१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १५:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पोखरा महानगरद्वारा १९१ कृषकलाई ४४ लाख २० हजारबराबरको अनुदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:४४:oo

पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका कृषकलाई ४४ लाख २० हजारबराबरको अनुदान वितरण गरेको छ । मेयरमैत्री बाख्रा पकेट कार्यक्रमअन्तर्गत महानगरले एक सय ९१ कृषकलाई सो अनुदान वितरण गरेको हो।

सोमबार एक कार्यक्रमबीच महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषकलाई अनुदान हस्तान्तरण गरेका थिए। आचार्यले कृषिजन्य उत्पादनहरूमा आयात प्रतिस्थापन गरी महानगरलाई आत्मनिर्भरतातर्फ उन्मुख बनाउन कृषकहरूको योगदान उल्लेखनीय रहेको बताएका थिए। 

कृषकहरूलाई राज्यको तर्फबाट दिनुपर्ने संरक्षण, बजारको सुनिश्चितता र बजारीकरणका लागि गर्नुपर्ने अन्य कामका लागि महानगर प्रतिबद्ध भएर लागेको भनाइ उनको थियो । उत्पादनसँगै उत्पादनको स्वच्छतामा समेत ध्यान दिन कृषकलाई उनले आग्रह गरेका थिए।

कार्यक्रममा पोखरा– १९ का २४ जनालाई ६ लाख २० हजार, वडा नम्बर २० का ३२ कृषकलाई सात लाख २० हजार, वडा नम्बर २१ का ४३ कृषकलाई १० लाख, वडा नम्बर २४ का ३७ कृषकलाई आठ लाख २० हजार, वडा नम्बर २५ का २३ कृषकलाई चार लाख ८० हजार र वडा नम्बर २८ का ३२ कृषकलाई सात लाख ६० हजार गरी ४४ लाख २० हजार नगद अनुदान हस्तान्तरण गरिएको महानगरका पशुसेवा शाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए।

यसैगरी, सोमबारदेखि नै पोखरा– २८ माझठानामा कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालनमा आएको छ। केन्द्रको महानगरपालिकाका प्रमुख आचार्यले उद्घाटन गरेका हुन्। वडा नम्बर २८ र वडास्तरीय कृषि सञ्जालको समन्वयमा केन्द्र सञ्चालन गरिएको हो। सो क्रममा कृषि औजारसमेत प्रदान गरिएको थियो।

महानगरका विभिन्न १५ स्थानमा कृषि संकलन केन्द्र सञ्चालनमा रहेका छन्। महानगरले पाँचवटा कृषि बजारसमेत सञ्चालन गरेको छ।

ad
ad