- व्यक्ति हत्यामा मतियार बनेको अभियोगमा युएईको उच्च अदालतले मृत्युदण्डको सजाय सुनाए पनि जेल प्रशासनका अधिकारीले निर्दोष ठान्दा अहिलेसम्म जीवित छन्, नेपाल सरकारका तर्फबाट युएईका शेखलाई मनाउन बलियो आग्रह भए पाउन सक्छन् माफी
- जेलभित्रबाट अमरको बिलौना–भाषाको समस्याले अदालतमा आफ्ना कुरा सुनाउनै सकिनँ कुन दशा लागेर दुबई आएछु भनेर आफैँलाई धिक्कार्छु
दार्चुलाको दुहुँ गाउँपालिका– ४ दौला (तत्कालीन धारी गाविस)का अमरबहादुर बम २० वर्षदेखि हत्या आरोपमा युनाइटेड इमिरेट्स अरब (युएई)को जेलमा छन् । सन् २००३ मा दुबईको क्लबमा भारतीय नागरिक शरद सेठ्ठीको हत्यामा त्यहाँको उच्च न्यायालयले अमरलाई मतियारका रूपमा मृत्युदण्डको फैसला सुनाएको थियो । त्यहाँको कानुनले अपराधी ठहर गरे पनि जेल प्रशासनका अधिकारीले निर्दोष ठान्दा उनी अहिलेसम्म मृत्युदण्डबाट जोगिएका छन् । सेठ्ठीको हत्या गर्नेहरूको आफू गाडीचालक मात्र भएको दाबी गर्दै आएका अमरले नेपालका प्रधानमन्त्रीले युएईका शेखलाई भेटेर वास्तविकता जाहेर गरिदिए आफूले आममाफी पाउने अपेक्षा राखेका छन् ।
सन् २००२ मा अमर वैदेशिक रोजगारीका लागि युएई पुगेका थिए । १९ जनवरी २००३ मा दुबईको इन्डियन क्लबमा भारतीय नागरिक शरद सेठ्ठीको हत्या भारतकै मनोज मुदाना र करनसिंह राजपुतले गरेका थिए । अमर उनीहरूका गाडीचालक थिए । उनलाई गाडी कुर्न लगाएर दुईजना क्लबभित्र छिरी सेठ्ठीको हत्या गरेका थिए । त्यसबारे अमरलाई थाहै थिएन । तर, घटनाको करिब एक वर्षपछि दुबईको उच्च अदालतले मनोज र करनलाई हत्या अभियोगमा तथा अमरलाई मतियारका रूपमा मृत्युदण्डको फैसला सुनाएको थियो । अहिलेसम्म मृत्युदण्डको सजायबाट जोगिएका उनलाई छुटाउन नेपाल सरकारले कुनै पहल लिएको छैन ।
जेल परेको सात वर्षपछि मात्रै थाहा पायो दूतावासले
परिबन्दमा फसेर जेलमा मृत्युदण्ड कुरिरहेका अमरलाई सात वर्षपछि अब बाँचिन्छ कि भन्ने झिनो आस पलायो । सन् २०१० मा युएईका लागि तत्कालीन नेपाली राजदूत अर्जुनबहादुर थापा जेल निरीक्षणमा गएका थिए । ‘नेपाली राजदूतलाई देखेपछि मलाई बचाउनुस् भन्दै रोएँ,’ अमरले नयाँ पत्रिकासँग भएको टेलिफोन संवादमा त्यो दिन सम्झिए, ‘घटनाको विवरण पनि सुनाएँ । त्यस दिनपछि मात्रै म जेल परेको खबर बाहिरियो ।’ कुनै अपराध नगरी आफू परिबन्दमा फसेको उनको भनाइ छ ।
