
होन्डा नेपालले अत्याधुनिक ५ सिटर एसयुभी होन्डा एलिभेट सार्वजनिक गरेको छ । आधुनिक स्टाइल र उत्कृष्ट पर्फमेन्स भएको यस एसयुभीले ग्राहकलाई उच्चस्तरीय ड्राइभिङ अनुभव दिने विश्वाससहित होन्डाले नेपाली बजारमा भिœयाएको हो ।
यसको आकर्षक बाहिरी डिजाइनले सडकमा ध्यान आकर्षित गर्ने तथा गाडीको स्पेसियस इन्टेरियरले यात्रुलाई आरामदायी यात्राको अनुभव प्रदान गर्नेछ, कम्पनीको दाबी छ । यस गाडीमा जडान गरिएको अत्याधुनिक होन्डा सेन्सिङ प्रणालीले ड्राइभरलाई सहायता गर्दै अत्यधिक सुरक्षा प्रदान गर्ने कम्पनीको भनाइ छ ।
दुई सय २० मिलिमिटर ग्राउन्ड क्लियरेन्स यस गाडीले एसयुभीहरूका लागि नयाँ मानक तय गरेको कम्पनीको दाबी छ । यो गाडीको इन्जिनले १२१ पिएस (लगभग ११९ हर्स पावर )को प्रभावशाली पावर आउटपुट प्रदान गर्ने जनाइएको छ । विभिन्न आठ भेरिएन्टमा उपलब्ध रहेको यो गाडीको मूल्य ५६ लाख ३५ हजार रुपैयाँदेखि ७९ लाख ४४ हजार रुपैयाँसम्म तोकिएको कम्पनीले जनाएको छ ।