Skip This
डोल्पामा भेटियो तिलिचोभन्दा पनि अग्लो स्थानमा रहेको ताल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार o६:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

डोल्पामा भेटियो तिलिचोभन्दा पनि अग्लो स्थानमा रहेको ताल

उत्तरी डोल्पाको डोल्पोबुद्ध गाउँपालिका– ६ फालगाउँमा रहेको कुन्ख्येन फालक ताल ५१९० मिटर उचाइमा रहेको पालिकाको दाबी, प्रमाणीकरणका लागि सरकारसँग आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o६:४६:oo

हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा तिलिचोभन्दा अग्लो स्थानमा रहेको ताल फेला परेको छ । डोल्पोबुद्ध गाउँपालिका– ६ फालगाउँस्थित कुन्ख्येन फालक ताल पाँच हजार एक सय ९० मिटर उचाइमा रहेको स्थानीय जनप्रतिनिधिहरूको दाबी छ । नेपालमा हालसम्म मनाङको तिलिचो ताल सबैभन्दा उचाइमा रहेको प्रमाणित छ । 

डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङ, वडा नम्बर ६ का अध्यक्ष नुर्बु डम्डुल गुरुङसहित १७ जनाको टोलीले कुन्ख्येन फालक तालमै पुगेर जिपिएस मेसिनबाट उचाइ नापेको बताएका छन् । यो ताल तिलिचोभन्दा दुई सय ७१ मिटर अग्लो स्थानमा रहेको उनीहरूको दाबी छ । तिलिचो ताल चार हजार नौ सय १९ मिटरको उचाइमा छ । 

वडा नम्बर ६ का अध्यक्ष गुरुङले भने, ‘कुन्ख्येन फालक ताल पाँच हजार एक सय ९० मिटरको उचाइमा रहेको देखियो । तिलिचोभन्दा यो ताल दुई सय ७१ मिटर अग्लो स्थानमा छ ।’ स्थानीयले जानकारी दिएपछि जनप्रतिनिधिसहितको टोली पहिलोपटक तालको प्रवद्र्धनका लागि पुगेको उनले बताए । 

गुगलबाट म्यापिङ गर्दा उक्त तालको लम्बाइ पाँच सय ११ मिटर र चौडाइ तीन सय १३ मिटर देखाएको पनि वडाध्यक्ष गुरुङले बताए । ‘पाका–पुरानाले त्यहाँ ठूलो ताल छ भनेका थिए, त्यसकारण पनि हामी यसपटक उचाइ नाप्ने तयारीसहित गएका थियौँ, यो तालको रङ आकासे निलो छ, प्राकृतिक हिसाबमा पनि अत्यन्तै मनमोहक र सुन्दर छ,’ उनले भने ।

डोल्पोबुद्ध गाउँपालिकाको केन्द्रबाट तालसम्म पुग्न मोटरसाइकल र पैदलसहित ६ घन्टा लाग्ने वडाध्यक्ष गुरुङले बताए । वडा नम्बर ६ मा पर्ने फाल गाउँबाट मात्रै दुई घन्टा मोटरसाइकल र एक घन्टा पैदल गरेर तीन घन्टा लाग्ने स्थानीयले बताएका छन् । ताल रहेको स्थान चीन र नेपालको सीमानजिकै पर्ने भएकाले त्यहाँबाट १५ नम्बर सीमास्तम्भमा पुग्न दुई घन्टा मात्र लाग्ने गुरुङले बताए । यो तालनजिकै अर्को सानो ताल पनि रहेको उनको भनाइ छ ।

गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले कुन्ख्येन फालक नेपालकै अग्लो स्थानमा रहेको ताल भएको दाबी गर्दै यथाशीघ्र प्रमाणीकरण गर्न सरकारसँग आग्रह गरेका छन् । ‘हामीले जिपिएस मेसिनबाट नापेर निश्चित गरेका हौँ । अब प्रमाणीकरणका लागि प्रक्रियामा पनि अघि बढ्छौँ । तालबारे हेर्ने निकाय ताल विकास समिति हो भन्ने सुनेपछि यस विषयमा त्यहाँ पनि जानकारी गराएका छौँ । सरकारसँग पनि प्रमाणीकरणका लागि आग्रह छ ।’

तालको अध्ययन, अनुसन्धान र संरक्षण गर्ने निकाय वन तथा वातावरण मन्त्रालय हो । मन्त्रालयअन्तर्गत राष्ट्रिय ताल विकास समिति छ । त्यस्तै, संरक्षित क्षेत्रभित्रका तालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पनि संरक्षण गर्छ । तर, विस्तृत अध्ययन नापी विभागसँगको समन्वय र सहकार्यमा हुन्छ । 

राष्ट्रिय ताल विकास समितिकी कार्यकारी निर्देशक सीता शाहीले तिलिचोभन्दा अग्लो स्थानमा डोल्पोबुद्ध गाउँपालिका–६ स्थित फालगाउँमा ताल भेटिएको प्रारम्भिक जानकारी आएको बताइन् । सरकारको निर्णयका आधारमा समितिले त्यसबारे अध्ययन गर्ने उनको भनाइ छ । 

‘डोल्पोबुद्ध गाउँपालिकाबाट तिलिचो तालभन्दा अग्लो स्थानमा ताल भेटिएको प्रारम्भिक जानकारी आएको छ । ताल कति अग्लो स्थानमा छ, तालले ओगटेको क्षेत्रफल र गहिराइसँगै तालभित्र के–के छ भनेर विस्तृत अध्ययन गर्नुपर्छ । अध्ययन गाउँपालिका आफैँले पनि गर्न सक्छ,’ कार्यकारी निर्देशक शाहीले भनिन्, ‘तर, नापी विभागसँग सहकार्य गरेर विस्तृत अध्ययन गर्नुपर्ने भएकाले खर्चिलो पनि हुन्छ । त्यसैले सरकारबाटै निर्णय हुनुपर्छ । सरकारको निर्णयका आधारमा समितिले अध्ययन गर्न सक्छ । अध्ययनपश्चात् सरोकारवाला सबैलाई बोलाएर नापीबाट प्रमाणित गरेर सार्वजनिक गर्नुपर्छ ।’

 

ad
ad