१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o६:o५:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रसंघीय महासभामा सहभागी हुन प्रधानमन्त्री न्युयोर्क प्रस्थान 

दुई साता देशबाहिर रहने, न्युयोर्कबाट ५ असोजमा चीन जाने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:o५:oo

४ असोजमा राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालले हासिल गरेका राजनीतिक उपलब्धिबारे अवगत गराउने तथा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव लिने अपेक्षा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन शनिबार साँझ न्युयोर्क प्रस्थान गरेका छन् । उनले आगामी ४ असोजमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । न्युयोर्कबाट ५ असोजमा चीन पुगेर १३ असोजमा स्वदेश फर्किने कार्यक्रम रहेकाले प्रधानमन्त्री प्रचण्ड दुई साता देशबाहिर हुनेछन् । 

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार न्युयोर्क प्रस्थान गरेका प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख/प्रतिनिधिलगायतले बिदाइ गरेका थिए । उनको साथमा छोरी गंगा दाहाल तथा परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी छन् । परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली यसअघि नै न्युयोर्क पुगिसकेको छ । 

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा न्युयोर्क र काठमाडौंबाट गरी १४ जना सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्डले नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास र समुन्नत नेपालको निर्माणमा नेपालको प्रयासका विषय समेटेर महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रतिनिधिसभामा बोल्दै भ्रमणबारे जानकारी दिइसकेका छन् । 

प्रधानमन्त्री प्रचण्डले यस वर्ष दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौतीबारे पनि सम्बोधन गर्नेछन् । यसैगरी, दिगो विकासका लक्ष्य हासिल गर्न वित्तीय प्रबन्धलगायत संयुक्त राष्ट्रसंघका सदस्य मुलुकका साझा चासो एवं सरोकारका विषयमा गहन छलफल हुने प्रधानमन्त्रीले बताएका छन् । उनले न्युयोर्कमा विभिन्न उच्चस्तरीय बैठकमा पनि सहभागिता जनाउनेछन् । 

नेपालले यस वर्षदेखि अल्पविकसित राष्ट्रहरूको समूहको अध्यक्षको जिम्मेवारी पाएको छ । अध्यक्षको हैसियतमा नेपालले ४७ वटा मुलुकको प्रतिनिधित्व गर्दै प्रधानमन्त्रीले साझा चासोका विषयमा विभिन्न मञ्चमा धारणा राख्नेछन् । यस वर्ष १८ देखि २६ सेप्टेम्बरसम्म संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको उच्चस्तरीय सत्र सञ्चालन हुँदै छ । 

प्रचण्डले त्यस अवसरमा नेपालले हासिल गरेका राजनीतिक उपलब्धिबारे अवगत गराउने तथा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने नेपालको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव लिने अपेक्षा राखेका छन् । यसैगरी, अतिकम विकसित मुलुकबाट दिगो र स्थायी रूपमा स्तरोन्नति हुन आइपरेका चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गर्ने प्रधानमन्त्रीको तयारी छ । 

अल्पविकसित मुलुकहरूको समूहको अध्यक्षको हैसियतले यो समूहका सदस्य राष्ट्रहरूले झेल्दै आएका विशिष्ट चुनौतीबारे प्रचण्डले आवाज उठाउनेछन् । उनले जलवायु परिवर्तनबाट नेपालजस्तो पर्वतीय मुलुकमा परेको गहिरो र दूरगामी प्रभावलगायत नेपालका लागि चासोका विषय र प्राथमिकताप्रति विश्व समुदायको ध्यानाकर्षण गराउनेछन् । 

महासभाका क्रममा विभिन्न उच्चस्तरीय बैठक एवं संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रसले आयोजना गर्ने क्लाइमेट एक्सनसम्बन्धी सम्मेलनमा पनि उनी सहभागी हुनेछन् । 

असोज १ र २ मा आयोजना हुने दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक मञ्चलाई पनि प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले मञ्चमा अतिकम विकसित मुलुकहरूले भोग्नुपरेका साझा समस्या तथा चुनौती, सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्न आइपरेका व्यवधान एवं विकासोन्मुख मुलुकका रूपमा स्तरोन्नति हुन लागेका नेपालजस्ता मुलुकले दिगो विकास एवं समृद्धिको पथमा अग्रसर रहिरहन आगामी दिनमा चाल्नुपर्ने साझा कदमका विषयमा भनाइ राख्नेछन् ।

प्रचण्डले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रसलगायत विभिन्न मित्रराष्ट्रका राष्ट्र प्रमुख एवं सरकार प्रमुखसँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गर्ने बताएका छन् । भेटवार्तामा नेपालको राष्ट्रिय हित, पारस्परिक सहयोग र दिगो विकासका मुद्दालाई केन्द्रमा राखेर छलफल गर्ने प्रचण्डको योजना छ ।

प्रधानमन्त्री प्रचण्ड २ असोजमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने जलपान कार्यक्रममा समेत सहभागी हुने तय भएको छ ।

प्रधानमन्त्री प्रचण्ड ५ असोजमा न्युयोर्कबाटै चीनको औपचारिक भ्रमणका लागि हाङझाउ जाने कार्यक्रम छ । हाङझाउमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटघाटको कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड १९औँ एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुनेछन् । ८ असोजमा बेइजिङमा समकक्षी ली छियाङसँग भेटघाट तथा द्विपक्षीय वार्ताको कार्यक्रम छ ।

खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी 
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन त्यसतर्फ प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्काले पाएका हुन् । प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

ad
ad