मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २६ मंगलबार
  • Thursday, 19 December, 2024
२o८o भदौ २६ मंगलबार १७:१५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गागनमा पुल नबन्दा नागरिकलाई सास्ती, साढे तीन वर्षमा ६५ प्रतिशत काम पूरा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २६ मंगलबार १७:१५:oo

पूर्वपश्चिम जोड्ने हुलाकी सडकअन्तर्गत सिराहा खण्डको औरही गाउँपालिकाको औरही र दरहैया गाउँको सीमा नदी गागनमा पुल निर्माण सम्पन्न नहुँदा नागरिक सास्ती भोग्न बाध्य छन्।

सम्झौता भएको तीन वर्ष सात महिनाको अवधिमा पूर्व र पश्चिमतर्फ पिल्लरसहित एक-एकवटा स्पानको स्ल्याब ढलान भए पनि बीचभागको निर्माण अधुरै रहेकाले गागनको करिब तीन फिटसम्म पानीमा हेलिएर ओहोरदोहोर गर्न बाध्य भएको स्थानीयको गुनासो छ।

हिराचन रोशन जेबीमार्फत रोशन कन्स्ट्रक्सनले निर्माण गरिरहेको पुल ८ साउन २०७९ भित्र निर्माण सकिने गरी ८ माघ २०७६ मा सम्झौता भएको थियो। पुल निर्माणको काम सुस्त गतिमा भइरहेकाले गाउँपालिका केन्द्र ओहोरदोहोर गर्नसमेत समस्या भइरहेको औरही– १ हरट्टी दरहैयाका स्थानीय महेशकुमार यादवले बताए।

पुल निर्माण ढिलो हुँदा बर्खामा पैदल, साइकल र मोटरसाइकलमा जोखिमपूर्ण ढंगले गागन वारपार गर्नुको विकल्प नरहेको यादवले बताए। हुलाकी सडकअन्तर्गत सिराहा खण्डमा पर्ने पूर्व बलानदेखि पश्चिम कमला नदीसम्मका प्रायः सबै ठाउँका खोला–नदीमा पुल, कलभर्ट बने पनि गागनमा पुल निर्माण सम्पन्न नहुँदा हुलाकी सडक हुँदै दैनिक ओहोरदोहोर गर्ने सर्वसाधारण अप्ठ्यारोमा पर्ने गरेका औरही ४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद यादवले बताए।

करिब २० वर्षअघि औरही गाउँको पूर्वपट्टिबाट बग्ने गागनमा पुल निर्माण गरेको १० वर्षपछि बाढीले पुलदेखि करिब तीन सय ५० मिटर उत्तरतिर बाँध भत्काएर खोलाले धार परिवर्तन गरेको थियो। बाँध भत्काएर खोला पुरानो पुलभन्दा दुई सय मिटर पूर्वबाट बग्न थालेपछि स्थानीय बासिन्दा खोलाको पानीमा हेलिएर आवतजावत गर्न बाध्य छन्। वडाध्यक्ष यादवका अनुसार औरही– ४ इँटाटार र सिराहा नगरपालिका– २१ सन्हैठा जाड्ने सहजा नदीमा झन् भर्खरै मात्र पुल निर्माणको सुरसार गरिएकाले आवतजावतमा समस्या भएको छ।

पुलको निर्माणको सम्झौता अवधि सकिएर आगामी पुससम्म म्याद थप हुँदा करिब ६५ प्रतिशत निर्माण सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले जनाएको छ। योजना कार्यालयका साइट इन्जिनियर कौशलकिशोर यादवका अनुसार प्रिस्ट्रेस प्रविधिको एक सय २६ मिटर लम्बाइ र ११ मिटर चौडाइको गागन पुल निर्माणका लागि हिराचन रोशन कन्स्ट्रक्सनले १२ करोड ९२ लाख ४० हजार तीन सय १० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। 

पुलको पिल्लरसहित पूर्व र पश्चिमतर्फ गरी दुईवटा स्पानको स्ल्याब ढलान भइसकेको र आगामी पुसम्म बीचको स्ल्याब ढलान गरी असारसम्म पुल सञ्चालन हुने साइट इन्जिनियर यादवले बताए। उनका अनुसार सहजा नदीमा समेत २५ मिटर लम्बाइको पुल निर्माणका लागि सगुन निर्माण सेवासँग ठेक्का सम्झौता भइसकेकाले आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुनेछ।