन्वय तथा तानसेन नगरपालिकासँग सहकार्य हुनेछ । रानीमहलमा पर्यटन प्रवर्द्धनका साथै कालीगण्डकी किनारमा अन्तर्क्रिया कार्यक्रमका साथै भलिबल र डोरी तान्ने खेल अर्थात् ‘टग अफ वार’ खेल पनि हुनेछ ।

यस्तै, पाँचौँ दिन सयजनाको राइडर्स टिम पोखरा पुग्नेछ । पोखरामा आउँदो मंसिरमा हुने नेपाल टुरिजम फेस्टिभलको दोस्रो संस्करणको तयारी तथा ब्रान्डिङका लागि बाइक टुर टिमले लेकसाइडमा समापन कार्यक्रम गर्नेछ ।

यसका लागि पोखरामा पर्यटन महिला व्यवसायी संघ, टेवान र नाट्टा गण्डकी प्रदेशलगायतका संघसंस्थासँग सहकार्य हुनेछ । पोखरामा फेवातालसँगै बेगनासताल र रूपातालको पनि पर्यटन प्रवर्द्धन गरेर राइडर्स टिम असोज १५ गते काठमाडौं फर्किनेछ ।