
नेपालका लागि निसान गाडीको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले निसान गाडीका नयाँ संस्करण नाडा अटो सो २०२३ मा प्रदर्शन गरेको छ । कम्पनीले निसान गाडीको जेरो इमिसन सेकेन्ड जेनेरेसन निसान लिफ इलेक्ट्रिक गाडी नाभारा प्रो फोर एक्स गाडीको विशेष लइफ स्टाइल एडिसनका साथै नयाँ निसान म्याग्नाइटको एएमटी भेरियन्ट सार्वजनिक गरेको हो ।
कम्पनीका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाले नेपाली ग्राहकको रोजाइ र प्राथमिकताअनुरूप आधुनिक मोबिलिटी सोलुसन प्रदान गर्ने प्रतिबद्धताका साथ नाडा अटो सोमा नयाँ गाडी प्रदर्शन गरेको बताए । निसान इन्डिया, सिबियु साउथ एसिया व्यापार इकाइका निर्यात प्रमुख रघुनाथले डाइनामिक पर्फमेन्सका साथै सुरक्षा र आरामलाई सुनिश्चित गर्न उत्कृष्ट श्रेणीका कार ल्याउन जारी राख्ने बताए । निसानले चाँडै नै यस चाडपर्वका अवसरमा सबै नयाँ एक्स–ट्रेल इ–पावर सार्वजनिक गर्ने उनको भनाइ थियो । उनले भने, ‘निसान एक्स–ट्रेलको यो हाइब्रिड इ–पावर संस्करणले उत्कृष्ट कार्यकुशलता, आधुनिक सुविधा र आरामदायी इलेक्ट्रिक ड्राइभिङ अनुभव प्रदान गर्नेछ ।’
निसान नभाराको लाइफ स्टाइल एडिसनले उत्कृष्ट डाइनामिक पर्फमेन्स, परिष्कृत ह्यान्डलिङ र इन्धन (फ्युल) इफिसियन्सी प्रदान गर्ने कम्पनीको दाबी छ । यो गाडीमा, राम्रो नोइज, भाइब्रेसन र हार्सनेस कन्ट्रोल उपलब्ध भएकाले ड्राइभिङ अनुभव आरामदायी बनाउने जनाइएको छ ।
त्यस्तै, निसान लिफ इभीले उत्कृष्ट पावर डेलिभरी प्रदान गर्ने जनाइएको छ । ४० किलोवाट आवरको लिथियम–आयन ब्याट्रीले तीन सय ११ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । यसलाई अल–इलेक्ट्रिक इ–पावर ट्रेनले चलाउने हुनाले एक सय १० किलोवाट वा एक सय ५० पिएसको अधिकतम आउटपुट प्रदान गर्ने तथा तीन सय २० एनएम इन्सटेन्ट टर्क प्रदान गर्ने र सात दशमलव नौ सेकेन्डमा शून्यबाट एक सय किलोमिटरको गतिमा पुग्न सक्ने यो गाडीको अधिकतम गति एक सय ४० किलोमिटर प्रतिघन्टा रहेको जनाइएको छ ।
गाडीसँगै आउने युनिभर्सल चार्जिङ केबलले घरको वाल–आउटलेटमार्फत १५ देखि १८ घन्टामा तथा क्विक–चार्जिङ स्टेसनहरूमा ४० देखि ६० मिनेटमा पूर्ण चार्ज गर्न सकिने कम्पनीको दाबी छ । यो गाडीमा तीन वर्ष वा एक लाख किलोमिटर वारेन्टी तथा आठ वर्ष वा एक लाख ६० हजार किलोमिटर ब्याट्री वारेन्टी रहेको जनाइएको छ ।