Skip This
भारतीय नेताले काठमाडौं र धरानमा किनेको घरजग्गा सरकारद्वारा जफत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३१ बुधबार
  • Saturday, 27 July, 2024
कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले जफत गरेको जोरपाटीस्थित निरञ्जन होजाईको घर ।
नवराज मैनाली काठमाडाैं
२o८o श्रावण ३१ बुधबार o६:o८:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भारतीय नेताले काठमाडौं र धरानमा किनेको घरजग्गा सरकारद्वारा जफत

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण ३१ बुधबार o६:o८:oo

होजाईले नेपालमा निर्मल राईको नाममा नागरिकता लिएर आतंकवादसम्बन्धी गतिविधिको अवैध पैसा ल्याएर काठमाडौंको जोरपाटी र धरानमा घरजग्गा किनेका थिए, जसमध्ये जोरपाटीको घर सरकारले जफत गरेको छ ।

एक भारतीय नेताले आपराधिक गतिविधिबाट आर्जन गरेको सम्पत्तिबाट काठमाडौंमा खरिद गरेको घरजग्गा सरकारले जफत गरेको छ । विगतमा आतंकवादी गतिविधिमा संलग्न भारतको असाम राज्यका निरञ्जन होजाईले नेपाली महिलाको नाममा काठमाडौंको जोरपाटीमा किनेको १२ आना जग्गा र त्यसमा बनेको घर जफत गरिएको हो । होजाईले नेपाली महिला सरिता गिरीसँग बिहे गरी उनको नाममा सम्पत्ति लुकाएका थिए । 

गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले होजाईको घरजग्गा जफत गरेको हो । घरजग्गा खाली गरिसकिएको र अब लिलामीबाट बिक्री गरिने विभागका महानिर्देशक फणीन्द्रमणि पोखरेलले बताए । ‘सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले सो घरजग्गा जफत गर्ने फैसला गरेकोमा त्यसलाई हामीले कार्यान्वयन गरेका हौँ,’ उनले भने, ‘निरञ्जन होजाईसँग विवाह गरेकी सरिता गिरी सो घरमा बस्दै आएकोमा हामीले खाली गराएर सुरक्षाका लागि प्रहरी खटाएका छौँ ।’ 

होजाईले नेपालमा निर्मल राईको नाममा नागरिकता लिई आफ्नो पहिचान लुकाएर आतंकवादसम्बन्धी गतिविधिको पैसा ल्याएका थिए । सिन्धुपाल्चोककी सरितासँग बिहे गरी उनी र उनको परिवारको नाममा सम्पत्ति लुकाएको अनुसन्धानमा भेटिएपछि मुद्दा दायर भएको थियो । सरिता ०६९ सालमा पक्राउ परेकी थिइन् । उनको परिवारैविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषले १९ पुस ०७० मै दोषी ठहर गरी सम्पत्ति जफत गर्ने फैसला गरेको थियो । जुन फैसला बल्ल कार्यान्वयन भएको हो । 

भारतीय नागरिक होजाई पनि १३ वर्षअघि नेपालमै पक्राउ परेका थिए । ०६८ को असारमा प्रहरीले उनलाई पक्राउ गरी भारतलाई बुझाएको थियो । नेपालमा मुद्दा हुँदाहुँदै त्यसतर्फ अनुसन्धान गरी गोप्य रूपमा उनको सुपुर्दगी भएको थियो । 

भारतमा नेसनल इन्भेस्टिगेसन एजेन्सी (एनआइए)ले होजाईविरुद्ध मुद्दा दायर गरेको थियो । राज्यकोषको करोडौँ रकम राज्यविरुद्ध नै युद्ध लड्न भन्दै दुरुपयोग गरेको अभियोगमा सन् २०१७ मा उनी दोषी ठहर भएका थिए । त्यसअघि नै जेलबाट छुटिसकेका उनी भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरी राजनीति गरिरहेका छन् । सन् २०१५ मा उनी असामको नर्थ कचार हिल्स स्वायत्त परिषद्को प्रमुख प्रशासकमा भाजपाबाट निर्वाचित भएका थिए । उनको विद्रोही समूह विघटन भइसकेको छ । 

