१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
किरण कुम्भार
२o८१ बैशाख २० बिहीबार १o:१८:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

भारतको छवि निर्माणले दबिएको चिकित्सा पद्धति बहस

Read Time : > 2 मिनेट
किरण कुम्भार
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:१८:oo

केही समययता आयुर्वेद र भारतीय परम्परागत चिकित्सा पद्धतिबारे ठुल्ठूला दाबी गरिँदै आएका छन् । सामान्यतया मानिस परम्परागत चिकित्सा पद्धतिको कुरा गर्दा सांस्कृतिक परिवर्तनको गतिशीलता एवं जटिलतालाई बिर्सने गर्छन् । धेरैले ‘चरक संहिता’जस्ता ग्रन्थलाई प्राचीन चिकित्सा विधिलाई निर्देशित गर्ने ग्रन्थका रूपमा लिन्छन् । तर, यी ग्रन्थमा लेखिएका विषयलाई यदि भुइँतहको स्तरमा हेरिने हो भने यी सदैव परिवर्तनशील भइरहन्छन् ।

पहिले र अहिले दुवै समयका चिकित्सा अभ्यर्थीले बृहत् विश्वबाट नयाँ–नयाँ विचार एवं विधि सिक्छन् । उदाहरणका लागि नाडीपरीक्षाले १३औँ शताब्दीपछि मात्रै आयुर्वेद अभ्यासमा प्रवेश पाएको थियो । आयुर्वेद उपचार प्रणाली केही शताब्दीअघि जब विशालस्तरमा मुद्रण सुरु भयो, तब मात्रै पुस्तकका रूपमा लिपिबद्ध भएको हो । पहिलेका समयमा केही वैद्यले मात्र यी ग्रन्थलाई पूर्ण रूपमा लागू गर्थे र बाँकी वैद्यले विभिन्न किसिमका निदान एवं उपचार सुझाउँथे । 

त्यसैगरी भारतीय परम्परागत औषधिपद्धतिबारे बहस हुँदा संस्कृतकै संहितामा अत्यधिक जोड दिइनु अर्को समस्या हो । मनुस्मृतिकालपछि स्वास्थ्य सेवामा ब्राह्मणवाद हाबी हुँदै गयो । वैद्यसँग चिकित्सकीय ग्रन्थ हुन्थे र उनीहरू माथिल्लो जातका हुन्थे, तर ‘छोइएर हुने अपवित्रता’का कारण यिनले शल्यक्रिया वा घाउको उपचार गर्दैनथे । यिनै वैद्य पनि निकै कम हुन्थे । त्यस अर्थमा भारतका चिकित्सा अभ्यर्थी र हेरचाह सेवा उपलब्ध गराउने मानिस विविध पृष्ठभूमिका हुन्थे र यी अधिकांश अशिक्षित हुन्थे वा शास्त्रीय चिकित्सा ग्रन्थमा यिनको पहुँच हुन्थेन ।

तसर्थ, सन् १७९३ मा बेलायती उपनिवेशक अधिकारीले नाकको बनोट मिलाउने शल्यचिकित्सकका रूपमा शूद्रलाई पाउनु अस्वाभाविक थिएन । प्रसूति एवं शिशु हेरचाहका क्षेत्रमा दलित समुदायका महिला मुख्य अभ्यर्थी एवं ज्ञान निर्माता थिए । यो विविधतामा दैनन्दिनका स्वास्थ्य हेरचाह गर्ने हकिम, शमन र आदिवासी एवं अन्य समुदायको चिकित्सा पद्धतिलाई पनि जोड्न सकिन्छ । तसर्थ, भारतीय इतिहास हेर्ने हो भने भुइँतहको चिकित्सा पद्धति आयुर्वेदको सानो घेराबाहिरै हुन्थ्यो भन्ने प्रस्टै हुन्छ ।

परम्परागत चिकित्सा पद्धतिको बहसमा हिन्दू एवं ब्राह्मण सर्वोच्चताले ठाउँ पाइरहेको छ, यसैलाई हामी भारतीय अद्वितीयता भनेर प्रचार गरिरहेका छौँ
 

तैपनि मूलधारको बहसमा आयुर्वेद र यसका संहिताकै हालीमुहाली हुनुले परम्परागत चिकित्सा पद्धतिका ठुल्ठूला पैरवीकर्ताले यसलाई बढी महत्व दिन्छन् भन्ने देखिन्छ । यसको खासै अर्थ छैन, तर यी पैरवीकर्ताले ‘भारतीय चिकित्सा पद्धति’ ‘पश्चिमा चिकित्सा पद्धति’भन्दा उत्कृष्ट छ भन्ने दाबी गर्दा भने अर्थ झल्किन्छ ।

