
सांसद एवं प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदीय समितिको पूर्णताको माग गरेका छन्।
संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा एमाले सचिव भट्टराईले संसदीय समितिले पूर्णता नपाएसम्म एमाले समितिका आगामी बैठकमा सहभागी नहुने स्पष्ट पारे।
संसदीय प्रक्रियाअनुसार संसद् र समितिहरू चल्न नसकेको भन्दै उनले गठबन्धनका कारण समितिहरूले पूर्णता पाउन नसकेको दाबी गरे।
‘सत्तारूढ गठबन्धनका कारण सिर्जना भएको समस्याको भारी प्रतिपक्षले बोक्न चाहन्न,’ उनले भने, ‘संसदीय प्रक्रियाअनुसार समितिले पूर्णता नपाए सम्भवतः हामी समितिका यसपछिका कुनै पनि बैठकमा उपस्थित हुँदैनौँ। सभापतिलाई यसबारे अग्रिम जानकारी गराउन चाहन्छौँ।’
संसद् प्रभावकारी रूपमा चल्न नसक्दा मुलुकको राष्ट्रिय एकताको प्रतीक संसद् र संविधान बन्न नसकेको उनले जिकिर गरे। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले पनि संसदीय समितिहरूले चाँडो पूर्णता पाउनुपर्ने बताए।
ज्येष्ठ सदस्यका रूपमा समितिको सभापतित्व गरिरहेका अर्जुननरसिंह केसीले यस विषयमा समितिको गम्भीर ध्यानाकर्षण भएको बताए।
समितिको आजको बैठकले सार्वजनिक लेखा समिति सञ्चालन कार्यविधि, २०८० पारित गरेको छ। उक्त कार्यविधिको मस्यौदामाथिको छलफल पनि समितिको आजको बैठकमा चलेको थियो। कार्यविधि मस्यौदा तयार पार्नका लागि समिति सदस्य राजन केसी संयोजकत्वमा एक उपसमितिले बनाइएको छ।