मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ५ शुक्रबार
  • Wednesday, 15 January, 2025
रामकृष्ण थापा सिन्धुपाल्चाेक
२o८o श्रावण ५ शुक्रबार o६:२७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चीनबाट ल्याइएको रासायनिक मल तातोपानी भन्सारमा थन्कियो

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चाेक
नयाँ पत्रिका
२o८o श्रावण ५ शुक्रबार o६:२७:oo

छिमेकी मुलुक चीनबाट ल्याइएको रासायनिक मल दुई महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ । एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो । 

तातोपानी भन्सार कार्यालयले दिएको जानकारीअनुसार रासायनिक मल गोदाममा थन्किँदा अरू सामान लोड–अनलोड गर्न कठिनाइ परेको छ । खासा भएर तातोपानी सुक्खा बन्दरगाह आएका अन्य सामग्री भन्सार कार्यालयभित्र राखेर चेकजाँच गर्नुपर्ने अवस्था छ । रासायनिक मलको राजस्व असुल नहुने भएकाले कृषि सामग्री कम्पनी लिमिटेडले चिनियाँ सहरबाट झिकाएर सीधै राजधानी लाने गरेको उनले प्रस्ट्याए । 

भन्सारमै किन अड्कियो ?
भूकम्पपछि एकतर्फी रूपमा खुलेको तातोपानी नाकामा पाँच वर्षदेखि एकछत्र काम गर्दै आएको सिल्क कम्पनीअन्तर्गत रहेको सिल्क मार्केट प्रालिले चीनबाट मल आयात गरेको हो । सिल्क मार्केट प्रालिले नेपाल सरकारको कृषि सामग्री कम्पनी लिमिटेडबाट रासायनिक मल आयात गर्ने ठेक्का पाएको छ । ठेक्का आर्थिक वर्ष ०७९/८० मा सम्झौता भएको थियो ।

सम्झौताअनुसार सिल्क मार्केटले रासायनिक मल समयमै ल्याउन सकेन । गत वर्ष ल्याउनुपर्ने मल यो वर्षको जेठमा मात्रै आयात भएपछि कृषि सामग्री कम्पनीले मल लिएन । ‘हामी कृषि सामग्री कम्पनी लिमिटेडसँग कुराकानी गरिरहेका छौँ,’ सिल्क मार्केटका रमेश शेर्पाले भने, ‘प्रक्रिया पूरा भएपछि मल काठमाडौं लगिन्छ ।’

कृषि सामग्री कम्पनीसँग गत वर्ष भएको सम्झौतामुताबिक मल बिक्री गर्न नसकिने भएपछि सिल्क मार्केटले सामान भन्सारकै गोदाममा राखेर कम्पनीसँग कुराकानी गरिरहेको छ । गत वर्षको भन्दा यो वर्ष मलको मूल्य घटेकाले आयातकर्ताले मूल्य समायोजन गर्न कृषि सामग्री कम्पनीलाई अनुरोध गरेको छ । तर, सम्झौता अघिल्लो वर्षको भएकाले यो कुरा सम्भव छैन । मलको परिमाण र फिल्डको अवस्था निरीक्षण गर्न कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारीले तातोपानी भन्सार आएर रिपोर्टिङसमेत गरेका छन् ।