हरेक गर्मीयाममा यौनिक एवं लैंगिक अल्पसंख्यकको समावेशीकरण, विविधता र मानव अधिकारको पैरवी गर्न विश्वव्यापी रूपमा गौरव उत्सव मनाइन्छ । यौनिक एवं लैंगिक अल्पसंख्यक समुदायविरुद्ध प्रतिक्रिया बढेसँगै विभेदविरुद्ध लड्न गौरव उत्सव थप महत्वपूर्ण बनेको छ । हालैका महिनामा यौनिक एवं लैंगिक अल्पसंख्यकविरुद्ध क्यानडा र अमेरिकाका केही मुसलमान समुदायका मानिसले पनि विरोध गरेका छन् ।
सामाजिक रूपले पुरातनपन्थी मुसलमानले विद्यालय र समग्र समाजमा बढ्दो यौनिक एवं लैंगिक अल्पसंख्यकको ‘वशीकरण’ गरिरहेका छन् भनेर चिन्ता व्यक्त गरेका छन् । अमेरिकाको मिसिगनमा मुसलमान बाहुल्य भएका नगरपरिषद्ले सहरको सार्वजनिक सम्पत्तिमा गौरव झन्डा प्रदर्शनमा रोक लगाएको छ । यस्ता कैयौँ यौनिक एवं लैंगिक अल्पसंख्यकविरोधी गतिविधि भएका छन् ।
इसाई गर्भपतनविरोधी समूह ‘क्याम्पियन लाइफ कोअलेसन’ नामक अभियानले क्याथोलिक स्कुल क्यानडाका विद्यालयमा गौरव उत्सवलाई लक्षित गर्दै राष्ट्रिय झन्डाको परेड आयोजना गरेर गौरव झन्डाको बहिष्कार गरेको थियो । इसाई कट्टरपन्थीहरू बृहत् स्रोत–साधनसाथ युगान्डामा यौनिक एवं लैंगिक अल्पसंख्यकविरोधी कानुन बनाउन सफल भएका छन् । त्यसैगरी, क्यानडाका पुरातनपन्थी धार्मिक समूहले ‘अभिभावकको मत’का नाममा यौनिक एवं लैंगिक अल्पसंख्यकविरोधी मञ्चलाई प्रवर्धन गर्ने उम्मेदवार जिताएर विद्यालय बोर्डमा नियन्त्रण गर्ने लक्ष्य राखिरहेका छन् । यस समूहको यौनिक एवं लैंगिक अल्पसंख्यकविरोधी अधिकारविरुद्धको वर्तमान कार्यनीति अनिता ब्रायन्टजस्ता ऐतिहासिक व्यक्तित्वसँग मिल्दोजुल्दो छ ।
इस्लामिक न्यायशास्त्रले विविध लैंगिक पहिचानलाई स्वीकार गर्छ, जुन ऐतिहासिक उदाहरणद्वारा पनि प्रमाणित हुन्छ
ब्रायन्टले सन् १९७० को दशकमा समलिंगी अधिकारमा रोक लगाउन ‘सेभ आवर चिल्ड्रेन’ अभियानको नेतृत्व गरेकी थिइन् । यस अभियानले पुरुष र महिला समलिंगी समुदाय बाल यौन दुराचारी हुन् भन्नेजस्ता खतरनाक समाजविरोधी भाष्य सिर्जना गरेको थियो । आज पनि दक्षिणपन्थी पण्डित र राजनीतिज्ञले यस्तै भाष्य प्रयोग गर्छन् । यिनले यौनिक एवं लैंगिक अल्पसंख्यक पहिचानलाई बालबालिका फकाई–फुल्यााई गरेर यौन शोषण गर्ने ‘ग्रुमर’जस्ता अपमानजनक शब्दसँग जोड्दै कुतर्क गर्छन् । उग्र–दक्षिणपन्थी कट्टर इसाईले यौनिक एवं लैंगिक अल्पसंख्यकको अधिकार र समावेशिताको विरोध गर्न पुरातनपन्थी मुसलमानसँग गठबन्धन गर्ने प्रयास गरिरहेका छन् । केही पुरातनपन्थी मुसलमान नेताले अहिले यौनिक एवं लैंगिक अल्पसंख्यकविरुद्धको द्वेषलाई बढावा दिइरहेका छन् ।
केही कट्टर इमाम र धर्मगुरु पश्चिमा समाजको नैतिक पतनको भाष्यलाई अपनाइरहेका छन् र यौनिक एवं लैंगिक अल्पसंख्यकको समानतालाई समर्थन गर्ने वा ‘प्रगतिशील वामपन्थी’सँग साझेदारी नगर्न चेतावनी दिइरहेका छन् । मुसलमान समाजले ऐतिहासिक रूपमा लैंगिक विविधतालाई स्वीकार गरेको छ । आज पनि सामाजिक भेदभावका बाबजुद दक्षिण एसियामा ‘हिँजडा’ र मध्यपूर्वमा ‘खानी’जस्ता विविध लैंगिक पहिचान मौजुद छन् ।
