Skip This
धनकुटा नगरपालिकामा १७ सहकारीको दर्ता खारेजी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १६ शनिबार
  • Friday, 26 July, 2024
२o८o भदौ १६ शनिबार १३:४४:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

धनकुटा नगरपालिकामा १७ सहकारीको दर्ता खारेजी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १६ शनिबार १३:४४:oo

धनकुटा नगरपालिकाले सहकारी ऐन उल्लंघन गर्ने १७ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ। ऐनको प्रावधान कार्यान्वयन गर्न पटक-पटक ताकेता गर्दा पनि अटेर गर्ने बचत तथा ऋण, उपभोक्ता, कृषि, दुग्ध र विद्युत् सहकारीको दर्ता खारेज गरिएको नगरपालिकाले जनाएको छ।

धनकुटा नगरपालिकाको सहकारी ऐनमा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने, ६ महिनाभित्र संस्थाको साधारणसभा बोलाउनुपर्ने र त्यसको विवरण नगरपालिकामा बुझाउनुपर्ने प्रावधान छ। सो प्रावधानविपरीत चार वर्षभन्दा अघिदेखि लेखापरीक्षण र साधारणसभा नगरेका तथा कार्यालयमा विवरण नबुझाएका सहकारी संस्थाहरूको दर्ता खारेज गरिएको नगरपालिकाले जनाएको छ।

खारेजीमा पर्नेमा नौवटा कृषि सहकारी, तीनवटा बचत तथा ऋण सहकारी, तीनवटा उपभोक्ता सहकारी तथा एक-एकवटा दुग्ध र विद्युत् सहकारी छन्।

ऐनको व्यवस्थाअन्तर्गत नचल्ने सहकारीहरूबाट आममानिसहरू ठगिन वा समस्यामा पर्न सक्ने भएकाले दर्ता खारेज गर्नुपरेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए। ‘वर्षौदेखि साधारणसभा नगर्ने, अडिट नगर्ने सहकारीहरूबाट उपभोक्ताहरू ठगिन सक्छन्। कुनै पनि मानिस समस्यामा पर्नुहुँदैन भनेर पटक-पटक ताकेता गर्दा पनि नमानेपछि त्यस्ता सहकारीको दर्ता खारेज गरेका छौँ,’ मेयर तामाङले भने, ‘अहिले १७ वटा सहकारी खारेजीमा परेका छन्, अरू सहकारीको विषयमा पनि अनुगमन गर्दै छौँ।’

नियमअनुसार नगरपालिकामा विवरण नबुझाएपछि त्यस्ता सहकारीलाई सम्पर्कमा आउन पटक-पटक सूचना जारी गरिएको थियो। अन्तिमपटक गत साउन ३० गते २१ वटा सहकारीलाई सम्पर्कमा आउन १५ दिनको म्याद दिइएको थियो। समय सीमाभित्र चारवटा सहकारी सम्पर्कमा आएर साधारणसभा गर्ने प्रतिबद्धता जनाएको र बाँकी सम्पर्कमा नआएकाले उनीहरूको दर्ता खारेज गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदीले जानकारी दिए।

ती सहकारीले तिर्नु वा बुझाउनुपर्ने दायित्व भए साबिकको सञ्चालक समितिका पदाधिकारीहरूसँग सम्पर्क गरी फरफारक गरी लिन र अब उप्रान्त ती संस्थाहरूको नामबाट कुनै कारोबार नगर्न-नगराउन पनि नगरपालिकाले सूचित गरेको छ। खारेजपछि धनकुटा नगरपालिकामा अब ५३ वटा सहकारी कायम भएका छन्। ती सहकारीको पनि अनुगमन भइरहेको नगरपालिकाले जनाएको छ।