राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधान बिपी विचारकै सार भएको बताएका छन्।
जननायक बिपी कोइराला स्मृति ट्रस्टले कोइरालाको ११०औँ जन्मजयन्तीका उपलक्ष्यमा शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरेको ‘बिपी साहित्य तथा स्वतन्त्रता सेनानी सम्मान’ कार्यक्रममा पौडेलले सो धारणा व्यक्त गरेका हुन्।
राष्ट्रपति पौडेलले अहिलेको संविधानले गरेको समावेशी व्यवस्थासहितका लोकतान्त्रिक मूल्य–मान्यता बिपीले चाहेकाे समावेशी समाजको अवधारणाकै सार भएको धारणा व्यक्त गरे। उनले बिपीको विचारलाई अन्यथा व्याख्या नगर्न पनि आग्रह गरेका छन्।
‘राष्ट्रिय एकता र मेलमिलापबाटै मुलुकसामु देखापर्ने समस्याको समाधान खोज्नुपर्छ भन्ने उहाँको धारणालाई समय र परिस्थितिसापेक्ष बनाउँदै त्यसैलाई अनुकरण गरेर आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि हासिल गर्न सफल भएका छौँ,’ उनले भने।
कार्यक्रममा बिपी साहित्य सम्मानबाट जनकपुरका डा. राजेन्द्र विमल पुरस्कृत भएका थिए। त्यस्तै, बिपी प्रजातन्त्र सेनानी सम्मानबाट रुपन्देहीका ९२ वर्षीय डिल्लीरमण शर्मा न्यौपानेलाई पुरस्कृत गरियो।