डिमा हलाम डाओगा नामक सशस्त्र समूह स्थापना गरी होजाईले हिंसात्मक गतिविधि गरेका थिए । भारतमा मोस्टवान्टेड भएपछि नेपालमा आई नागरिकता र पासपोर्ट बनाएर सिंगापुर, मलेलियालगायत देश आउने–जाने गरेको पत्ता लागेको थियो । भारतीय अधिकारीकै सूचनाका आधारमा नेपालले उनलाई पक्राउ गरी सुपुर्दगी गरेको थियो । हाल उनी भाजपा नेताका रूपमा असाममा राजनीतिक गर्दै आएका छन् । नेपालको कानुनमा भने उनी फरार अभियुक्त छन् । अदालतले उनलाई चार वर्ष कैद र आठ करोड ६३ लाख ४७ हजार चार सय ४७ जरिवाना गरेको छ । 

होजाईले धरान उपमहानगर– ८ मा पनि एक घर खरिद गरेका थिए । सो घर पनि जफत गर्ने प्रक्रिया कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले अघि बढाएको छ । गाडी र बैंक खातामा रहेको रकम पहिला नै जफत भइसकेको छ ।

सडकबाट एकाएक महलमा पुगेकी सरिता फेरि सडकमा 
सिन्धुपाल्चोककी सरिता गिरी ठमेलको एक रेस्टुरेन्टमा काम गर्थिन् । ०६५ सालमा त्यहीँ उनको ग्राहकका रूपमा आएका भारतीय नागरिक निरञ्जन होजाईसँग भेट हुन्छ । ग्राहकसँगको प्रेम बिहेमा परिणत हुन्छ ।

उनीहरूले काठमाडौंको हायात होटेलमा हनिमुन मनाउँछन् । रेस्टुरेन्टकी एक सामान्य कर्मचारी सरिता रातारात करोडपति हुन्छिन् । होजाईले आपराधिक गतिविधिबाट कमाएको करोडौँ सम्पत्तिले सरिताको नाममा घर खरिद गरेका थिए । घरदेखि प्राडो जिपसमेत उनीसँग थियो । सरिताका परिवारका नाममा समेत होजाईले गाडी र अन्य सम्पत्ति किनेका थिए । तर, यो खुसी लामो समय टिकेन । 

जब ०६७ मा सरिताको एभरेस्ट बैंकमा रहेको खातामा सिंगापुरबाट दुई लाख डलर आउँछ, त्यसपछि उनको ओरालो यात्रा सुरु हुन्छ । त्यो पैसा आपराधिक कारोबारको थियो । आफूलाई धरानको निर्मल राई भनेर चिनाउँदै आएका उनका श्रीमान् भारतीय प्रहरीले मोस्टवान्डेड सूचीमा राखेको भारतमा सशस्त्र गतिविधि गर्दै आएका निरञ्जन होजाई भन्ने खुल्छ ।

सुरुमा अनुसन्धानका लागि उनको सबै सम्पत्ति रोक्का गरियो भने हाल जफत प्रक्रिया अघि बढेको छ । अनुसन्धानको समयमा सरिताको बैंक खातामा एक करोड ५९ लाख ८० हजार रुपैयाँ बरामद भएको थियो ।

सामान्य व्यक्तिबाट रातारात करोडपछि बनेकी सरिता यतिवेला फेरि सडकमा झरेकी छिन् । उनले बुबा रामचन्द्र गिरी, आमा सेती गिरी, दाइ राजु गिरी तथा भाउजू सीता गिरीको नाममा समेत सम्पत्ति राखेकी थिइन् । जसका आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूविरुद्ध समेत मुद्दा दायर गरेको थियो । सम्पत्ति जफत भए पनि उनीहरूले मुद्दाबाट भने सफाइ पाएका छन् ।