मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २६ शुक्रबार
  • Wednesday, 15 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २६ शुक्रबार o८:२३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जातीय भावना भड्कियो भने देशको अस्तित्व सकिन्छ : ओली 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २६ शुक्रबार o८:२३:oo

एमाले अध्यक्ष केपी ओलीले जातीय पहिचानको ‘सेन्टिमेन्ट’ फैलाएर नेपालजस्तो बहुजातीय मुलुकमा विद्वेष, घृणा र फाटो ल्याउन चाहने तत्व सफल भए देशकै अस्तित्व समाप्त हुने बताएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले बिहीबार आयोजना गरेको कार्यक्रममा ओलीले त्यस्तो बताएका हुन् ।

‘यदि कुनै पनि हिसाबले हामीलाई जातको आधारमा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर विद्वेष, घृणा र फाटो ल्याउनेहरूको योजना सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ । त्यति वेला देश जोगाउन सकिँदैन,’ महासंघमा सम्बद्ध नेता–कार्यकर्ताको ध्यानाकर्षण गराउँदै ओलीले भने, ‘हाम्रो देशको विविधता यथार्थ हो । सामाजिक सद्भाव र एकताले मात्र एकताबद्ध, सद्भावयुक्त, आधुनिक, समृद्ध नेपाल र सुखी नेपाली बनाउन सक्छौँ ।’ 

ओलीले जातीय पहिचानको मुद्दालाई विकृत रूपमा नभएर असमानता र विभेदको अन्त्य गर्ने सकारात्मक मुद्दाका रूपमा लिनुपर्नेमा पनि जोड दिए । ‘पहिचानलाई विकृत रूपमा लिनुहुँदैन, यसलाई सकारात्मक ढंगले लिनुपर्छ । पहिचान देशको हितका लागि हो । देशमा समस्या खडा गर्न पहिचानको मुद्दा हो र ?’ ओलीले भने, ‘पहिचानको मुद्दा समस्या समाधानका लागि हो, समानताका लागि, सद्भावका लागि हो । विभेदका लागि, असमानताका लागि, विद्वेषका लागि घृणा बढाउन होइन, मित्रता बढाउन, प्रेम फैलाउनका लागि हो ।’ 

विविधतायुक्त समाजमा समानता आवश्यक रहेको र सबैले समान अवसर पाउनुपर्ने मान्यतालाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने दिशामा अघि बढ्न पनि ओलीले अपिल गरे । सामाजिक न्याय र समानता आदिवासी जनजातिको मात्रै नभएर सबै नेपालीको साझा मुद्दा भएको भन्दै त्यसलाई गलत अर्थमा प्रयोग गर्न नहुने उनको भनाइ थियो । 

‘असमानताको अन्त्य हुनुपर्छ, विविधताको सम्मान हुनुपर्छ । विविधता हाम्रो सम्पत्ति हो । त्यसलाई कलहको विषय बनाइनुहुँदैन । पारस्परिक सम्मान र सहयोगको विषय बनाइनुपर्छ,’ ओलीले भने, ‘हामीले धर्मनिरपेक्ष किन बनायौँ, राज्य भनेको जातिविशेषको मात्र होइन, सम्पूर्ण नेपाली राज्यको हो । एउटा नश्ल, जाति, भूगोलविशेषको होइन । राज्यले सबैलाई समान रूपमा सेवा दिनुपर्छ । राज्य एउटा कुनै धर्म, जातविशेषको होइन ।’ सबैको साझा पहिचान स्थापित गर्दै राष्ट्रिय एकता बलियो बनाउनकै लागि एमालेको पहल र अगुवाइमा प्रदेशहरूको नाम भौगोलिक, नदीनाला, संस्कृतिको नाममा राखिएको पनि ओलीले प्रस्ट्याए । 

‘यसमा कसैलाई हेप्ने, थिचोमिचो गर्ने प्रश्नै उठ्दैन । सबैका लागि साझा ढंगले चलेका छौँ । एमालेले जहिल्यै पनि समान हक अधिकारका लागि लडेको छ, राष्ट्रिय एकताको पक्षमा उभिएको छ । यसमा गर्व गर्नुपर्छ,’ ओलीले भने । उपाध्यक्ष सुवास नेम्वाङले एमाले आदिवासी र जनतजातिको पक्षको पार्टी भएको बताए । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा एमालेको नेतृत्वमा भएको पनि उनले दाबी गरे ।