
रातको समयमा पोखरा महानगरपालिका क्षेत्रका मुख्य–मुख्य चोक तथा सडकहरूलाई झिलिमिली पार्न सुरु भएको उज्यालो पोखरा अभियानअन्तर्गत सडकबत्ती जडान गर्ने काम पूरा भएको छ । नेपाल विद्युत् प्राधिकरण तथा पोखरा महानगरपालिकाको साझेदारीमा १७ भदौ ०७९ मा उज्यालो अभियानको काम सुरु भएको थियो । अभियानअन्तर्गत पोखराका मुख्य–मुख्य चोकमा हाइमास्ट लाइट र अन्य स्थानमा स्मार्ट सडकबत्ती राखिएको हो ।
दुई संस्थाको साझेदारीमा सम्पन्न अभियानको कार्यान्वयनको जिम्मा विद्युत् प्राधिकरणअन्तर्गतको राष्ट्रिय सडकबत्ती प्रवद्र्धन आयोजनाले पाएको थियो । अभियानअन्तर्गत महानगरका विभिन्न २३ स्थानमा हाइमास्ट लाइट र दुई हजार सातवटा स्मार्ट सडकबत्ती जडान गरी पोखरालाई झलिमिली बनाइएको छ । प्राधिकरण र महानगरपालिकाको ५०–५० प्रतिशत लागत साझेदारीमा सम्पन्न अभियानका लागि १४ करोड ६५ लाख रुपैयाँ खर्च भएको छ ।
धनराज आचार्य, मेयर पोखरा महानगरनगरपालिका
बत्ती जडानले पोखरालाई थप सुरक्षित बनाउने काम गरेको छ । रातको समयमा अन्धकारको समस्या भोग्दै आएको पोखरेलीसँगै आन्तरिक एवं बाह्य पर्यटकलाई बत्तीका कारण सहज भएको छ ।
अभियानअन्तर्गत २३ स्थानमा जडान गरिएको हाइमास्ट बत्तीको पोल १६ मिटर अग्लो छ । प्रत्येक पोलमा दुई सय वाट क्षमताका आठ–आठवटा बत्ती राखिएका छन् । दुई हजार सात स्थानमा जडान गरिएको स्मार्ट सडकबत्तीमा १२० र ९० वाट क्षमताको बत्ती राखिएको छ । बत्ती पोखराका ६० किलोमिटर क्षेत्रमा जडान गरिएको छ ।
स्मार्ट बत्ती मोबाइल र ल्यापटपबाट नै नियन्त्रण गर्न सकिने गरी जडान गरिएको छ । बत्ती जडानका लागि ४३९ बटा नयाँ पोल गाडिएका छन् भने अन्य स्थानमा पुरानै विजुलीका पोल प्रयोग गरिएको छ । जडान गरिएका बत्तीको उत्पादक सिग्नफाई इन्डिया प्रालिले गरेको हो भने भारतको टपसन इनर्जी प्रालिले निर्माण गरेको हो ।
पोखराका मेयर धनराज आचार्यले बत्ती जडानले पोखरालाई थप सुरक्षित बनाउने काम गरेको बताए । सुरक्षितसँगै सहरलाई सुन्दर बनाउने कामसमेत गरेको उनको भनाइ छ । ‘रातको समयमा अन्धकारको समस्या भोग्दै आएको पोखरेलीसँगै आन्तरिक एवं बाह्य पर्यटकलाई बत्तीका कारण सहज भएको छ,’ उनले भने ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जडान गरिएका बत्ती स्मार्ट भएकाले कुन कहाँ बिग्रियो भन्ने पत्ता लगाउनुका साथै मर्मतका लागि पनि सहज हुने बताए ।