१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २६ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ २६ मंगलबार o८:२४:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नेपालको नयाँ नक्सालाई समर्थन गर्न चीनसँग एमालेको लबिङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ २६ मंगलबार o८:२४:oo

भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानी भूभाग समेटेर नेपालको संसद्ले जारी गरेको नयाँ नक्सालाई साथ दिन एमालेले चीनसँग लबिङ गरेको छ । चीन भ्रमणमा रहेका महासचिव शंकर पोखरेलसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) मार्फत नेपालको नयाँ नक्साको पक्षमा लबिङ गरेको हो । 

केही साताअघि चीनले प्रकाशन गरेको नयाँ नक्सामा नेपालको नयाँ चुच्चे नक्सा नसमेटिएपछि चीन भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि त्यस विषयमा कुरा उठाएर चीनको साथ लिन राजनीतिक दलहरूले सुझाव दिँदै अएका छन् । 

सोमबार चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओसँगको भेटर्वार्तामा एमाले महासचिव पोखरेलले नेपालले जारी गरेको नयाँ नक्सालाई साथ दिन आग्रह गरे । ‘सन् १८१६ मा भएको सुगौली सन्धिले निर्धारण गरेअनुसार नेपालको नक्सा संसद्बाट पास गरेर औपचारिक रूपमा जारी गरेका छौँ । त्यसले गर्दा हामीले दबाब र अप्ठ्याराको पनि सामना गर्नुपरेको छ । हामीले जारी गरेको नक्साको सन्दर्भमा हामी सोहीअनुसार चीनको पनि साथ चाहन्छौँ,’ महासचिव पोखरेलले चिनियाँ पक्षलाई राखेको भनाइ उद्धृत गर्दै स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको साथ चाहन्छौँ । हामी एक चीनको पक्षमा दृढ छौँ । नेपालको भूमिबाट चीनविरोधी गतिविधि गर्ने कामलाई अस्वीकार गर्छौँ ।’ तर, चिनियाँ पक्षले भने नक्साका सन्दर्भमा कुनै ठोस जवाफ फर्काएन ।

विदेश विभाग प्रमुख जियनचाओले चीन र नेपालबीचको घनिष्ठ सम्बन्ध नचाहने शक्तिहरू पनि रहेकाले त्यसलाई समेत ख्याल गर्दै दुई देश र दुई पार्टीबीचको सम्बन्धलाई नयाँ उचाइमा लानुपर्ने आवश्यकता औँल्याएका थिए । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएका सहमति र तत्कालीन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा भएका पूर्वसहमति कार्यान्वयनमा जोड दिएका थिए ।

‘हाम्रो राष्ट्रपति महामहिम सीको नेपाल भ्रमण क्रममा भएका सहमतिहरू र तपाईंहरूको अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको वेला चीन भ्रमणका क्रममा भएका सहमति कार्यान्वयन होस् भन्नेमा हामी दृढ छौँ । ती सहमति, सम्झौता कार्यान्वयन छिटो गराउन हाम्रोतर्फबाट अधिकतम प्रयास हुनेछ,’ चीनका विदेश विभाग प्रमुखको भनाइ उद्धृत गर्दै प्रेस चौतारी नेपालका उपाध्यक्ष राजेश राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।