पश्चिमा मिडियाको खेदाइमा चीनको आर्थिक संकट

चीनको अर्थतन्त्र मन्दीबाट गुज्रिरहेको छ, निर्यात, घरजग्गाजस्ता कारोबारमा संकुचन आएको छ, तर मिडियाले भनेझैँ पतन भने भइहालेको छैन

शुक्रबार, २९ भदौ, २०८०
डिजिटल संस्करण

हिजोआज चीनको आलोचना नभएको कमै सुनिन्छ । पश्चिमा मिडियाले लगातार चीनविरुद्ध नकारात्मक समाचार, लेख र टिप्पणी छाप्ने कामलाई तीव्रता दिएका छन् । फाइनान्सियल टाइम्सदेखि द इकोनोमिस्ट, द वाल स्ट्रिट जर्नल आदिले प्रत्येक हप्ताजसो चीनप्रतिको नकारात्मक सामग्री प्रकाशित गरेका छन् । यी सामग्रीमा चीनको संकटलाई मुख्य विषय बनाइएको छ । 

ब्लुमबर्गको हालसालैको रिपोर्टअनुसार चीनले सायदै अमेरिकी अर्थतन्त्रलाई पछि पार्न सक्ने उल्लेख छ । तर, यसअघि सन् २०३० सम्म चीन अर्थतन्त्रमा अमेरिकाभन्दा पनि अगाडि निस्कने प्रक्षेपण भएका थिए । त्यसो भए प्रश्न उठ्छ, आखिर के भइरहेको छ ? के साँच्चिकै चीनको हालत यति खराब बनिसक्यो, जति पश्चिमा मिडियाले लेखेका छन् ? के चीन अर्को जापान हो, जसले ब्यालेन्स सिटको मन्दी या कर्जाका कारण एक या दुई दशक यत्तिकै खेर फालिदिन्छ ? या फेरि यो पश्चिमाको मात्रै कामना हो ?

यो भनिरहनुपर्दैन, चीनको अर्थतन्त्र संकटमा छ । उसका समस्या अचल सम्पत्ति क्षेत्रवरिपरि छ । यो क्षेत्रको चीनको समृद्धिको महत्वपूर्ण हिस्सा हो । चिनियाँ अर्थतन्त्रमा यस क्षेत्रको योगदान करिब ३० प्रतिशत छ । भारतमा वार्षिक रूपमा साढे तीन लाखदेखि चार लाखसम्म अपार्टमेन्ट बिक्री हुन्छन् । तर, चीनमा भने यो तथ्यांक एक करोडभन्दा माथि छ । चिनियाँ अर्थतन्त्रको आकारको अनुमान यसबाट सहजै लगाउन सकिन्छ । यही कारणले चीन विश्वमै उपभोक्ता सामानको सर्वाधिक ठूलो उपभोक्ता हो । र, उसको कर्जा कुल गार्हस्थ्य उत्पादनको तीन सय प्रतिशतभन्दा बढी छ । चीन केवल फ्रान्स र जापानभन्दा पछाडि छ, कर्जामा । 

सन् २०३० सम्म चीन अर्थतन्त्रमा अमेरिकाभन्दा पनि अगाडि निस्कने प्रक्षेपण गरिएको थियो । त्यसो भए प्रश्न उठ्छ, आखिर के भइरहेको छ ? के साँच्चिकै चीनको हालत यति खराब बनिसक्यो, जति पश्चिमा मिडियाले लेखेका छन् ?
 

चीनको सम्पत्ति क्षेत्र संकटमा हुँदा त्यसको प्रत्यक्ष प्रभाव आर्थिक वृद्धिमा परिरहेको छ । जसले गर्दा अर्थतन्त्रका विभिन्न क्षेत्रमा समस्या पैदा हुँदै गएका छन् । अप्रिल महिनामा घरजग्गा बिक्रीमा गिरावट आउन थालेपछि सन् २०१९ को स्तर ५०–६० प्रतिशतमा पुगेको छ । यो उच्च गिरावट उपभोक्तामा आँट र साहस नहुँदा आएको हो । उपभोक्ताहरूले विकासकर्ताले समयमा परियोजना सम्पन्न गर्ने क्षमतामा मात्रै संशय गरेका छैनन्, अर्थतन्त्रको अवस्थाप्रति पनि भरोसा छैन । 

चीनमा युवा बेरोजगारी दर २० प्रतिशतभन्दा माथि छ । यस्तै, तलबमा वृद्धि पनि न्यून नै छ । राष्ट्रपति सी जिनपिङले नेतृत्व गरेको सरकारले घरजग्गा कारोबार सट्टेबाजका लागि नभई बसोवासका लागि गर्नुपर्ने भन्दै आइरहेको छ । कमजोर मागका कारण मूल्यमा गिरावट बढ्दो छ । आवास मूल्यमा मासिक नौ प्रतिशतको गिरावट आइसकेको छ । तथापि, स्थिर हुने कुनै शुभ संकेत देखिएको छैन । कम कर्जा, बिक्रीमा गिरावट र उच्च मूल्यले पनि नयाँ परियोजना सुरु गर्न सक्ने अवस्था छैन । सन् २०१९ को तुलनामा यो वर्ष नयाँ निर्माण ४० प्रतिशत मात्रै छ । 

