सहुलियतमा कम्पोस्ट बिन बिक्री, छुट्याएर फोहोर संकलन गर्न अझै समय लाग्ने
काठमाडौं महानगरले एक वर्षअघि कुहिने र नकुहिने फोहोर वर्गीकरण गरे मात्रै संकलन गर्ने घोषणा गरेको थियो । गत वर्षको १ साउनदेखि नै यो घोषणा कार्यान्वयनको चरणमा लैजाने भनिए पनि महानगरले बिर्सिएको थियो । उक्त घोषणा कागजमै सीमित बनेको थियो ।
रविनमान श्रेष्ठ, प्रमुख वातावरण विभाग, काठमाडौं महानगर
एक वर्षअघि घोषणा भएको अभियानलाई निरन्तरता दिने गरी १५ सय रुपैयाँमै कम्पोस्ट बिन उपलब्ध गराउन लागेका हौँ । बिन वितरणपछि कुहिने फोहोर उपभोक्ताको घरबाटै छुट्टिएर बाहिर आउँछ । यस्तो फोहोरलाई मल बनाएर वृक्षरोपणका क्रममा प्रयोग गर्छौँ । उपभोक्ताले बिहान १० देखि ३ बजेसम्म वातावरण विभागमा सम्पर्क गरेर बिन लैजान सक्छन् ।
यसैबीच, महानगरले गत आइतबार उक्त घोषणालाई सहयोग गर्ने भन्दै सहुलियमा कम्पोस्ट बिन वितरण गर्ने सूचना जारी गर्यो । चार हजार मूल्य पर्ने उक्त बिन १५ सयमै उपलब्ध गराउने गरी सूचना जारी गरेको छ । बिन वितरणलाई एक वर्षअघि नै घोषणा गरेको ‘फोहोर वर्गीकरण अभियान’को थालनीका रूपमा लिएको छ ।
महानगरअन्तर्गत वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठका अनुसार एक वर्षअघि घोषणा भएको सोही अभियानलाई निरन्तरता दिने गरी १५ सयमै बिन उपलब्ध गराउन लागिएको हो । उनले भने, ‘बिन वितरणपछि कुहिने फोहोर उपभोक्ताको घरबाटै छुट्टिएर बाहिर आउँछ । बिहान १० देखि ३ बजेसम्म वातावरण विभागमा सम्पर्क गरेर महानगरवासीले चाहिएजति बिन लैजान सक्छन् ।’
बिनको मल वृक्षरोपणमा प्रयोग गर्ने
कम्पोस्ट बिन वितरणसँगै महानगरले सहरका प्रत्येक चोक र बसपार्कमा फोहोर छुट्याउने भाँडा (सेग्रिगेसन बिन) राख्ने भएको छ । थप बिन खरिदका लागि टेन्डरसमेत आह्वान गरेको छ । यसलाई पनि महानगरले अभियानकै रूपमा लिएको छ । भदौदेखि नै चोक र बसपार्कमा फोहोर छुट्याउने भाँडा राख्नेछ ।
‘फोहोर छुट्याउने अभियानका लागि माहोल बनाउन चोक र बसपार्कमा सेग्रिगेसन बिन राख्ने भएका छौँ । जुन आगामी महिनादेखि नै लागू हुनेछ,’ विभाग प्रमुख श्रेष्ठले भने । बिनमा जम्मा भएको कुहिने फोहोरलाई महानगरले टेकुस्थित ट्रान्सफर स्टेसनमा कम्पोस्ट मल बनाउनेछ । उक्त मललाई महानगरले विभिन्न ठाउँमा गरिएको वृक्षरोपणमा प्रयोग गर्नेछ ।’
निर्णयबाट यसकारण पछि हट्यो महानगर
महानगरले वैशाख ०७९ मा जारी गरेको सूचनामा १ साउनदेखि महानगरवासीले स्रोतमै फोहोर वर्गीकरण गर्नुपर्ने उल्लेख थियो । वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन ०७७ र फोहोरमैला व्यवस्थापन ऐन ०६८ को हवाला दिँदै स्रोतमै फोहोर पृथकीकरण गर्न आग्रह गरेको थियो । घर वा कार्यालयमै फोहोर नछुट्याए वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन ०७७ र फोहोरमैला व्यवस्थापन ऐन ०६८ अनुसार कसुर मानी प्रत्येकपटक पाँच सय रुपैयाँ जरिवाना गर्ने जनाएको थियो । तर, सूचना जारी गरेर कडाइका साथ फोहोर छुट्याउन प्राथमिकता नदिँदा उक्त निर्णय अझै लागू हुन सकेको छैन । ‘घरबाटै छुट्टिएको फोहोर उठाउन हामी आफैँ पनि तयार हुनुपर्यो । वर्गीकरण गरिएको फोहोर राख्न हामीसँग संरचना पनि छैनन् । संरचना निर्माणका केही ठाउँमा हेरेका थियौँ । तर, के गर्ने भन्ने विषयमा अझै निक्र्योल हुन सकेको छैन । केन्द्र सरकारलाई पनि भनेका छौँ,’ प्रमुख श्रेष्ठले भने ।
महानगरले स्रोतमै फोहोर छुट्याउने सूचना जारी गरे पनि लागू नगर्दा फोहोरमैला व्यवस्थापन संघ नेपालले पनि मिश्रित फोहोर संकलन गरिरहेको छ । महानगरको सूचनापछि तीनवटा वडामा फोहोर वर्गीकरण गरेर उठाउन थालिएको थियो । तर, ती फोहोर राख्ने ठाउँ महानगरले उपलब्ध गराउन नसक्दा थप अन्य वडामा उक्त अभियान सञ्चालन भएन । संघका अनुसार महानगरका वडा नम्बर ४, ७ र १५ मा फोहोर छुट्याएर संकलन भइरहेको छ । संघले वडा नम्बर १, २, ३, ५, ६, ८, ९, १०, ११, १३, १४, १६, १७, २६, २८, २९, ३०, २२, ३१ र ३२ वडामा पनि फोहोर वर्गीकरणको तयारी गरे पनि उक्त योजना अगाडि बढ्न सकेको छैन । महानगरका अनुसार हाल बन्चरेडाँडा ल्यान्डफिल साइट र पोस्ट क्लोजिङको काम गर्नुपर्ने सिसडोलमै वर्गीकरण गरिएको फोहोर व्यवस्थापनका लागि गृहकार्य भइरहेको छ ।