
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको विषयमा एक–दुई दिनभित्रै प्रहरीले निर्णय गर्ने बताएका छन्।
मंगलबार बालुवाटारमा सम्पादकहरूसँग कुरा गर्दै उनले इलेक्ट्रिक सिगरेट (भेप)मा भएको सुन तस्करीमा नाम जोडिएका महराको विषयमा छानबिन भइरहेको बताएका हुन्।
‘महराजीको विषयमा जति पनि प्रश्न उठेका छन्। ती प्रश्नको विषयमा एक-दुई दिनभित्रै प्रहरीले निर्णय लिन्छ। उहाँको संलग्नता देखिएको हो भने प्रतिवादी बनाउँछ,’ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले भने।
छलफलका क्रममा प्रधानमन्त्रीले निरन्तर संसद् अवरोध गरेर एमालेले पुरानै धङधङी देखाएको टिप्पणी गरे। उनले भने, ‘संसद् विघटन गर्ने पुरानै मानसिकताको उपज हो जस्तो लागेको छ। यता सहमति गर्ने, उता गएर अवरोध गर्ने। पुरानै धङधङी देखिएको छ।’