दिवंगत नेता सुवासचन्द्र नेम्वाङलाई कसरी सम्झिनुहुन्छ ?
सुवासचन्द्र नेम्बाङ मेरो सातौँ कक्षादेखि स्नातकसम्मका सहपाठी हुनुहुन्थ्यो । मैले नै उहाँलाई ०२९ सालदेखि प्रगतिशील पार्टी राजनीतिमा आउन प्रेरित गरेको हुँ । कोअर्डिनेसन कालदेखि नेकपा निर्माणसम्म उहाँ र मैले एउटै पार्टीमा काम गर्यौँ । उहाँलाई आत्मीय र घनिष्ठ सहपाठी, सहयोद्धा कमरेड, कुशल सांसद, वरिष्ठ वकिल, राम्रो सभामुख र संविधानसभा अध्यक्षका रूपमा उहाँले खेलेका प्रभावकारी भूमिकाका आधारमा सम्झिन्छु ।
राष्ट्रिय राजनीतिमा नेम्वाङको अभाव कति खड्किएला ?
संविधानसभाका अध्यक्ष भएपछि उहाँले सबैलाई मिलाएर लाने र सबैका भावनालाई प्रतिविम्बित गरेर लाने ढंगको प्रयत्न गर्नुभयो । सबै पार्टीलाई एक आपसमा मिलाउने, सहकार्य गर्ने, साझा आधारमा बोल्ने र संविधान निर्माण गर्ने आधार तयार पार्ने काममा उहाँले महत्वपूर्ण भूमिका खेल्नुभयो । त्यसैको परिणामस्वरूप पनि हामीले आजको संविधान प्राप्त गरेका हौँ । त्यसैले, समकालीन नेपालको राजनीतिमा उहाँको निधनले ठूलो क्षति भएको छ ।
उहाँको अनुपस्थितिले वाम राजनीतिमा कस्तो प्रभाव पार्ला ?
सुवास नेम्वाङ नेपालको कम्युनिस्ट आन्दोलनको एकताको पक्षमा हुनुहुन्थ्यो । हामी अलग पार्टीमा हुँदा पनि हामीबीच सधैँ सम्पर्क र सम्बन्ध भइरहन्थ्यो । पार्टी विभाजन भएको प्रति उहाँ निकै दुःखी हुनुहुन्थ्यो । उहाँ जुन पार्टीमा रहेको भए पनि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन चाहनुहुन्थ्यो । एउटै पार्टी बन्दैन भने पनि कार्यगत एकता गरेर अगाडि बढ्न पाए हुन्थ्यो भन्ने धारणा राख्नुहुन्थ्यो । हामी वामपन्थीले एउटा राम्रो, लचिलो र सबैसँग मिल्न सक्ने व्यक्तित्वलाई गुमाएका छौँ ।