काठमाडौंको वनस्थली ढुंगेधारामा बसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ।
बालाजुबाट कलंकीतर्फ जाँदै गरेको ना.५ख ५०९२ नम्बरको गोरखा दरौँदी यातायात कम्पनी प्रालिको बसले आज बिहान विपरीत दिशाबाट आउँदै गरेको प्रदेश०२–०३७प ०७५५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका घर हुने ३२ वर्षीया अनिता थापा र वतन नखुलेका ३२ वर्षीय रामकुमार भारती छन्। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगेलले दुर्घटनामा गम्भीर घाइते दुवैजनाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको जानकारी दिए।
दुर्घटनामा नौ वर्षीया बालिका अनिशा थापा घाइते भएकी छिन्। टाउकोमा चोट लागेर घाइते भएकी थापाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ।दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता ढुंगेलले बताए।