एकातिर हामी भारतीय ज्ञान प्रणालीको गलत चित्रण गर्दा क्रुद्ध हुन्छौँ भने अर्कातिर कैयौँ भारतीय समुदायको ज्ञानको अवमूल्यनसमेत गर्छौं । अर्थात्, हामी हाम्रो परम्परागत चिकित्सा पद्धतिको बहसमा आयुर्वेदिक ग्रन्थका ‘प्रकृति’ र ‘दोष’जस्ता अमूर्त विषयमा चाहिनेभन्दा बढी देवत्वकरण गर्छौं र दलित सुडेनीका मूर्त सीपलाई उपेक्षा गर्छौं । अथवा भनौँ, हामीले कोभिड–१९ महामारीको सुरुवातमा हात मिलाउनुको विकल्पमा ‘नमस्ते’लाई नै अन्तर्राष्ट्रिय अभिवादन बनाउने प्रयास गरेका थियौँ र सलामजस्ता अभिवादनलाई उपेक्षा गरियो । वर्तमान पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र भारतको चिकित्सा पद्धतिको मोटामोटी एउटै इतिहास भए पनि आयुर्वेद र अन्य ज्ञानलाई ‘दक्षिण एसियाली’ वा अन्य नाम नदिई ‘भारतीय’ संज्ञा दिनु पनि यही प्रवृत्तिको द्योतक हो ।

हाम्रो परम्परागत चिकित्सा पद्धतिको बहसमा हिन्दू एवं ब्राह्मण सर्वोच्चताले नै ठाउँ पाइरहेको छ र यसैलाई हामी विश्वजगत्मा भारतीय अद्वितीयता भनेर प्रचार गर्छौं । ‘हाम्रा प्राचीन ऋषिमुनिले जीवनको रहस्य पत्ता लगाइसक्दा युरोपेली बर्बर र असभ्य नै थिए’ भन्ने दाबी यही भारतीय अद्वितीयतामा आधारित हुने गर्छ ।

उल्लेखनीय विषय के छ भने भारतीय परम्परागत औषधिपद्धति पैरवीकर्ता बाँकी विश्वलाई छोडेर भारतीयलाई गोरा युरोपेली वा अमेरिकीसँग मात्रै तुलना गर्छन् । यी पैरवीकर्ताका बहसमा आयुर्वेद रोग रोकथामदेखि र जीवनलाई दीर्घायु बनाउने ‘सर्वांगीण’ प्रकृतिको रहेको दाबी गरिन्छ । तर, ‘सर्वांगीण’ स्वास्थ्य एवं चिकित्सा पद्धति भारतीयको मात्रै अद्वितीय खोज होइन । यो युरोप (हिपोक्रेटिक चिकित्सा पद्धति) लगायत विश्वका सबै सभ्यतामा देख्न सकिन्छ । 

मूलधारका आधुनिक बायोमेडिसिनलाई यसको अपव्याख्यावादी दृष्टिकोणका लागि आलोचना नगरिएको होइन, तर यो पद्धतिले पनि क्लोरिनयुक्त पानी आपूर्ति र पोषण विज्ञानजस्ता रोकथाम एवं सर्वांगीण उपाय अपनाएर स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याएको छ । विडम्बना के छ भने करोडौँ भारतीय सफा पानीजस्तो आधारभूत स्वास्थ्य सुविधामा हुने पहुँचको अभावमा बाँचिरहेका छन् । तर, उल्लिखित सुविधामा पहुँच भएका सम्भ्रान्त एवं राजनीतिक वर्गले परम्परागत चिकित्सा पद्धतिजस्ता वैकल्पिक उपचारलाई प्रोत्साहन गर्छन् ।

भारतमा परम्परागत चिकित्सा पद्धतिमाथि हुने सार्वजनिक बहस प्रायः त्रुटिपूर्ण र ऐतिहासिक सन्दर्भरहित हुन्छ । वास्तवमा यो सब बहस परम्परागत चिकित्सा पद्धतिभन्दा पनि भारतको राष्ट्रिय छविमा केन्द्रित छ । स्मरण रहोस्, कुनै वेला यसरी नै युरोपेली–अमेरिकीले आफ्नो वैज्ञानिक सर्वोच्चता प्रदर्शन गर्थे । अतीतलाई सम्झिन थप उत्तम एवं समावेशी उपाय छन् ।

अतीतको ज्ञान र सीप आधुनिक राष्ट्र वा धर्ममा निःसृत नभई समय र विविध मानव सभ्यतामा निहित छन् भन्ने आधारभूत तथ्यलाई अस्वीकार गर्ने गरिन्छ । यस सन्दर्भमा हामीले भारतीय वा चिनियाँ चिकित्सा पद्धतिको इतिहास सम्झिनुको सट्टा विभिन्न इतिहासकारले भनेझैँ चिकित्सा पद्धतिलाई मानवीय ज्ञानको इतिहासका रूपमा लिनुपर्छ जहाँ विचार एवं धारणाको वैश्विक प्रवाह भएको थियो । भारतमा हामीसँग लामो समयदेखि दुरुपयोग भएको इतिहास छ, जहाँ इतिहास ‘को उत्कृष्ट’ वा ‘कसले पहिला उपलब्धि हासिल गर्‍यो’ भन्ने केन्द्रित छ । यो निकै हास्यास्पद र अपरिपक्व परिस्थिति हो । यो अवस्थामा हामीले चिकित्सा पद्धतिको इतिहासलाई खोक्रो र अर्थहीन भाष्य बन्नबाट जोगाउन धेरै गर्नुपर्नेछ । 

(कुम्भार जोन्स हप्किन्स स्कुल अफ मेडिसिनको हिस्ट्री अफ मेडिसिन विभागमा पोस्टडक्टोरल फेलो हुन्) 
द हिन्दूबाट

ad
ad