विभिन्न दुर्घटनामा परेर हातखुट्टा गुमाएका वा जन्मजात हाटखुट्टा नरहेकाहरूका लागि आइतबार सिराहाको लहानमा निःशुल्क कृत्रिम हातखुट्टा नापजाँच शिविर सञ्चालन गरिएको छ।
भारत राजस्थानको उदयपुरस्थित नारायण सेवा संस्थानको प्राविधिक सहयोग तथा नेपाल राष्ट्रिय मारवाडी संगठन र लहानस्थित मारवाडी युवा मञ्च लहानको सहकार्यमा स्थानीय मारवाडी सेवा सदनमा सञ्चालित शिविरमा आइतबार साँझसम्म एक सय ५० जना हातखुट्टा नरहेका व्यक्तिको नापजाँच गरिएको मञ्चका अध्यक्ष राहुल सारडाले जानकारी दिए। अध्यक्ष सारडाका अनुसार शिविरमा सिराहा, सप्तरी, उदयपुर, धनुषा, महोत्तरी, बारा र पर्साका एक सय ५० जनाको संस्थानबाट आएका स्वास्थ्य प्राविधिकहरूले हातखुट्टाको नापजाँच लिएका छन्।
शिविरमा नापजाँच लिएकालाई आगामी डेढदेखि दुई महिनाभित्र अत्याधुनिक प्रविधिबाट निर्मित प्लास्टिकका हातखुट्टा लहानमा ल्याएर जोडिदिने योजना रहेको शिविरका लागि संस्थानबाट आएका डा. अखिल भास्करले बताए।
शिविरका लागि संस्थानका इन्चार्ज (प्रभारी)को रूपमा आएका हरिप्रसाद लड्डाले संस्थानले शुक्रबार झापाको धुलाबारीमा पनि निःशुल्क कृत्रिम हातखुट्टा नापजाँच शिविर सञ्चालन गरेको बताए। उनका अनुसार संस्थानले ०७२ को विनाशकारी भूकम्पपछि काठमाडौंमा शारीरिक रूपले अप्ठ्यारो झेलिरहका अपांगता भएकाहरूका लागि निःशुल्क ह्विलचेयर र ट्राइसाइकल वितरण गरेको थियो।