
नेपाली कांग्रेसका नेता नैनसिंह महरले चीन सरकारले प्रकाशन गरेको नक्सामा नेपालको चुच्चे भाग (नक्सा) समावेश नगरिनु चीनको त्रुटिपूर्ण व्यवहार भएको र यसलाई सच्याउन नेपाल सरकारले कूटनीतिक नोट पठाउनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका भ्रातृ संस्था नेपाल महिला संघ, तरुण दल र नेविसंघका नेताहरूसँग काठमाडौंमा भएको छलफल कार्यक्रममा नेता महरले यस्तो बताएका हुन्। उनले चीन नेपालको असल छिमेकी भए पनि नेपालको सहमतिविना सन् २०१५ मा चीन र भारतले त्रिदेशीय नाका लिपु भञ्ज्याङ मार्गबाट दुईदेशीय व्यापार सम्झौता गरेको घटना र चीनले अहिले प्रकाशन गरेको नक्सामा चुच्चे भाग नराख्नुले चीनसँग नेपालको सीमा समस्या रहेको कुरा प्रस्ट भएको बताए।
नेता महरले भूगोल र जनसंख्याको हिसाबले कुनै मुलुक सानो र ठूलो भए पनि सार्वभौसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनता भने सबै देशको समान हुने भएकाले एक छिमेकीले अर्को छिमेकीको सम्मान गर्न सक्नुपर्ने प्रस्ट्याए।
ऐतिहासिक तथ्यले समेत नेपाल र नेपाली जनताले कसैको बिराउने काम नगरेको भन्दै उनले अगाडि थपे, ‘नेपालको सार्वभौम संसद्ले पास गरेको चुच्चे नक्सा चीनले आफ्नो नक्सामा समावेश नगरेको घटनाले नेपालीको चित्त दुखेको र यथाशक्य छिटो कूटनीतिक वार्ता गर्न र चुच्चे भूभागसहितको नक्सा प्रकाशनका लागि चीनलाई सहमत गराउन सरकारले तत्परता देखाउनुपर्छ।’