१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १८ सोमबार
  • Tuesday, 18 June, 2024
२o८o असार १८ सोमबार १२:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङमा लम्पी स्किनबाट ३५ पशुचौपाया मरे, एक हजार बढी संक्रमित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असार १८ सोमबार १२:३९:oo

लमजुङका पशुचौपायामा छालाको रोग लम्पी स्किन देखिन थालेपछि किसानहरू चिन्तित बनेका छन्। छालाको रोगबाट जिल्लाभर ३५ वटा पशुचौपाया मरिसकेका छन् भने एक हजार एक सय बढी पशु संक्रमित भएका छन्।

जिल्लाका आठवटै स्थानीय तहमा पशुचौपायामा छालासम्बन्धी रोगको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रले जनाएको छ। रोगको संक्रमण सबैभन्दा बढी मध्यनेपाल नगरपालिका र दोर्दी गाउँपालिकामा देखिएपछि स्थानीयका घरघरमै पुगेर पशुहरूको उपचार गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार अभियानकै रूपमा कृषकहरूको घर-घरमा पुगेर उपचार गरिएको छ। अझै पनि सचेत रहन सबै पशुपालक कृषकहरूलाई अनुरोध गरिएको उनले बताए। विशेष गरी गाई र गोरुमा यो रोगको प्रकोप उच्च छ। केन्द्रका सूचना अधिकारी डा. सुनील न्यौपानेका अनुसार यो रोगको प्रकोपबाट ३५ वटा पशुचौपाय मरिसकेका छन्। ३० वटा गोरु र ५ वटा गाई मरेको केन्द्रले जनाएको छ।

यो रोग लागेपछि पशुको घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागमा सानासाना गिर्खाहरू देखिने तथा सुन्निने, उच्च ज्वरो आउने, कचेरा वा सिँगान बग्ने, मुखबाट फिँज निकाल्ने, खान नसक्ने आदि लक्षणहरू देखिन्छन्।

मध्यनेपालमा मात्रै ५ सय र दोर्दीमा साढे ४ सयको हाराहारीमा गाईगोरु यो रोगबाट बिरामी परेका केन्द्रका सूचना अधिकारी डा. न्यौपानेले जानकारी दिए। खेतीपातीको सिजन सुरु भइसकेको वेला लम्पी स्किन रोगले गोरु बिरामी भएपछि किसानहरू मर्कामा परेका छन् । यस्तो वेला रोगी गोरुलाई नजोतेर केही दिन आराम गराउनुपर्ने डा. न्यौपानेको सुझाव छ।

जिल्लामा वैशाख ५ गते पहिलोपटक मध्यनेपाल नगरपालिकामा यो रोग देखिएको थियो। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रले किसानले आफ्ना पशुचौपायालाई जोगाउन सरसफाइदेखि उपचार विधिमा ध्यान दिन आग्रह गरेको छ। यो रोगको प्रभावकारी उपचार नभएको भन्दै रोगी पशुहरूलाई झोलिलो खानेकुरा खुवाउन, गोठ सफा राख्न, रोग लागेका पशुचौपायालाई निरोगी पशुचौपायादेखि टाढै राख्न, टोक्ने माखा, लामखुट्टेको टोकाइबाट पशुचौपायालाई जोगाउन, रोगी पशु र निरोगी पशुको बसाइ, खानपिन अलग-अलग बनाउन सुझाव दिएको छ।

ad
ad
ad
ad