१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सहकारी ऐन उल्लंघन गर्ने १७ वटा सहकारी संस्थाको दर्ता खारेज

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४o:oo

धनकुटा नगरपालिकाले सहकारी ऐन उल्लंघन गर्ने १७ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । ऐनको प्रावधान कार्यान्वयन गर्न पटक–पटक ताकेता गर्दा पनि अटेर गर्ने बचत तथा ऋण, उपभोक्ता, कृषि, दुग्ध र विद्युत् सहकारीको दर्ता खारेज गरिएको हो । 

खारेज हुनेमा धनकुटा–१ को जनकल्याण बचत तथा ऋण सहकारी, जनसहारा उपभोक्ता सहकारी र मकालु चिया तथा कफी उत्पादन साना किसान सहकारी संस्था रहेका छन् । यस्तै, धनकुटा–२ को भिरगाउँ दुग्ध उत्पादक सहकारी, मधुगंगा सुन्तले विद्युत् सहकारी, नवबिहानी कृषि सहकारी, धनकुटा–३ को सुगन्धित चिया उत्पादक सहकारी, धनकुटा–४ को हजुरको उपभोक्ता सहकारी र सदाबहार कृषि सहकारी खारेजीमा परेका छन् ।

साथसाथै धनकुटा–५ को क्रमिक दैनिक बचत तथा ऋण सहकारी, धनकुटा–६ को अन्नपूर्ण बचत तथा ऋण सहकारी, अर्गानिक तरकारी उत्पादन तथा कृषि पर्यटन सहकारी, धनकुटा–७ को सहयात्री कृषि सहकारी, धनकुटा–८ को टेकुनाला कृषि सहकारी, आठपहरिया कृषि सहकारी र सान्ताङ कृषि सहकारीको दर्ता पनि खारेज गरिएको छ ।

धनकुटा नगरपालिकाको सहकारी ऐनमा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने, ६ महिनाभित्र संस्थाको साधारणसभा बोलाउनुपर्ने र यसको विवरण नगरपालिकामा बुझाउनुपर्ने प्रावधान छ । 

सो प्रावधानविपरीत चार वर्षभन्दा अघिदेखि लेखापरीक्षण र साधारणसभा नगरेका र कार्यालयमा विवरण नबुझाउने सहकारी संस्थाहरूको दर्ता खारेज गरिएको नगरपालिकाले जनाएको छ । नौवटा कृषि सहकारी, तीनवटा बचत तथा ऋण सहकारी, तीनवटा उपभोक्ता सहकारी तथा एक–एकवटा दुग्ध र विद्युत् सहकारी खारेजीमा परेका छन् । 

ऐनको व्यवस्थाअन्तर्गत नचल्ने सहकारीबाट आममानिस ठगिन वा समस्यामा पर्न सक्ने भएकाले दर्ता खारेज गर्नुपरेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । ‘वर्षौँदेखि साधारणसभा नगर्ने, अडिट नगर्ने सहकारीबाट उपभोक्ता ठगिन सक्छन्,’ मेयर तामाङ भने, ‘कुनै पनि मानिस समस्यामा पर्नुहँुदैन भनेर पटक–पटक ताकेता गर्दा पनि नमानेपछि त्यस्ता सहकारीको दर्ता खारेज गरेका छौँ ।’ अहिले १७ वटा सहकारी खारेजीमा परेका र अरू सहकारीको विषयमा पनि अनुगमन गर्ने मेयर तामाङको भनाइ छ । 

नियमअनुसार नगरपालिकामा विवरण नबुझाएपछि त्यस्ता सहकारीलाई सम्पर्कमा आउन पटक–पटक सूचना जारी गरिएको थियो । अन्तिमपटक गत साउन ३० गते २१ वटा सहकारीलाई सम्पर्कमा आउन १५ दिनको म्याद दिइएको थियो । समयसीमाभित्र चारवटा सहकारी सम्पर्कमा आएर साधारणसभा गर्ने प्रतिबद्धता जनाएका र बाँकी सम्पर्कमा नआएकाले उनीहरूको दर्ता खारेज गरिएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदीले जानकारी दिए ।

ती सहकारीले तिर्नु वा बुझाउनुपर्ने दायित्व भए साबिकको सञ्चालक समितिका पदाधिकारीसँग सम्पर्क गरी फरफारक गरी लिन र अबउप्रान्त ती संस्थाहरूको नामबाट कुनै कारोबार नगर्न–नगराउन पनि नगरपालिकाले सूचित गरेको छ । 

ad
ad