अमरलाई जेलमुक्त गराउन युएईमा रहेका नेपालीले बचाउ अभियान नै सुरु गरे । मानव अधिकारवादी, नागरिक समुदायलगायतले वेला–वेला अमरका बुबा कर्णबहादुर र श्रीमती धनमतीलाई काठमाडौं पनि ल्याए । राष्ट्रपति, प्रधानमन्त्रीदेखि सम्बन्धित सरकारी अधिकारीलाई ज्ञापनपत्र बुझाउन लगाए । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले युएई सरकारलाई अनुरोधपत्र पठाएका थिए । त्यस्तै, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले युएई भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री शेख मोहम्मद बिन अल मोक्तमलाई भेटेर अमरलाई आममाफी दिई नेपाल पठाइदिन अनुरोध गरेको युएईका लागि पूर्वकार्यवाहक राजदूत नेत्रबहादुर टण्डनले बताए ।
नेपाली समाज युएईका पूर्वअध्यक्ष कृष्ण ढकालले नेपालका प्रधानमन्त्रीले मात्रै अमरलाई बचाउन सक्ने बताए । ‘युएईका प्रधानमन्त्रीसमेत रहेका दुबईका शासक शेख मोहम्मद बिन रसिक मोक्तम उदार दिलका छन् । न्याय र सुरक्षामा उनको देशभरि तारिफ हुन्छ । प्रधानमन्त्री आएर शेखसँग सौहार्दपूर्ण रूपमा वास्तविकता राख्ने हो भने उनले सजिलै आममाफी पाउँछन्,’ ढकालको दाबी छ ।
युएईमा सर्वोच्च न्यायालयले तोकेको सजाय पनि शेखले माफी मिनाह गर्न सक्ने प्रावधान छ । तर, नेपाल सरकारले आफ्ना नागरिकको मूल्य बुझ्न नसकेको युएईमा लामो समयदेखि पत्रकारिता गर्दै आएका उमाकान्त पाण्डेले बताए । ‘युएईमा धेरै मुलुकका श्रमिकले काम गर्छन् । आफ्ना श्रमिकलाई समस्या पर्यो भने तत्काल चासो देखाउँछन् । तर, नेपाल सरकारले भने रेमिट्यान्सको मात्रै हिसाब राख्छ,’ उनले भने ।
अमर अपराधी होइनन् भन्ने कुरा मुख्य अपराधीकै बयानबाट पनि स्पष्ट हुने पत्रकार पाण्डे बताउँछन् । यहाँको भाषा र नियम बुझ्न नसक्दा पनि अमरले आफूमाथिको अभियोगबारे सफाइ दिन सकेनन् । ठूला–ठूला अपराध गरेका आफ्ना नागरिकलाई कति देशका प्रमुख आएर लैजाने गर्छन् । ‘म निर्दोष छु । बाँच्न चाहन्छु’ भन्दै अमरले सधैँ अनुनय गर्ने गरेको पाण्डेले बताए ।
मृत्युदण्ड सुनाएको २० वर्ष भए पनि अमर भाग्यवश बाँचिरहेका छन् । त्यसको कारण भनेको मुख्य अपराधी भारतीय नागरिक हुनु हो । भारत र युएईबीच सुपुर्दगी सन्धि छ । त्यसअनुसार युएईले उनीहरू भारतलाई बुझाउनुपर्छ । तर, भारतले ती दुईजना अपराधीलाई आफ्नो देश लैजान पहल गरेको छैन । नेपाली समाजका पूर्वअध्यक्ष ढकालका अनुसार निर्दोष अमरको केशलाई भारतसँग कुरा गरेर, युएईमा अलग–अलग मुद्दाको रूपमा स्थापित गर्न सक्नुपर्छ । प्रधानमन्त्री तहबाट नै यो पहल भयो भने उद्धार गर्न सकिन्छ ।
जेलभित्रबाट अमरको बिलौना–भाषाको समस्याले अदालतमा आफ्ना कुरा सुनाउनै सकिनँ