दक्षिण एसियामा जेनाना, चावा, कोठीजस्ता धेरै लैंगिक पहिचान रहेका छन् । इन्डोनेसियाको सुलाबेसी टापुमा पनि धेरै लैंगिक परम्परालाई मान्यता दिइएको छ । यसबाहेक इस्लामभित्र यौनिक एवं लैंगिक अल्पसंख्यकको स्वीकृतिसम्बन्धी इस्लामिक अनुसन्धान पनि भइरहेका छन् । मुसलमान समलिंगीमा काम गरिरहेका जुनैद बी जहाँगिरको कामलाई लिन सकिन्छ । जहाँगिरको अनुसन्धानले परम्परागत रूपमा शिक्षित मुसलमान विद्वान्लाई नयाँ दृष्टिकोणबाट विषयवस्तुलाई पुनः परीक्षण गर्ने बनाउँछ । यो बौद्धिक कार्यले इस्लामिक अध्ययन विद्वान् स्कट कुग्ले र लेखक समर हबिबजस्ता अनुसन्धानकर्ताको महत्वपूर्ण योगदानलाई आधार बनाएको छ ।
यसबाहेक इस्लामिक न्यायशास्त्रले विविध लैंगिक पहिचान स्वीकार गर्छ, जुन ऐतिहासिक उदाहरणद्वारा प्रमाणित हुन्छ । मदिनामा पैगम्बरको समयमा महिलाजस्ता गुण भएका मुखन्नाथुन पुरुष थिए र तिनको सामाजिक हैसियत पनि मौजुद थियो । मुसलमान न्यायविद्ले अनिश्चित लिंग (खुन्था मुस्किल) भएका व्यक्तिका लागि विरासत, अन्त्येष्टि प्रार्थनासम्बन्धी विशेष कानुन तर्जुमा गरेका थिए ।
परम्परागत इस्लामिक ग्रन्थले यस्ता व्यक्तिलाई पुरुष र महिलाको पंक्तिबीच प्रार्थना गर्ने ठाउँको अनुमति दिन्छ । इस्लामिक न्यायशास्त्रको बृहत् ग्रन्थमा यस्ता व्यक्तिको विवाहको सम्बन्धमा दस्ताबेजीकरण गरिएका नियम छन् । सन् २०१६ मा पाकिस्तानमा धर्मगुरुको भेलाले तेस्रोलिंगीलाई विवाह गर्न अनुमति दिने धार्मिक आदेश जारी गरेको थियो । त्यस्तैगरी सुन्नी र सिया इस्लामका सर्वोच्च अधिकारीले लिंग परिवर्तन गर्ने शल्यक्रियालाई अनुमति दिने आदेश जारी गरेका छन् ।
यद्यपि लिंग परिवर्तन शल्यक्रियाको अनुमतिले पूर्ण स्वीकृतिको संकेत भने गर्दैन । जब पश्चिमा लोकतन्त्रमा मुसलमान समूह यौनिक एवं लैंगिक अल्पसंख्यकविरोधी भाष्यमा जोडिन्छन्, तब यी समूह आफ्नै धार्मिक परम्पराभित्र यौन र लैंगिक विविधताको लामो समयदेखि स्थापित सत्यविरुद्ध जान्छन् । हाम्रो प्राथमिक चिन्ता यौनिक एवं लैंगिक अल्पसंख्यक मुसलमान युवाका लागि हो, जसले आफ्नो परिवार र समुदायको समर्थनविना एक्लोपनको सामना गरिरहेका हुन्छन् । खुसीको कुरा, केही मुसलमान सामुदायिक संस्थाले इस्लामिक कानुन र परम्परा समावेश गर्ने महत्वपूर्ण यौन स्वास्थ्य शिक्षा प्रदान गरिरहेका छन् ।
यो समुदायमा आधारित शिक्षाले विशेष महत्व राख्छ । युवाले आफ्नो पहिचान स्वतन्त्र रूपमा व्यक्त गर्न नसक्ने वातावरणमा आफ्नो यौनिकता र लैंगिकतासम्बन्धी चुनौतीको सामना गर्छन् । दिवंगत माहेर हथाउटजस्ता मुसलमान अगुवाले यौन र धार्मिक पहिचानको अन्तरसम्बद्धतासँग जुध्ने मुसलमानका एक सहज परिप्रेक्ष्य पहिचान उपलब्ध गराएका थिए ।
यौन र लैंगिक विविधतामा इस्लामिक शिक्षा धेरै पुरातनपन्थीले सोचेजस्तो छैन । धार्मिक विश्वासमा आधारित भेदभावले धर्मनिरपेक्ष र लोकतान्त्रिक समाजका लागि महत्वपूर्ण व्यक्तिगत स्वतन्त्रतालाई कमजोर बनाउँछ । थप समावेशी समाज सिर्जना गर्नका लागि हाम्रो समुदायभित्र र बाहिर दुवै पूर्वाग्रह एवं घृणालाई चुनौती दिन आवश्यक छ ।
(लेखकद्वय मेकइवान विश्वविद्यालय क्यानडाका सहप्राध्यापक हुन्) द कन्भर्सेसनबाट