१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

संविधान संशोधनमा हतार गर्नुहुँदैन : ओली 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२१:oo

नेम्वाङको स्मृति दिवस 

एमाले अध्यक्ष केपी ओलीले आयातित र लादिएको विचारका आधारमा जनताको भावना भड्काउन खोजिएको भन्दै संविधान संशोधनका माग सम्बोधनका लागि हतार गर्न नहुने बताएका छन् । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको स्मृति दिवसका सन्दर्भमा पार्टीले मंगलबार आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा ओलीले त्यस्तो बताएका हुन् ।

‘अब संविधान संशोधन गर्दा हामीले बढी ध्यान पुर्‍याउनुपर्छ । तत्काल चाहिएको एउटा विषय मात्र होइन, केही विषय जो राम्रो छलफल गरेर संशोधन गर्नुपर्ने हुन्छ,’ ओलीले भने, ‘गम्भीरताभन्दा बढी भावनामा, आफ्नै विचारभन्दा लादिएको आयातित विचारका आधारमा दबाब दिने र अनेक प्रकारका बेठीक उद्देश्य राख्ने देखिएकाले फेरि हतार गर्नुपर्ने अवस्था छैन ।’ देश साँच्चै गम्भीर अवस्थामा पुगेकाले सबै राजनीतिक दलले गम्भीर भएर नसोचे दुर्घटना निम्तिन सक्ने खतरा देखिएको ओलीको भनाइ थियो । 

संविधान निर्माणको अगुवाइ गर्ने सुवास नेम्वाङको अभावमा सबै मिलेर संविधानको उपलब्धिको रक्षा गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको ओलीले बताए । संविधान निर्माण नगर्न आन्तरिक र बाह्य दबाबलाई चिरेर नेम्वाङले संविधानसभाबाट संविधान निर्माणमा भूमिका खेलेको भन्दै ओलीले त्यसअघि पनि अन्तरिम संविधान निर्माणमा उनको भूमिका रहेको चर्चा गरे ।   

एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थीहरूले अलग–अलग पार्टी चलाउनुको अर्थ नभएको भन्दै एउटै बलियो कम्युनिस्ट पार्टी बनाउनुपर्ने धारणा राखे । खनालले संविधान निर्माणमा सहजीकरण र समन्वयको भूमिका खेलेर नेम्वाङले संविधान निर्माण गर्ने आधार बनाएको बताए । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान निर्माणमा नेम्वाङको नेतृत्वदायी भूमिकाको चर्चा गरे । 

माओवादी केन्द्रकी नेतृ एवं पूर्वसभामुख ओनसरी घर्तीले नेम्वाङसँगको १३ वर्षसम्मको लामो सहकार्यको स्मरण गर्दै अप्ठ्यारो परेको वेला सधैँ सहयोग पाएको बताइन् । लोसपाका नेता सर्वेन्द्रनाथ शुक्लाले संविधान ल्याउनमा नेम्वाङको भूमिका महत्वपूर्ण रहेको बताए । जसपाका केन्द्रीय सदस्य रकम चेम्जोङले नेम्वाङको निधनबाट संविधान कार्यान्वयनमा चुनौती थपिएको बताएका थिए ।

ad
ad