मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २९ शुक्रबार
  • Thursday, 02 January, 2025
२o८o भदौ २९ शुक्रबार १o:oo:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पश्चिमा मिडियाको खेदाइमा चीनको आर्थिक संकट

चीनको अर्थतन्त्र मन्दीबाट गुज्रिरहेको छ, निर्यात, घरजग्गाजस्ता कारोबारमा संकुचन आएको छ, तर मिडियाले भनेझैँ पतन भने भइहालेको छैन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २९ शुक्रबार १o:oo:oo

हिजोआज चीनको आलोचना नभएको कमै सुनिन्छ । पश्चिमा मिडियाले लगातार चीनविरुद्ध नकारात्मक समाचार, लेख र टिप्पणी छाप्ने कामलाई तीव्रता दिएका छन् । फाइनान्सियल टाइम्सदेखि द इकोनोमिस्ट, द वाल स्ट्रिट जर्नल आदिले प्रत्येक हप्ताजसो चीनप्रतिको नकारात्मक सामग्री प्रकाशित गरेका छन् । यी सामग्रीमा चीनको संकटलाई मुख्य विषय बनाइएको छ । 

ब्लुमबर्गको हालसालैको रिपोर्टअनुसार चीनले सायदै अमेरिकी अर्थतन्त्रलाई पछि पार्न सक्ने उल्लेख छ । तर, यसअघि सन् २०३० सम्म चीन अर्थतन्त्रमा अमेरिकाभन्दा पनि अगाडि निस्कने प्रक्षेपण भएका थिए । त्यसो भए प्रश्न उठ्छ, आखिर के भइरहेको छ ? के साँच्चिकै चीनको हालत यति खराब बनिसक्यो, जति पश्चिमा मिडियाले लेखेका छन् ? के चीन अर्को जापान हो, जसले ब्यालेन्स सिटको मन्दी या कर्जाका कारण एक या दुई दशक यत्तिकै खेर फालिदिन्छ ? या फेरि यो पश्चिमाको मात्रै कामना हो ?

यो भनिरहनुपर्दैन, चीनको अर्थतन्त्र संकटमा छ । उसका समस्या अचल सम्पत्ति क्षेत्रवरिपरि छ । यो क्षेत्रको चीनको समृद्धिको महत्वपूर्ण हिस्सा हो । चिनियाँ अर्थतन्त्रमा यस क्षेत्रको योगदान करिब ३० प्रतिशत छ । भारतमा वार्षिक रूपमा साढे तीन लाखदेखि चार लाखसम्म अपार्टमेन्ट बिक्री हुन्छन् । तर, चीनमा भने यो तथ्यांक एक करोडभन्दा माथि छ । चिनियाँ अर्थतन्त्रको आकारको अनुमान यसबाट सहजै लगाउन सकिन्छ । यही कारणले चीन विश्वमै उपभोक्ता सामानको सर्वाधिक ठूलो उपभोक्ता हो । र, उसको कर्जा कुल गार्हस्थ्य उत्पादनको तीन सय प्रतिशतभन्दा बढी छ । चीन केवल फ्रान्स र जापानभन्दा पछाडि छ, कर्जामा । 

सन् २०३० सम्म चीन अर्थतन्त्रमा अमेरिकाभन्दा पनि अगाडि निस्कने प्रक्षेपण गरिएको थियो । त्यसो भए प्रश्न उठ्छ, आखिर के भइरहेको छ ? के साँच्चिकै चीनको हालत यति खराब बनिसक्यो, जति पश्चिमा मिडियाले लेखेका छन् ?
 

चीनको सम्पत्ति क्षेत्र संकटमा हुँदा त्यसको प्रत्यक्ष प्रभाव आर्थिक वृद्धिमा परिरहेको छ । जसले गर्दा अर्थतन्त्रका विभिन्न क्षेत्रमा समस्या पैदा हुँदै गएका छन् । अप्रिल महिनामा घरजग्गा बिक्रीमा गिरावट आउन थालेपछि सन् २०१९ को स्तर ५०–६० प्रतिशतमा पुगेको छ । यो उच्च गिरावट उपभोक्तामा आँट र साहस नहुँदा आएको हो । उपभोक्ताहरूले विकासकर्ताले समयमा परियोजना सम्पन्न गर्ने क्षमतामा मात्रै संशय गरेका छैनन्, अर्थतन्त्रको अवस्थाप्रति पनि भरोसा छैन । 

