मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १३ शनिबार
  • Thursday, 19 December, 2024
२o८o श्रावण १३ शनिबार १८:४३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विपतबाट बाँकेका एक लाख ५० हजार व्यक्ति प्रभावित हुने पूर्वानुमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १३ शनिबार १८:४३:oo

बाढी र अन्य विपदबाट बाँकेका २५ हजार घरधुरी प्रभावित हुने पूर्वानुमान गरिएको छ। वि.सं २०८० मा बाढी, आगलागी, भूकम्प, शीतलहरजस्ता विपदबाट २५ हजार घरधुरीका एक लाख ५० हजार जना प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए।

उनले विपदबाट पाँच हजार घरधुरीमा पूर्ण क्षति हुने र २० हजार घरधुरीमा आंशिक क्षति हुने पूर्वानुमान गरिएको बताए। ‘विपदबाट सय जना घाइते तथा अस्थायी र स्थायी रूपमा पाँच/पाँच हजार परिवार विस्थापित हुने अनुमान छ,’ केसीले भने।

पिउने पानीका स्रोतहरू प्रदूषित हुने बताउँदै उनले सरुवा राेगहरू फैलिन सक्ने र यातायात, विद्युत् आपूर्ति, सञ्चार सेवा अवरुद्ध हुन सक्ने बताए। ‘यस वर्ष विपतबाट ६ हजार मेट्रिक टन खाद्यान्न क्षति हुने र १० हजार मेट्रिक टन अन्नबालीमा क्षति, पाँच हजार हेक्टर खेतीयोग्य जमिनमा क्षति तथा पाँच हेक्टर घाँसबाली क्षति हुन सक्ने पूर्वानुमान छ,’ केसीले भने।

बाँकेका सबै पालिका बाढीको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। समितिले तयार पारेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना ०८० मा नेपालगन्ज उपमहानगरपालिकाको १९ र २० वडाका पाँच सय १० घरधुरीका दुई हजार पाँच सय ७० जना प्रभावित हुने अनुमान गरिएको छ।

त्यसैगरी, कोहलपुर नगरपालिकाको २, ५, ६, ८, ९, १२ र १३ वडालाई बाढीको उच्च जोखिम क्षेत्रको रूपमा राखिएको छ। यी वडाका दुई हजार ३४ घरधुरीका आठ हजार आठ सय ९२ जनसंख्या बाढीको जोखिममा रहेको सहायक प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए। उनले नरैनापुर गाउँपालिकाका ६ वटै वडा बाढीको जोखिममा रहेको बताउँदै तीन सय ९१ घरधुरीका दुई हजार तीन सय ९४ जना प्रभावित हुने अनुमान गरिएको जानकारी दिए।

बाढीबाट धेरै क्षति हुने पालिकामा राप्तीसोनारी गाउँपालिकालाई पनि राखिएको छ। त्यहाँको ९ वटै वडा बाढीको उच्च जोखिममा रहेका छन्। जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाका अनुसार चालू आर्थिक वर्षमा उक्त पालिकाका तीन हजार दुई सय ७९ घरधुरीका १७ हजार ६ सय ९५ जनसंख्या प्रभावित हुने सम्भावना औँल्याइएको छ।

डुडुवा गाउँपालिका बाढीको सबैभन्दा उच्च जोखिममा रहेको आकलन गरिएको छ। उक्त पालिकाका ६ वटै वडाका तीन हजार ६ सय ८२ घरधुरीका १९ हजार आठ सय ५२ जना प्रभावित हुने पूर्वानुमान गरिएको केसीको भनाइ छ।

‘खजुरा गाउँपालिकाका एक हजार चार सय ९५ घरधुरीका चार हजार सात सय ८० जनसंख्या र जानकी गाउँपालिकाका तीन सय २६ परिवारका दुई हजार तीन सय १८ जना प्रभावित हुने पूर्वानुमान छ,’ सहायक प्रजिअ केसीले भने।

जिल्लाका १९ स्थानमा हेलिप्याड निर्माण
जिल्ला विपद् व्यवस्थापन समितिले विपद्का वेला उद्धार र राहतका लागि योजना बनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी केसीका अनुसार नेपालगन्जको चार बाहिनी, राँझा विमानस्थल, कोहलपुर नगरपालिका– ११ दश बिघा, नरैनापुर गाउँपालिका– १ कट्कुइयाँ, नरैनापुर गाउँपालिका– ५ नयाँबस्ती, मटैह्या, गंगापुर र सुइयामा हेलिप्याड निर्माण गरिएको छ।

त्यसैगरी, राप्तिसोनारी गाउँपालिका २ अगैया, राप्तीसोनारी गाउँपालिका १ सिक्टा, वडा नं. ३ बैजापुर, टिकुलीपुर, फत्तेपुर र जानकी गाउँपालिका १ साइगाउँ तथा खजुरा गाउँपालिका सीतापुर, बैजनाथ गाउँपालिका ५ बनकटुवा, डुडुवा गाउँपालिका १ होलिया, मदनापुर र कम्दीमा हेलिप्याड निर्माण गरिएको छ।

खुला र आश्रयस्थलको पहिचानसमेत गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका फोकल पर्सन रूपन ज्ञवालीले बताए। उनले तत्काल राख्न सक्ने स्थलको पहिचान गरिएको बताए। ‘कुन पालिकाका बाढी पीडितलाई तत्काल राख्न सकिने ठाउँको पहिचान गरि राख्ने व्यवस्था मिलाइएको छ,’ उनले भने।