भारतको राजस्थानमा ड्राइभरको काम गर्थेँ । ट्रकमा मार्बल ओसारपसार गर्थेँ । त्यही क्रममा एक धनाढ्यसँग भेट भयो । उनी मलाई ‘राम्रो काम गर्छौ’ भन्दै स्याबासी दिने गर्थे । एक दिन उनले मेरो पारिश्रमिक सोधे । थोरै सुनेपछि उनले मलाई ‘महिनाको २० हजार तलब दिन्छु’ भनेर अफर गरे ।
धेरै कमाइने भएपछि म पनि उनले भनेको काम गर्न तयार भएँ । उनले तुरुन्त घर गई पासपोर्ट बनाएर आउन भने । म केही दिनमै पासपोर्ट बनाएर दिल्ली पुगेँ । उनले मलाई २००२ डिसेम्बर अन्तिम साता आफूसँगै दुबई ल्याए । मलाई ड्राइभरको काम गर्नुपर्ने उनले बताएका थिए ।
दुबई पुगेपछि उनले मलाई भारतीय नागरिक मनोज मुदाना र करनसिंह राजपुतको जिम्मा लगाइदिए । म उनीहरूको गाडी चलाउँथेँ । उनीहरूलाई भनेको ठाउँमा लैजानु मेरो ड्युटी थियो । उनीहरू दैनिकजसो इन्डियन क्लब जान्थे । गाडी रोकाएर मलाई बाहिरै कुराउँथे । १९ जनवरी २००३ को दिन उनीहरू सधैँझैँ क्लबभित्र छिरे । म बाहिरै गाडी कुरिरहेको थिएँ । करिब आधा घन्टामा उनीहरू हडबडिँदै आए । गाडीमा फटाफट पसे र मलाई छिटो दौडाउन इसारा गरे । हामी डेरा पुग्यौँ । उनीहरू हतारिएर सामान प्याक गर्न थाले । मलाई ‘यहाँ तिम्रो कोही छ’ भनेर सोधे । मैले छैन भनेँ । अनि उनीहरूले आफू भारत फर्कन लागेको भन्दै मलाई ‘चिनजानेको मान्छेकोमा गएर बस’ भने ।
दुबईमा कोही चिनेका थिएनन् । त्यसैले म उनीहरूसँगै जान्छु भनेँ । उनीहरू हडबडाएका, हतारिएका र अत्तालिएका थिए । उनीहरूले पक्कै कुनै बदमासी गरेको हुनुपर्छ भन्ने मलाई चिसो पस्यो । तैपनि सोध्न सकिनँ । उनीहरूले पछि आफैँ ‘हामीहरूले मान्छे मारेका छौँ, त्यसैले तिमी हामीसँग नहिँड’ भने ।
म धेरै रोएँ । कुन दशाले आएछु भनेर मनमन आफैँलाई धिक्कारेँ । तैपनि मेरो कुनै उपाय थिएन । उनीहरूलाई छाडेपछि कहाँ जाने ? त्यही भएर उनीहरूको साथ नछाड्न बाध्य भएँ ।
उनीहरूको आफ्नै क्रुज (सानो पानीजहाज) रहेछ । जनवरी २५ तारिख सारजहाँबाट त्यसमै चढेर अर्को देशतिर भाग्ने तय भयो । त्यसकै स्टाफका रूपमा मेरो पास बनाइदिए । क्रुज चढ्न त्यहाँ पुग्नासाथ प्रहरीले हामी सबैलाई पक्राउ गर्यो ।
प्रहरीले हिरासतमा मलाई धेरै निर्मम यातना दियो । म पनि मर्छुजस्तै लाग्यो । मैले उनीहरूले लगाएको आरोप नस्विकारेसम्म यातना दिए । बाध्य भएर मैले आरोप स्विकारेँ । त्यसपछि यातना दिएनन् । अदालतमा यातनाको कुरा भन्न मन थियो । तर, भाषाको समस्याले बताउन सकिनँ । लाँदै, हाजिर गराउँदै, फर्काउँदै गर्थे । त्यत्तिकैमा मृत्युदण्डको फैसला पो आयो । (जेलमा रहेका अमर बमसँग टेलिफोनमा गरिएको कुराकानी)
