१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १८:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

एचआइडिसिएलले चार आयोजनालाई दियो १३ अर्ब ऋण लगानीको स्वीकृति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १८:१८:oo

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले विभिन्न चार जलविद्युत् आयोजनामा १३ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको छ। एचआइडिसिएलले निजी क्षेत्रका दुई र सार्वजनिक (सरकारी स्वामित्व)का दुई गरेर चार जलविद्युत् आयोजनामा ऋण लगानी गर्ने भएको हो।

त्यसमध्ये २८५ मेगावाटको अपर तमोर जलविद्युत् आयोजनामा ४ अर्ब रुपैयाँ ऋण लगानी गरिनेछ। तमोर सानिमा इनर्जी प्रालिले प्रवर्द्धन गरेको उक्त आयोजना ताप्लेजुङमा बन्नेछ। त्यसको कुल लगानी भने ५५ अर्ब १५ करोड रुपैयाँ रहेको छ। यसैगरी, दोलखास्थित ५६ मेगावाटको सानिमा जुम जलविद्युत् आयोजनामा पनि २ अर्ब ऋण लगानी गर्ने भएको छ। सानिमा जुम हाइड्रोपावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको उक्त आयोजनाको कुल लगानी भने ११ अर्ब ६० करोड रहेको छ।

यस्तै, एचआइडिसिएलले सरकारी स्वामित्वका १०६ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त र ४२ मेगावाटको माथिल्लो मोदी ए जलविद्युत् आयोजनामा पनि ऋण लगानी गर्नेछ। कुल २२ अर्ब ७८ करोड ५० लाख लागत अनुमान रहेको जगदुल्लामा ४ अर्ब रुपैयाँ र १० अर्ब ८ करोड ९० लाख लागत अनुमान गरिएको माथिल्लो मोदी एमा ३ अर्ब रुपैयाँ एचआइडिसिएलले ऋण दिनेछ। जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेले जगदुल्ला आयोजना अघि बढाएको छ। माथिल्लो मोदी ए भने मोदी जलविद्युत् कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको छ। यी दुवै सरकारी स्वामित्वका कम्पनी हुन्।

एचआइडिसिएलले शुक्रबार काठमाडौंमा विशेष समारोह गरेर प्रवर्द्धक कम्पनीलाई ऋण स्वीकृतको प्रमाणपत्र प्रदान गरेको छ। ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले प्रवर्द्धक कम्पनीहरूलाई ऋण स्वीकृतपत्र हस्तान्तरण गरेका हुन्। प्रवर्द्धकहरूले बाँकी लगानी भने बैंकलगायतका माध्यमबाट जुटाउनेछन्। 

जलविद्युतमा लगानी गर्ने उद्देश्यसहित सरकारले आफ्नो स्वामित्वमा १२ वर्षअघि एचआइडिसिएल स्थापना गरेको थियो। कार्यक्रममा सहसचिव देवले एचआइडिसिएलले लगानी विस्तार गर्दै जानु सकारात्मक रहेको बताए। यो संस्थाको उपस्थितिले जलविद्युतमा लगानी जुटाउन सहज हुँदै गएको र  बैंक तथा वित्तीय संस्थाहरूलाई समेत लाभ भएको उनको भनाइ छ।

यस्तै, एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले हालसम्म गत आवमा मात्रै १६ अर्ब ५६ करोड रुपैयाँबराबरको सेयर तथा ऋण स्वीकृत भएको बताए। समग्रमा गत आवमा एचआइडिसिएलको कार्य उत्साहजनक रहेको उनको भनाइ छ।

एचआइडिसिएलले हालसम्म सेयर तथा ऋण गरी २७ अर्ब ३९ करोड लगानी गरेको छ। त्यसमा निजी र सार्वजनिक क्षेत्रका १४ सय ६७ मेगावाटका १९ आयोजनामा २१ अर्ब २१ करोड ऋण लगानी गरिएको छ। यसैगरी, निजी र सार्वजनिक क्षेत्रको विभिन्न ९०२.४० मेगावाटका १२ आयोजनामा ६ अर्ब १८ करोड सेयर लगानी गरिएको छ। त्यसमा गत आवमा मात्रै एचआइडिसिएलले १६ अर्ब ५६ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ। त्यो अर्थमा गत आर्थिक वर्षको कार्यसम्पादन निकै उपलब्धिमूलक रहेको सिइओ गौतमको भनाइ छ।

एचआइडिसिएलले गत आवमा ४५.४७ मेगावाटको ब्रम्हयानी जलविद्युत् आयोजनामा ५० करोड, ४४ मेगावाटको सुपरमादी जलविद्युत् आयोजनामा ९१ करोड ८ लाख र ९.३ मेगावाटको सिबाखोला जलविद्युत् आयोजनामा १० करोड २० लाख रुपैयाँ सेयर लगानी गर्ने स्वीकृत गरेको छ।

यसैगरी, २७ मेगावाटको दोर्दी खोलामा २१ करोड ७२ लाख, ३० मेगावाटको न्यादी खोलामा २८ करोड ६२ लाख, ३७ मेगावाटको त्रिशूली बी मा ३७ करोड ८० लाख, ८६ मेगावाटको सोलुखोला दुधकोसीमा ५४ करोड ९२ लाख र २८.१ मेगावाटको तल्लो लिखुमा ९ करोड ३२ लाख रुपैयाँ ऋण लगानी स्वीकृत गरेको छ।

ad
ad