मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २५ बिहीबार
  • Thursday, 19 December, 2024
जिल्ला अस्पतालमा छोराको शव हेर्न आएकी खिलामाया तोलाङ्गी
नवीन गुरुङ संखुवासभा
२o८o श्रावण २५ बिहीबार १७:३२:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभा कारागारमा कैदी मृत्यु प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै आफन्तले बुझेनन् शव

Read Time : > 2 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८o श्रावण २५ बिहीबार १७:३२:oo

जिल्ला कारागार संखुवासभामा सुरक्षा घेराभित्रै दुईजना कैदीको शंकास्पद मृत्यु भएपछि विवाद चुलिएको छ। बुधबार बिहान कारागारभित्र आकाश बलामी र विनोद तोलाङ्गीको मृत्यु भएपछि उनीहरूका आफन्तले निष्पक्ष छानबिनको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन्।

मंगलबार राति कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरूलाई प्रहरी र कारागार प्रशासनले बुधबार बिहान २ बजे नियन्त्रणमा लिएको थियो। नियन्त्रणपछि कारागारभित्रै राखिएका उनीहरू अन्य कैदीबन्दीको कुटपिटबाट अचेत भएका र जिल्ला अस्पताल ल्याउने क्रममा एकजनाको बाटोमै र अर्का एकजनाको अस्पतालमा मृत्यु भएको थियो।

घटनाको सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने मृतक विनोदका काका कृष्ण तोलाङ्गीले बताए। उनले गाउँमा फटाहीँ गर्‍यो भनेर सुधार्नका लागि प्रहरीको जिम्मा लगाएको आफ्नो भतिजो छोराको कारागारभित्र नै मृत्यु भएपछि आफू अचम्ममा परेको बताए। ‘नागरिकको सुरक्षामा खटिएका प्रहरीबाट नै सुरक्षा घेराभित्रका मानिसको मृत्यु हुन्छ भने अब कसको विश्वास गर्ने?’ तोलाङ्गीको प्रश्न छ।

मृतककी कान्छी दिदी भीमा रम्तेलले कारागारभित्र भएको घटना शंकास्पद भएको दाबी गर्दै प्रहरीले नै मारेको आरोप लगाएकी छिन्। मृतकको शरीरभरि निलडाम रहेको र विभत्स रूपमा हत्या गरिएको आफन्तको आरोप छ।

त्यसैगरी, मादी नगरपालिकाकी उपमेयर सुनितादेवी भट्टराईले निष्पक्ष छानबिन नभए मादी नगरपालिका र संखुवासभाका जनताले प्रशासन र प्रहरी घेराउ गर्ने चेतावनी दिइन्।

सरकारका तीनवटा समिति गठन :
कारागारमा कैदीको मृत्यु भएपछि सरकारी तहबाट तीनवटा समिति बनेको छ। केन्द्रमा कारागार विभागका महानिर्देशक कमलप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय समिति बनेको छ भने कोसी प्रदेशमा प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बाँस्तोलाको संयोजकत्वमा ५ सदस्यीय समिति बनेको छ।

संखुवासभामा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा ३ सदस्यीय समिति बनेको छ। जिल्लास्थित समितिमा जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनाल र जिल्ला प्रशासन कार्यालय मुद्दा फाँटका नायब सुब्बा तारणी घिमिरे सदस्य रहेका छन्।

राजनीतिक दलद्वारा कार्यदल गठन
संखुवासभामा क्रियाशील रहेका सात राजनीतिक दलहरूले निष्पक्ष छानबिनमा सहयोग पुर्‍याउने भन्दै कार्यदल गठन गरेका छन्। बिहीबार खाँदबारीमा पत्रकार सम्मेलन आयोजना गरी पीडितले न्याय पाउनुपर्ने भन्दै सातसदस्यीय कार्यदल गठन गरेको जानकारी दिइएको हो।

नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्य दीपक खड्काले सुरक्षा घेराभित्र रहेको कैदीको मृत्यु हुनु गम्भीर अवस्था सिर्जना भएको भन्दै उचित न्याय पाउने गरी छानबिन हुनपर्ने बताए। एकीकृत समाजवादीका केन्द्रीय सदस्य हेमराज घिमिरेको संयोजकत्वमा गठित कार्यदलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा र जसपाका एक/एक प्रतिनिधि छन्।

घटनापछि कैदीहरूको आन्दोनल, नौजना नियन्त्रणमा
कारागामा दुईजनाको मृत्यु भएपछि कारागारभित्र कैदीहरूले आन्दोलन गरेका छन्। तीमध्ये ९ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा सारिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।

खाँदबारी कारागार २५ जना क्षमताको हो। तर, विभिन्न मुद्दाका ८ महिलासहित १३६ कैदीकन्दी राखिएको छ। मृतक आकाश बलामी चोरी मुद्दामा सजाय भोगिरहेका थिए। उनी नुवाकोटको ककनी गाउँपालिका– ७ का हुन्। उनलाई तीन वर्ष कैद सजाय तोकिएको थियो। अर्का मृतक विनोद तोलाङ्गीलाई जबर्जस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएको थियो। उनी संखुवासभा मादी नगरपालिका– ५ का हुन्। उनीहरू दुवैजना एक वर्षदेखि सजाय भुक्तान गरिरहेका थिए।

एक दिनपछि मात्र उजुरी दर्ता
भाग्ने क्रममा समातिएपछि प्रहरीले हत्कडी लगाएर, कपडा खोलेर कुटपिट गरेको कारागारवरपरका स्थानीयहरूको भनाइ छ। उनीहरूले रातभरि कुटपिट गरेको, तर बिहान मृत्यु भयो भन्दा छक्क परेको बताएका छन्। मृतकका आफन्तले प्रहरीले कुटेर मारेको र बिहान बहाना बनाउन मात्रै अस्पताल लगिएको आरोप लगाएका छन्।

कारागारको सुरक्षा घेराभित्र कैदीको मृत्यु हुनुले घटनाबारे थप आंशका उब्जिएको छ। मृतकका आफन्तहरूले कर्तव्य ज्यान मुद्दामा प्रहरी र कारागार प्रशासनविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउन खोजे पनि उजुरी दर्ता गरिएन।

बुधबार मृतकका आफन्त उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पुगे पनि प्रहरीले दर्ता नै गरेन। बिहीबार दिउँसो करिब २ बजेतिर ‘कारागार प्रशासनविरुद्ध’ भनेर उजुरी सच्चाएपछि मात्रै कर्तव्य ज्यान मुद्दामा उजुरी दर्ता भएको मृतकका काका कृष्ण तोलाङ्गीले बताए। उनले प्रहरीको गतिविधि शंकास्पद रहेको र आफ्नो विरुद्ध उजुरी नै नलिएको आरोप लगाए।

कारागारको सिसिक्यामेरा फुटेज सार्वजनिक गर्न माग
जिल्ला कारागारमा रहेको सिसिक्यामेरा फुटेजबाट वास्तविकता खुल्न सक्ने भएकाले सो फुटेज सार्वजनिक गर्नुपर्ने स्थानीय र राजनीतिक दलहरूले माग गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा सो फुटेज सार्वजनिक गर्न माग उठेको हो।

प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले कारागारभित्रको सिसिक्यामेरा फुटेज अहिले अनुसन्धानको चरणमा रहेको बताउँदै आवश्यकताअनुसार सार्वजनिक गर्ने बताएका छन्।