पछिल्लो पाँच वर्षमा चिनियाँ बैंकहरूको प्रदर्शन अमेरिकी बैंकभन्दा राम्रो छ । कोभिडअघिकै स्तरमा कारोबार गरेका छन् । यसलाई हेर्दा आर्थिक पतनको कुनै संकेत देखिँदैन । 

यसैगरी, चीनमा सम्पत्ति विकासकर्ता (एसेस्ट्स डेभलपर) पनि चर्को दबाबमा छन् । विदेशी अनुदान जारी गर्ने ५० विकासकर्तामध्ये ३४ ले पहिल्यै कुनै न कुनै तरिकाले कर्जा पुनर्गठन गरिसकेका छन् । एभरग्रान्डे र कन्ट्री गार्डन टाट पल्टिएको कुरा लुकाएर लुक्दैन ।

चीनसम्बन्धी हरेक नकारात्मक चर्चा घरजग्गा कारोबारको मूल्यमा आएको गिरावटसँग जोडिन्छ । यस्तो अवस्थामा अचल सम्पत्ति क्षेत्रमा स्थिरताविना अर्थतन्त्रमा निरन्तर सुधार आउने अपेक्षा गर्न सकिँदैन । सम्पत्ति क्षेत्रको मन्दीबाहेक चीनको निर्यातको अवस्था पनि खराब छ । यसको सम्बन्ध भूराजनीतिक चिन्ता, आपूर्ति शृंखलाको विविधता र पश्चिममा आएको मन्दीसँग छ । यसरी हेर्दा चीन तत्काल निर्यातजन्य समस्याबाट निस्कन मुस्किल छ । 

बजार सरकारबाट नीतिगत समर्थन चाहन्छ । साथै, सरकारले सम्पत्ति विकासकर्तालाई उकासी आवासको मागलाई बढावा देओस् भन्ने पनि चाहन्छ । यसबारे सरकारले केही कदम त उठाएको छ, तर बजारको कामना थप ठोस कदमको हो । यसैगरी, चिनियाँ अधिकारीहरू सम्पत्ति क्षेत्रमा अर्थतन्त्रको परनिर्भरता कम गर्न प्रतिबद्ध छन् । चरणबद्ध रूपमा सन्तुलित गर्न पनि चाहन्छन् । 

आर्थिक पतनको संकेत : पश्चिमा मिडिया चीनको गम्भीर अवस्था चित्रण गरी खुसी किन छन् ? यो बुझ्न कुनै ज्योतिषी भइरहनुपर्दैन । पश्चिमा मिडियाले त चीनमा नगदको प्रयोग अस्थायी भएको र वर्षौंदेखि आवश्यकभन्दा बढी लगानीको स्थिति बनेको टिप्पणी पनि गरेका छन् । तर, व्याख्या गरिएझैँ बजारमा मन्दीको प्रभाव त्यति धेरै भने छैन । उदाहरणका लागि बैंकलाई लिन सकिन्छ । पछिल्ला पाँच वर्षमा चिनियाँ बैंकहरूको प्रदर्शन अमेरिकी बैंकभन्दा राम्रो छ ।

कोभिडअघिकै स्तरमा कारोबार गरेका छन् । यसलाई हेर्दा आर्थिक पतनको कुनै संकेत देखिँदैन । यसैगरी, दीर्घकालीन सरकारी अुनदानले पनि यही संकेत गर्छ । कोभिडपछि चीनले जारी गरेको सरकारी ऋणपत्रको प्रदर्शन पनि अमेरिकी ट्रेजरीभन्दा राम्रो थियो । साथै, चीनको प्रतिफल पनि स्थिर नै छ । 

कतिसम्म भने वस्तु (कमोडिटी)को क्षेत्रमा चीन ठूलो खरिदकर्ता हो । त्यहाँ पनि संकटको संकेत छैन । चीनको अर्थतन्त्रको अवस्था खराब छ भन्ने सन्देशसँग यो विषय मेल खाएको देखिँदैन । यसैगरी, चीन विलासी ब्रान्डको पनि प्रमुख खरिदकर्ता हो । त्यहाँ पनि सेयरको मूल्यमा खासै कमी आएको देखिँदैन । हो, चीनको अर्थतन्त्र मन्दीबाट गुज्रिरहेको छ । तर, पश्चिमा मिडियाले भनेझैँ पतन पनि भइहालेको छैन । 
 

सुझावित समाचार