सडक अलपत्र पारेर भाग्ने व्यवसायीका मेसिनरी औजारमा नगरपालिकाको ताला

बुधबार, ३ असोज, २०८०
डिजिटल संस्करण

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतिको काम अलपत्र छाडेर भाग्ने निर्माण व्यवसायीको मेसिनरी औजार नियन्त्रणमा लिएको छ । नगरपालिकाले मेसिनरी औजार नियन्त्रणमा लिएपछि छुटाउनका लागि राजनीतिक दबाब आउन थालेको नगर प्रमुख तीर्थराज भट्टराईले बताए । 

नगरपालिकाले जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दिक्तेल–खोटाङ बजार सडकखण्डअन्तर्गत दिक्तेलस्थित अस्पतालचोकदेखि लफ्याङको दुबेचिवासम्मको (तीन किलोमिटर) सडक स्तरोन्नतिको काम अलपत्र छाडेर हिँड्ने ढुकुछु/बगाले/बिएन्टी जेभी निर्माणको एउटा स्काभेटर, दुईवटा ट्रिपर तथा एक–एकवटा रोलर र ग्रेडर नियन्त्रणमा लिएको हो । 

सडक स्तरोन्नतिको काम अलपत्र पारेर सम्पर्कविहीन बनेका निर्माण व्यवसायीले निर्माणस्थलबाट मेसिनरी औजारसमेत उठाएर लैजान थालेपछि नगरपालिकाको तर्फबाट मंगलबार नियन्त्रण लिइएको नगरका प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए । ‘निर्माण कम्पनीका प्रतिनिधिले ‘मेसिन कन्डिसनमा भए–नभएको जाँच गर्न आएको’ भन्दै ग्रेडर स्टार्ट गरेर हिँडाएको जानकारी स्थानीय बासिन्दाबाट पायौँ । नगर प्रहरीको टोलीसँग पछ्याउँदै जाँदा नभेटेपछि बाटोमा पर्ने प्रहरीचौकी दोर्पाचिउरीडाँडाका प्रहरीलाई परिचालन गरेर ग्रेडर नियन्त्रणमा लिइएको छ,’ उनले भने, ‘निर्माणस्थलमा रहेका अन्य मेसिनसमेत लैजाने तयारी गरेको जानकारी प्राप्त भएपछि नगरपालिकाको तर्फबाट सबै औजारमा ताला हालिएको छ । उक्त ताला निर्माण व्यवसायीले पुनः सडक स्तरोन्नतिको काम सुरुवात नगरेसम्म रहन्छ ।’

नगरपालिकाले मेसिनरी औजार नियन्त्रणमा लिएपछि छुटाउनका लागि राजनीतिक दबाब आउन थालेको नगर प्रमुख तीर्थराज भट्टराईले बताए । ‘निर्माण व्यवसायीले अलपत्र छाडेको अस्पतालचोक–लफ्याङको दुबेचिवा (तीन किलोमिटर) सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने अवधि अब १९ दिन मात्र बाँकी छ । तोकिएको समयमा कुनै पनि हालतमा सम्पन्न हुने सम्भावना छैन,’ उनले भने, ‘निर्माण व्यवसायीको यतिसम्म लापरबाही देखियो कि, निर्माणस्थलमा खटाइएका कामदारलाई समेत अलपत्र पारेर भागेका रहेछन् । 

ढुकुछु/बगाले/बिएन्टी जेभी निर्माणले भ्याटसहित पाँच करोड ६ लाख ५५ हजार पाँच सय ८६ रुपैयाँमा दिक्तेलस्थित अस्पतालचोकदेखि लफ्याङको दुबेचिवासम्मको सडक ०७९ पुस २८ गतेसम्म स्तरोन्नति सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । सो निर्माण कम्पनीले ०७८ जेठ २० गते ठेक्का सम्झौता गरेको थियो । 

See More On

सुझावित समाचार