चीनमा युवा बेरोजगारी दर २० प्रतिशतभन्दा माथि छ । यस्तै, तलबमा वृद्धि पनि न्यून नै छ । राष्ट्रपति सी जिनपिङले नेतृत्व गरेको सरकारले घरजग्गा कारोबार सट्टेबाजका लागि नभई बसोवासका लागि गर्नुपर्ने भन्दै आइरहेको छ । कमजोर मागका कारण मूल्यमा गिरावट बढ्दो छ । आवास मूल्यमा मासिक नौ प्रतिशतको गिरावट आइसकेको छ । तथापि, स्थिर हुने कुनै शुभ संकेत देखिएको छैन । कम कर्जा, बिक्रीमा गिरावट र उच्च मूल्यले पनि नयाँ परियोजना सुरु गर्न सक्ने अवस्था छैन । सन् २०१९ को तुलनामा यो वर्ष नयाँ निर्माण ४० प्रतिशत मात्रै छ । 

पछिल्लो पाँच वर्षमा चिनियाँ बैंकहरूको प्रदर्शन अमेरिकी बैंकभन्दा राम्रो छ । कोभिडअघिकै स्तरमा कारोबार गरेका छन् । यसलाई हेर्दा आर्थिक पतनको कुनै संकेत देखिँदैन । 

यसैगरी, चीनमा सम्पत्ति विकासकर्ता (एसेस्ट्स डेभलपर) पनि चर्को दबाबमा छन् । विदेशी अनुदान जारी गर्ने ५० विकासकर्तामध्ये ३४ ले पहिल्यै कुनै न कुनै तरिकाले कर्जा पुनर्गठन गरिसकेका छन् । एभरग्रान्डे र कन्ट्री गार्डन टाट पल्टिएको कुरा लुकाएर लुक्दैन ।

चीनसम्बन्धी हरेक नकारात्मक चर्चा घरजग्गा कारोबारको मूल्यमा आएको गिरावटसँग जोडिन्छ । यस्तो अवस्थामा अचल सम्पत्ति क्षेत्रमा स्थिरताविना अर्थतन्त्रमा निरन्तर सुधार आउने अपेक्षा गर्न सकिँदैन । सम्पत्ति क्षेत्रको मन्दीबाहेक चीनको निर्यातको अवस्था पनि खराब छ । यसको सम्बन्ध भूराजनीतिक चिन्ता, आपूर्ति शृंखलाको विविधता र पश्चिममा आएको मन्दीसँग छ । यसरी हेर्दा चीन तत्काल निर्यातजन्य समस्याबाट निस्कन मुस्किल छ । 

बजार सरकारबाट नीतिगत समर्थन चाहन्छ । साथै, सरकारले सम्पत्ति विकासकर्तालाई उकासी आवासको मागलाई बढावा देओस् भन्ने पनि चाहन्छ । यसबारे सरकारले केही कदम त उठाएको छ, तर बजारको कामना थप ठोस कदमको हो । यसैगरी, चिनियाँ अधिकारीहरू सम्पत्ति क्षेत्रमा अर्थतन्त्रको परनिर्भरता कम गर्न प्रतिबद्ध छन् । चरणबद्ध रूपमा सन्तुलित गर्न पनि चाहन्छन् । 

आर्थिक पतनको संकेत : पश्चिमा मिडिया चीनको गम्भीर अवस्था चित्रण गरी खुसी किन छन् ? यो बुझ्न कुनै ज्योतिषी भइरहनुपर्दैन । पश्चिमा मिडियाले त चीनमा नगदको प्रयोग अस्थायी भएको र वर्षौंदेखि आवश्यकभन्दा बढी लगानीको स्थिति बनेको टिप्पणी पनि गरेका छन् । तर, व्याख्या गरिएझैँ बजारमा मन्दीको प्रभाव त्यति धेरै भने छैन । उदाहरणका लागि बैंकलाई लिन सकिन्छ । पछिल्ला पाँच वर्षमा चिनियाँ बैंकहरूको प्रदर्शन अमेरिकी बैंकभन्दा राम्रो छ ।

कोभिडअघिकै स्तरमा कारोबार गरेका छन् । यसलाई हेर्दा आर्थिक पतनको कुनै संकेत देखिँदैन । यसैगरी, दीर्घकालीन सरकारी अुनदानले पनि यही संकेत गर्छ । कोभिडपछि चीनले जारी गरेको सरकारी ऋणपत्रको प्रदर्शन पनि अमेरिकी ट्रेजरीभन्दा राम्रो थियो । साथै, चीनको प्रतिफल पनि स्थिर नै छ । 

कतिसम्म भने वस्तु (कमोडिटी)को क्षेत्रमा चीन ठूलो खरिदकर्ता हो । त्यहाँ पनि संकटको संकेत छैन । चीनको अर्थतन्त्रको अवस्था खराब छ भन्ने सन्देशसँग यो विषय मेल खाएको देखिँदैन । यसैगरी, चीन विलासी ब्रान्डको पनि प्रमुख खरिदकर्ता हो । त्यहाँ पनि सेयरको मूल्यमा खासै कमी आएको देखिँदैन । हो, चीनको अर्थतन्त्र मन्दीबाट गुज्रिरहेको छ । तर, पश्चिमा मिडियाले भनेझैँ पतन पनि भइहालेको छैन ।