१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १० आइतबार
  • Saturday, 21 September, 2024
२o८o असार १० आइतबार १४:५९:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

मिर्चैयाको नगरसभा विवादमा : बहुमत सदस्यद्वारा ‘समानान्तर नगरसभा’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार १० आइतबार १४:५९:oo

सिराहाको मिर्चैया नगरपालिकाको नगरसभा विवादमा परेको छ। अलगअलग होटेलमा दुई नगरसभाको आयोजना गरिएको छ।

नगरपालिकाका मेयर श्रवण यादवको नेतृत्वमा होटेल होलिडेमा ११औँ नगरसभा भइरहेको छ। यता वडा नम्बर १२ का वडाध्यक्ष मनेलाल यादवको नेतृत्वमा होटेल रामजानकीमा पनि नगरसभा भइरहेको छ। होटेल रामजनकीमा भइरहेको नगरसभालाई ‘११औँ नगरसभाको प्रथम समानान्तर नगरसभा’ भनेर उद्घाटन गरिएको छ।

मेयर यादवको नेतृत्वको नगरसभामा सिराहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा सहभागी छन् । नगरसभामा २९ सदस्य मात्र सहभागी छन्। यता समानान्तर नगरसभामा ३४ सदस्य सहभागी छन्। जम्मा ६५ सदस्यमध्ये एकजना तटस्थ बसेका छन् भने एकजनाको मृत्यु भइसकेको छ।

नगरसभा पास गर्नका लागि मेयर यादवलाई बहुमत (३३ जना) सदस्यको हस्ताक्षर चाहिन्छ। तर, नगरसभामा २९ जना मात्रै उपस्थित भएकाले नगरसभाबाट बजेट पास हुने अवस्था छैन।

मेयरले नगरपालिकामा हैकम चलाएको, सबै बजेट आफैँले चलाएर चरम भ्रष्टाचार गरेको, आफ्नो गलत काममा साथ नदिने जनप्रतिनिधिलाई दुश्मनको भावनाले हेरेको वडा नम्बर ७ का वडाध्यक्ष रामदियाल ठाकुरको आरोप छ।

आयव्यय सार्वजनिक गर्नुपर्ने, बजेट बाँडफाँटमा समानता हुनुपर्ने, बजेट जनमुखी हुनुपर्ने, मेयरले अबन्डा रकम राख्न नपाउने, मिर्चैयामा आन्दोलनरत नागरिकको समस्या सम्बोधन हुनुपर्ने, विपक्षीसँग मित्रवत व्यवहार हुनुपर्नेलगायतका माग आफूहरूको रहेको समानान्तर नगरसभाका अध्यक्ष मनेलाल यादवले बताए।