१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o९:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

गर्भावस्थामा देखिन्छन् यस्ता परिवर्तन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:५९:oo

गर्भावस्था महिलाका लागि विशेष समय हो । गर्भावस्थामा महिलाको शरीरमा परिवर्तन देखिनु स्वाभाविक प्रक्रिया हो । तसर्थ, गर्भावस्थामा शारीरिक परिवर्तन देखिँदैमा आत्तिनुपर्दैन । किनकि, यो परिवर्तन केवल गर्भावस्थाको समयमा मात्रै सीमित रहन्छ । सुत्केरी भइसकेपछि बिस्तारै सामान्य हुँदै जान्छ । गर्भावस्थाका महिलाले चिकित्सकसँग परामर्श भने नियमित गरिरहनुपर्छ । 

गर्भावस्थामा देखिने केही परिवर्तन यस्ता छन् :
स्तनको आकारमा वृद्धि :  गर्भावस्थामा स्तनको आकार बढ्नु स्वाभाविक हो । यस्तो परिवर्तनबाट आत्तिनुपर्दैन । गर्भावस्थाको समय नजिकिँदै जाँदा स्तनको आकार पनि बढ्दै जान्छ । शिशुलाई स्तनपान गराउन यस्तो शारीरिक बदलाव आउने गर्छ । यो भनेको स्तनपानका लागि शरीर तयार हुँदै गएको हो । त्यस्तै, कतिपयलाई स्तन चिलाउने पनि हुन सक्छ । यो पनि एक सामान्य समस्या नै हो । 

खुट्टा सुन्निने :  गर्भावस्थामा खुट्टा हल्का सुन्निनु सामान्य हो । तर, खुट्टा धेरै सुन्निएको छ भने तुरुन्त डाक्टरलाई देखाउनुपर्छ । प्रेसर बढ्दा पनि खुट्टा सुन्निन सक्छ । ‘भेरिकोज भेन्स’ यस्तो अवस्था हो, जतिवेला खुट्टाका नसामा रगत जम्मा हुन्छ । खुट्टा सुन्निन्छ र हिँडडुल गर्न मुस्किल हुन्छ । गर्भवतीमा यस्ता समस्या देखिन सक्छ । खासमा, गर्भावस्थामा गर्भाशयको आकार बढ्छ, यसको कारण रक्तसञ्चारको गति कम हुन सक्छ । जसकारण नसा सुन्निन्छन् । यस्तो वेला कतिपयलाई पीडा पनि हुन्छ । यसले गर्भाशयको रङमा पनि थोरै परिवर्तन ल्याउन सक्छ । यस्तो समस्या भएमा तत्काल डाक्टरसँग परामर्श लिनुपर्छ ।

बारम्बार पिसाब आउनु :  बारम्बार पिसाब आउने समस्या जोकोहीलाई हुन सक्छ । गर्भावस्थामा धेरै महिलालाई यस्तै अनुभव हुन्छ । गर्भावस्थाले शरीरमा ल्याउने एक परिवर्तन यो पनि हो । 

वजन बढ्नु :  गर्भावस्थामा महिलामा देखिने धेरै खाले परिवर्तनमध्ये वजन बढ्नु पनि एक हो । यसबाट आत्तिनुहुन्न । प्रायः सबै महिलामा यो बदलाव देखिन्छ । तपाईं र तपाईंको शिशुलाई बलियो बनाउनका लागि पनि वजन बढ्न जरुरी छ । यस अवस्थाले तपाईं आफ्नो शिशुको पालनपोषणका लागि तयार भएको संकेत गर्छ । तर, अति नै वजन बढेको छ भने चाहिँ एकपटक चिकित्सकसँग परामर्श गर्नुपर्छ । खानपान र जीवनशैलीमा पनि विशेष ध्यान दिनुपर्छ । 

छालामा परिवर्तन :  गर्भावस्थामा छालामा परिवर्तन आउनु एक सामान्य प्रक्रिया हो । यस्तो वेला हर्मोनको असन्तुलनका कारण अनुहारमा डन्डिफोर आउन थाल्छ । त्यस्तै, अनुहारको रङ पनि गहिरो हुँदै जान्छ । कतिपयलाई यस्तो बदलाव राम्रो लाग्छ, कतिपयलाई नराम्रो पनि लाग्न सक्छ । तर, यो बदलाव गर्भावस्थासम्म मात्रै हो । शिशु जन्मिसकेपछि बिस्तारै छाला पुरानै अवस्थामा फर्कन थाल्ने भएकाले आत्तिनुहुन्न । यदि, तपाईंको छालामा आवश्यकताभन्दा धेरै नै परिवर्तन देखिएको छ भने एकपटक छालारोग विशेषज्ञलाई पनि देखाउन सकिन्छ । 

मुड स्विङ :  गर्भावस्थामा मुड स्विङ एक सामान्य परिवर्तन हो । धेरै महिलामा यस्तो भएको देखिन्छ । महिलालाई साना–साना कुराले तनाव र चिन्ता हुने गरेको पाइन्छ । गर्भावस्थामा झर्को लाग्ने पनि हुन्छ । त्यही कारण महिलाहरू चाँडै रिसाउने गर्छन् ।

कहिलेकाहीँ आवश्यकताभन्दा धेरै खुसी र कहिलेकाहीँ उदास हुन्छन् । हर्मोनको परिवर्तनका कारण गर्भावस्थामा यस्तो बदलाव देखिन्छ । कतिपय महिला डिप्रेसनको सिकारसमेत हुन सक्छन् । त्यसैले गर्भावस्थामा स–साना काम गरेर आफूलाई व्यस्त राख्न सक्नुपर्छ । हिँडडुल गरेर पनि शारीरिक रूपमा सक्रिय हुन सकिन्छ । यद्यपि, ठूलो तौल उचाल्ने तथा शारीरिक रूपमा धेरै कसरत हुने काम गर्नुहुँदैन । नकारात्मक कुराबाट टाढा रहनुपर्छ ।

कब्जियतको समस्या :  गर्भावस्थामा शारीरिक सक्रियता कम हुने गर्छ । जसकारण, धेरै महिलामा कब्जियतको समस्या सुरु हुन्छ । कब्जियत सुरु हुनुको अर्को कारण हर्मोनल बदलाव पनि हो । धेरै महिलालाई गर्भावस्थामा यस्तो समस्या आउन सक्छ । यसबाट बच्नका लागि शारीरिक रूपमा सक्रिय रहनुपर्छ । गर्भवतीले ठूलो तौल उचाल्ने तथा अत्यधिक भार पर्ने गरी कसरत गर्नुहुँदैन । तर, हल्का योगा, मर्निङवाकलगायत गर्न सकिन्छ ।

ad
ad