विवाह गरेको १५ दिनमा घर छाडेका थिए अमरले, भेटिने आसमा छिन् पत्नी धनिशा
राष्ट्रपति, प्रधानमन्त्री भेट्न खेत बेचेर २१ पटक काठमाडौं धाए वृद्ध बा
अमर बमकी पत्नी ३४ वर्षीया धनिशा र बुबा ७२ वर्षीय कर्णबहादुर
उता युएईमा मृत्युदण्डको सजाय सुनाइएका अमर बम २० वर्षसम्म जेलमा छन्, यता उनकी श्रीमती ३४ वर्षीया धनिशा बम अझै पनि श्रीमान् फर्किने आशामा कुरिरहेकी छिन् । विवाह गर्दा धनिशा १४ वर्षको मात्रै थिइन् । घरपरिवारको भविष्य सोचेर अमर विवाह गरेको १५ दिनमै भारतको दिल्ली पुगेका थिए । त्यसअघिदेखि नै उनी दिल्लीमा ट्याक्सी चलाउँथे । वर्ष दिनमा घर फर्किने र सबै ऋण तिरेर नयाँ जीवन सुरुवात गर्ने बाचा धनिशासँग गरेका थिए ।
तर, सन् २००३ मा अचानक परिवारसँग सम्पर्कविहीन बनेका उनी दुबईको जेलमा परेको पछि मात्रै थाहा भयो । सन् २००७ मा त्यहाँको न्यायालयले उनलाई मृत्युदण्डको सजाय तोकेको पनि परिवारले थाहा पायो ।
नयाँ घर बनाउन पैसा कमाउने भनेर घर छाडेका अमर फर्किएनन्, घर पनि नयाँ बनेन । अब धनिशाको एउटै आस छ, विवाहपछि सँगै जीवन बिताउन नपाए पनि अब चाँडै जिउँदो फर्किन पाऊन् र बाँकी जीवन सुखमय बनाउन पाऊँ । उनले अमर सुत्ने कोठामा भगवान्का मूर्ति राखेर पूजा गर्ने गरेकी छिन् । ‘श्रीमान्को याद आउँदा फोटो हेर्छु,’ उनले भनिन्, ‘रातदिन श्रीमान्को न्यायका लागि प्रार्थना गरिरहेकी छु ।’
अमरले घरमा फोन गरिरहन्छन् । छिट्टै फर्किने सपना पनि देखाइरहेका छन् । ‘एक–दुई महिनामा फोन÷भिडियो कल आउँछ । न्याय पाएर छिट्टै फर्किन्छु भन्नुहुन्छ,’ धनिशाले भनिन्, ‘श्रीमान्को लामो आयुको कामना गर्दै साउनमा हरियो चुरा लगाएर बसेकी छु, उहाँ आउने बाटो कुरिरहेकी छु ।’
धनिशालाई ७२ वर्षीय ससुरा कर्णबहादुर बमले ढाडस दिएका छन् । छोराको रिहाइका लागि गाउँमा भात खाने खेत बेचेर २१ पटक काठमाडौं धाइसकेका छन् । दुईपटक त धनिशा पनि ससुरासँगै काठमाडौं पुगेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री बाबुराम भट्टराई तथा त्यसपछिका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेटेर श्रीमान्को रिहाइका लागि पहल गरिदिन अनुनय गरिन् ।
‘हरेकपटक सरकार परिवर्तन हुँदा प्रधानमन्त्री र मन्त्रीलाई भेटेर छोराको रिहाइका लागि अनुरोध गर्दै आएको छु,’ कर्णबहादुरले भने, ‘उमेरले अब हिँडडुल गर्न सक्दिनँ । तैपनि एकपटक फेरि ऋण काढेर अहिलेका राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेटेर बिन्ती बिसाउने मन छ । कोही बाहिरबाट आएर अमरको घर सोध्दा छोरा फर्किन्छ कि भन्ने आशा पलाउँछ ।’