एभरेष्ट बैंकले नेपालमा पहिलोपटक ‘अफलाइन भुक्तानी’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले फोन पे नेपालसँगको सहकार्यमा बैंकका सम्पूर्ण ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपबाट उपभोग गर्न सक्ने सेवा सुरु गरेको हो ।
यो सेवाअन्तर्गत ग्राहकले इन्टरनेट वा डाटा कनेक्टिभिटी नहुँदा पनि सजिलै भुक्तानी सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सेवाको बैंकका नायब महाप्रबन्धक आशुतोष शर्मा र फोन पे नेपालका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि बैंकका नायब महाप्रबन्धक शर्माले अफलाइन भुक्तानी सुविधाले ग्राहक सुविधा र ग्राहककेन्द्रित नयाँ ऊर्जा थप्नुका साथै नेपाली बैंकिङ भविष्यलाई समेत नयाँ आकार दिएको बताए । फोन पेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले यस सुविधाबाट इन्टरनेटका सीमालाई पार गरी आधुनिक बैंकिङमा नयाँ आयाम थपिने बताए ।
हाल यो सुविधा एनएफसी प्रविधि भएका एन्ड्रोइड फोनहरूमा मात्रै उपलब्ध हुने जनाइएको छ । यस सेवालाई ग्राहकले आफ्नो एपमा सेट गरी आफ्नो स्मार्ट फोनलाई व्यापारीको स्मार्ट फोनमा ‘ट्याप’ गरी सजिलै भुक्तानी प्रक्रिया पूरा हुने बैंकले जनाएको छ । व्यापारी तथा व्यवसायीले आफूसँग भएको ‘फोन पे बिजनेस एप’बाट भुक्तानी स्वीकार गर्न सक्ने जनाइएको छ ।
हाल बैंकले देशभरमा एक सय २७ शाखा, तीन एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, एक सय ६२ एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ ।